अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिरियामा एक दशकको युद्धमा ३ लाख ८८ हजार बढीले गुमाए ज्यान

सिरियामा एक दशकको युद्धमा ३ लाख ८८ हजार बढीले गुमाए ज्यान


बेरूत- सिरियामा एक दशक पहिले सुरु भएको गृहयुद्धका कारण मृत्यु हुनेको सङ्ख्या ३ लाख ८८ हजार ६५२ पुगेको सिरियाली युद्ध अनुगमनकारी संस्थाले आइतबार बताएको छ ।

बेलायतस्थित सिरियाली मानव अधिकारवादी संस्था, सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सको तथ्याङ्कअनुसार द्वन्द्वका कारण एक लाख १७ हजार ३८८ नागरिकको मृत्यु भएको र तीमध्ये २२ हजारभन्दा बढी बालबालिका रहेका छन् ।

सिरियाली सत्ताधारी समूह र सहयोगी सैन्य लडाकूले गरेको आक्रमणमा अधिकांश नागरिकको मृत्यु भएको मानब अधिकारवादी संस्थाले बताएको छ ।

संस्थाले गत डिसेम्बरमा उपलब्ध गराएको तथ्याङ्कमा सिरियामा गृहयुद्धमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या तीन लाख ८७ हजार रहेको थियो ।

सन् २०२० मा युद्धका कारण मृत्यु हुनेको सङ्ख्या युद्ध सुरू भएपछिको करिब एक दशकको अवधिमा सबैभन्दा कम रहेको संस्थाका प्रमुख रामी अब्देल रहमानले बताउनुभयो ।

यो वर्षको उत्तरपश्चिमी सिरियामा युद्धविराम भएको कारण रूपमा युद्धका घटनामा कमी आएको र उक्त समय विश्वव्यापी महामारीका कारण सिरियामा पनि यस प्रकारका गतिविधि कम भएको बताइएको छ ।

सन् २०११ मा सरकारविरोधी प्रदर्शनमाथि क्रुर दमनपछि द्वन्द्व थप चर्किएको र कारागार र नजरबन्द तथा हिरासतमाहरूमा कम्तिमा १६ हजार व्यक्तिको मृत्यु भएको अभिलेख सरकारको रहेको छ ।

यद्यपि मानव अधिकारवादी संस्थाहरूले उक्त सङ्ख्याभन्दा निकै बढी अर्थात् ८८ हजार मानिसहरूले सरकारी जेल तथा हिरासतमा ज्यान गुमाएको दावी गरेका छन् ।

सन् २०१५ पछि रूसी सहयोगमा बसर अल असदको नेतृत्व रहेको सरकारले विद्रोहीविरुद्धको कारबाहीलाई सशक्त बनाएपछि अहिले सरकारको नियन्त्रणमा ६० प्रतिशत भूभाग रहेको तथ्याङ्क रहेको बताइने गरिएको छ ।