अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचनमा अझै धनबल, बाहुबल र मिडियाको प्रभाव छ: एमाले सचिव अर्याल

निर्वाचनमा अझै धनबल, बाहुबल र मिडियाको प्रभाव छ: एमाले सचिव अर्याल


ललितपुर-नेकपा (एमाले) की सचिव एवं सांसद पद्मा अर्यालले नेपालको निर्वाचन प्रणालीमा अझै पनि धनबल, बाहुबल र सञ्चारमाध्यमको प्रभाव कायम रहेको बताएकी छन्।

शुक्रबार ललितपुरमा निर्वाचन आयोगले सरोकारवालासँग आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै सचिव अर्यालले निर्वाचनमा पैसाको चलखेल, शक्तिको दुरुपयोग र मिडियाको प्रभावले निष्पक्षतामाथि प्रश्न उठ्ने गरेको बताइन्।

आफूले निर्वाचन लड्ने क्रममा बुथ कब्जा र धाँधलीका घटना भोगेको उल्लेख गर्दै सचिव अर्याल त्यससम्बन्धी प्रमाण आफूसँग रहेको दाबी गरिन्। निर्वाचन क्षेत्रमा १०० प्रतिशत मतदाता भएको ठाउँमा ९९ प्रतिशत मत खसेको घटना भएको र त्यसबारे कुनै उपचार नभएको उनको भनाइ थियो।

‘यहाँ–यहाँ बुथ कब्जा भयो, यहाँ धाँधली भयो, यसरी भोट हालियो भन्ने तथ्य र प्रमाण मसँग छन्। आज पनि निर्वाचन मनीले, मसलले हुन्छ, मिडियाले प्रभावित हुन्छ,’ सचिव अर्यालले भनिन्।

सचिव अर्यालले लोकतान्त्रिक व्यवस्थामा नागरिक जहाँसुकै रहे पनि मतदानको अधिकारबाट वञ्चित हुन नहुने बताइन्। आफूले रोजेको प्रतिनिधिलाई मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै उनले अन्तरजिल्ला तथा अन्तरदेशीय मतदानको व्यवस्था गर्नुपर्ने बताइन्।

निर्वाचन आयोगले यस विषयमा पहल गरिरहेको भन्दै उनले प्रशंसा गरिन् र आवश्यक सहयोग गर्न आफू तयार रहेको बताइन्। तर, यस्तो व्यवस्था कार्यान्वयन गर्दा भावनात्मक पक्षसँगै व्यावहारिक तथा कानुनी कठिनाइलाई पनि ध्यान दिनुपर्ने उनको सुझाव थियो।

सचिव अर्यालले काठमाडौँमा बसोबास गर्ने कर्णालीका मतदाताले काठमाडौँबाटै मतदान गर्न पाउने व्यवस्था गर्दा निर्वाचन व्यवस्थापनमा चुनौती थपिन सक्ने बताइन्।

‘काठमाडौँमा बसेको कर्णालीको मान्छेले काठमाडौँबाट मतदान गर्न र ७७ जिल्लाकै व्यवस्था गर्दा काठमाडौँका प्रत्येक निर्वाचन केन्द्रमा ७७ वटा मतपेटिका रहनुपर्छ,’ सचिव अर्यालले भनिन्।

स्थानीय तहलाई समेत समेटेर मतदानको व्यवस्था गर्दा मतपेटिकाको संख्या अझै बढ्ने उनको भनाइ थियो। त्यसैले अन्तरजिल्ला तथा अन्तरदेशीय मतदानको व्यवस्था अघि बढाउनुअघि सम्भावित समस्या पहिचान गरी समाधानका उपाय खोज्नुपर्नेमा उनले जोड दिइन्।