काठमाडौँ-पश्चिम अफ्रिकी मुलुक माली फेरि हिंसात्मक आक्रमणको चपेटामा परेको छ। राजधानी बमाको नजिकै भएको आत्मघाती ट्रक बम विस्फोटमा मालीका रक्षामन्त्री सादियो कामारा मारिएका छन्।
परिवार स्रोत र बीबीसीका अनुसार उनी आफ्नै निवास क्षेत्रमा भएको विष्फोटमा गम्भीर घाइते भएका थिए, पछि उपचारकै क्रममा मृत्यु भएको हो। घटनापछि सरकारी टेलिभिजनले पनि उनको निधनको समाचार प्रसारण गरेको छ।
आक्रमण राष्ट्रपति असीमी गोइताको निवासलाई समेत लक्षित गरेर गरिएको बताइएको छ। उनी भने सुरक्षित स्थानमा सारिएको जनाइएको छ।
घटनापछि मालीको राजधानी बमाकोसहित विभिन्न सहरमा चरमपन्थी समूहहरूले समन्वयात्मक आक्रमण गरेका छन्। सैनिक ब्यारेक, रक्षामन्त्रीको निवास र अन्य सुरक्षा संरचनाहरूलाई निशाना बनाइएको बताइएको छ।
विद्रोही समूह ‘जमाअत नुसरत अल–इस्लाम वाल–मुस्लिमीन (जेएनआईएम)’ ले आक्रमणको जिम्मेवारी लिँदै आफूहरूले मालीका सुरक्षा संरचनालाई लक्षित गरेको दाबी गरेको छ। साथै ‘आजावाद लिबरेसन फ्रन्ट (एफएलए)’ सँग मिलेर आक्रमण गरिएको जनाएको छ।
अन्तर्राष्ट्रिय विश्लेषकहरूले यसलाई “अभूतपूर्व समन्वयात्मक हमला” भन्दै मालीको सुरक्षा प्रणाली गम्भीर संकटमा परेको चेतावनी दिएका छन्।
सन् २०२०–२१ को सैन्य कूपछि सत्तामा आएका राष्ट्रपति गोइटाले देशमा सुरक्षा स्थिरता ल्याउने वाचा गरे पनि माली अझै विद्रोह र अस्थिरताबाट गुज्रिरहेको छ। फ्रान्ससँग सम्बन्ध तोडेर रुसको सहयोग लिएको भए पनि पछिल्लो समय रुसी सुरक्षा सहयोग घटेसँगै अवस्था झन् जटिल बनेको बताइएको छ।







प्रतिक्रिया