काठमाडौं – अमेरिका र इरानबीच जारी युद्ध अन्त्य गर्न एक महत्वपूर्ण सम्झौता हुन लागेको समाचार संस्था रोयटर्सले जनाएको छ ।
यसका लागि दुवै देश १४ बुँदे सम्झौतामा सहमतिको नजिक पुगेका छन् । आगामी ४८ घण्टाभित्र यसबारे पूर्ण स्पष्टता आउने समाचारमा उल्लेख छ ।
रोयटर्सका अनुसार १४ बुँदे सम्झौताका मुख्य प्रावधानहरूमा इरानले आफ्नो आणविक सम्वर्द्धन कार्यमा अस्थायी रोक लगाउने प्रतिबद्धता जनाउने, अमेरिकाले इरानमाथिका केही प्रतिबन्धहरू खुकुलो पार्ने र इरानको रोक्का गरिएको अर्बौं डलर बराबरको सम्पत्ति जारी गर्ने र होर्मुज जलमार्गमा जहाजहरूको आवागमनमा लगाइएको प्रतिबन्ध हटाउने रहेको बताइएको छ ।
सम्झौताअन्तर्गत ३० दिनको प्रारम्भिक वार्ता अवधि तय गरिनेछ । वार्तामा विस्तृत छलफल हुनेछ । यदि, वार्ता सफल नभए अमेरिकाले पुनः नाकाबन्दी वा सैन्य कारबाही सुरु गर्न सक्ने सर्त राखिएको छ ।
वार्तामा अमेरिकी दूत स्टिभ विट्कोफ, जेरेड कुशनर र इरानी अधिकारीहरू संलग्न रहेको बताइएको छ । पाकिस्तानले यस युद्ध अन्त्यका लागि मध्यस्थकर्ताको भूमिका खेलिरहेको छ । गत महिना पाकिस्तानमै शान्ति वार्ताको आयोजना गरिएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलमार्गमा जहाजको सुरक्षाका लागि सुरु गरिएको प्रोजेक्ट फ्रिडम नामक नौसैनिक अभियानलाई अस्थायी रूपमा राकोका छन् । यो कदमले वार्तामा महत्वपूर्ण प्रगति भएको संकेत गर्ने बताइएको छ ।
बुधबार मात्रै होर्मुजमा एउटा फ्रान्सेली कन्टेनर जहाजमाथि आक्रमण भएको थियो, जसमा चालक दलका सदस्यहरू घाइते भएका थिए । फेब्रुअरीदेखि नै यो जलमार्ग तनावका कारण बन्द जस्तै छ ।
सम्झौता हुन सक्ने खबर सार्वजनिक भएलगत्तै विश्व बजारमा सकारात्मक प्रतिक्रिया देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आठ प्रतिशतले घटेर प्रतिब्यारेल १०० डलर आसपास पुगेको छ । विश्वभरका सेयर बजार बढेको छ ।
यसैबीच, इरानी विदेशमन्त्री अब्बास अराघचीले तेहरान न्यायसंगत र व्यापक सम्झौताको पक्षमा रहेको बताएका छन् ।







प्रतिक्रिया