अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बुद्ध एयरले जनकपुर-अयोध्यामा उडान गर्ने

बुद्ध एयरले जनकपुर-अयोध्यामा उडान गर्ने


काठमाडौं- निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले धार्मिक पर्यटन प्रवद्र्धनार्थ नेपालको जनकपुरबाट भारतको अयोध्यामा सिधा उडान सञ्चालन गर्ने भएको छ ।

पौराणिक, धार्मिक सम्बन्ध रहिआएको जनकपुरधाम र अयोध्याको महत्वलाई दर्शाइ धार्मिक पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले यो गन्तव्यमा उडान विस्तार गर्न लागिएको कम्पनीले जनाएको छ ।

‘सीताराम’ सम्बन्ध त्रेतायुगदेखि नै चलिआएको छ । यस पौराणिक, धार्मिक सम्बन्धको साक्षी जनकपुरधाम र अयोध्या शहरलाई जोड्नका लागि उडान सञ्चालनको तयारी गरिएको हो । बुद्धले जनकपुरबाट अयोध्यामा विस्तार भइरहेको विमानस्थलमा सिधा उडान अनुमतिका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा नेपाल नागरिक उड्डयन प्राधिकरणमा निवेदन दिएको छ । प्रदेश नं २ सरकारलाई पनि बोधार्थ पठाइएको छ ।

तीन वर्षअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला जनकपुर र अयोध्यालाई भगिनी शहरका रूपमा विकास गर्ने, रामायण सर्किट बनाउनेजस्ता सहमति भएको थियो । जनकपुरधामबाट अयोध्यामा निर्माणाधीन विमानस्थलको उडान ५० मिनेटको हुनेछ । यस उडानबाट दुवै देशका धार्मिक पर्यटकले मनग्यै लाभान्वित हुने कम्पनीको विश्वास छ ।

जनकपुर विमानस्थल आन्तरिक विमानस्थल भएकाले अन्तर्राष्ट्रिय उडानका लागि भन्सार र अध्यागमन कार्यालय स्थापना गर्न सरोकारवाला निकायले पनि सहजीकरण गरिदिएको खण्डमा निकट भविष्यमा यो गन्तव्यबाट भारतीय पर्यटकको सङ्ख्या बढ्ने अनुमान गरिएको छ ।

कोभिड-१९ पछिको उडान बजारमा आफूनो उपस्थिति बलियो बनाउन बुद्धले आक्रामक बजार विस्तार गर्न लागेको विज्ञप्तिमार्फत जनाएको छ । हरेक गन्तव्यमा यात्रुको चाप हेरी थप उडान भरिनेछ । बुद्ध एयरसँग अहिले नौ थान एटिआर-७२, तीन थान एटिआर-४२ र दुई थान बीचक्राफ्ट गरी १४ जहाज छन् ।

कोभिडका कारण शिथिल भएको हवाई क्षेत्रलाई चलायमान बनाउन बजार विस्तारसहित उपस्थिति जनाउने कम्पनीको योजना छ । अहिले बुद्धले दैनिक १२० उडान गरिरहेको छ ।

उडान संख्या बढे पनि विदेशी पर्यटक नआएसम्म पूर्ववत अवस्थामा फर्कन कठिन हुने बुद्धएयरका बजार निर्देशक रुपेश जोशीले बताउनुभयो ।