अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘रत्न-श्रेष्ठ राष्ट्रिय पुरस्कार’बाट चन्द्रप्रकाश बानियाँ पुरस्कृत

‘रत्न-श्रेष्ठ राष्ट्रिय पुरस्कार’बाट चन्द्रप्रकाश बानियाँ पुरस्कृत


बागलुङ : रत्न-श्रेष्ठ पुरस्कार गुठी बागलुङले विभिन्न विधामा पाँच लेखकलाई शुक्रबार पुरस्कृत गरेको छ । गुठीले हरेक दुई/दुई वर्षमा प्रदान गर्ने ५० हजार रुपैयाँ राशिको ‘रत्न-श्रेष्ठ राष्ट्रिय पुरस्कार’बाट यो वर्ष लेखक चन्द्रप्रकाश बानियाँ पुरस्कृत हुनुभएको छ ।

निबन्ध कृति ‘भौज्याहा’का लागि उहाँ पुरस्कृत हुनुभएको हो । म्याग्दीको बेनी नगरपालिका–५ पुलाका बानियाँ यो वर्षको मदन पुरस्कार विजेतासमेत हुनुहुन्छ । यस्तै ‘रत्न-श्रेष्ठ प्रादेशिक पुरस्कार’ लेखक डा. प्रमोद ढकालले प्राप्त गर्नुभएको छ । २५ हजार रुपैयाँ राशिको सो पुरस्कार निबन्ध कृति ‘पूर्वीय दर्शनको पुर्नव्याख्या’का लागि उहाँलाई प्रदान गरिएको गुठीले जनाएको छ ।

गुठीले नै प्रदान गर्ने ‘धवलागिरि प्रतिभा पुरस्कार’ लेखक महेश्वर पन्तलाई प्रदान गरिएको छ । उपन्यास कृति ‘फुर्लुङ’का लागि उहाँ पुरस्कृत हुनुभएको हो । पुरस्कारको राशि रु १५ हजार रहेको छ । गुठीमा स्थापित ‘जगतचन्द्र स्मृति राष्ट्रिय पुरस्कार’ प्रा डा रमेशचन्द्र अधिकारीले प्राप्त गर्नुभएको छ ।

‘जीवन दर्शनको रुपरेखा’ कृतिका लागि अधिकारी पुरस्कृत हुनुभएको हो । सो पुरस्कारको राशि रु २५ हजार रहेको छ । यस्तै, गुठीद्वारा सञ्चालित ‘गुरु गणेश–विष्णु स्मृति पुरस्कार’ लेखक मीनराज वसन्तलाई प्रदान गरिएको छ । उपन्यास कृति ‘पिपिरी’का लागि लेखक वसन्त पुरस्कृत हुनुभएको हो । उक्त पुरस्कारको राशि रु १२ हजार रहेको छ ।

यहाँ आयोजित समारोहमा वरिष्ठ अधिवक्ता पदमनाथ शर्मा र गुठीका संस्थापक÷संरक्षक प्रेम छोटाले लेखकलाई पुरस्कार प्रदान गर्नुभएको थियो । पुरस्कृत कृतिमाथि धौलागिरि बहुमुखी क्याम्पसका प्रा डा दिनबहादुर थापाले समीक्षात्मक टिप्पणी राख्नुभएको थियो । नेपाली भाषा र वाङ्मयका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका कवि, लेखकलाई पुरस्कृत गर्ने गरिएको संस्थापक÷संरक्षक छोटाले बताउनुभयो ।

पुरस्कार ग्रहणपछि बोल्दै लेखकले आफूहरुको सिर्जनाकर्ममा ऊर्जा थपिएको प्रतिक्रिया दिएका छन् । साहित्यकार छोटाले आफ्नी दिवङ्गत आमा रत्नकुमारी श्रेष्ठको स्मृतिमा विसं २०३४ सालमा पुरस्कार गुठी स्थापना गर्नुभएको थियो ।