अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोना परीक्षणमा सरकारले तोकेभन्दा बढी पैसा लिने अस्पताललाई मुद्दा

कोरोना परीक्षणमा सरकारले तोकेभन्दा बढी पैसा लिने अस्पताललाई मुद्दा


चितवन- कोरोना परीक्षणमा नेपाल सरकारले निर्धारण गरेभन्दा बढी शुल्क असुलेका दुई अस्पताललाई जिल्ला प्रशासन कार्यालयले मुद्दा चलाएको छ ।

यहाँको कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुर र स्टार अस्पताल सानेपालाई कोरोना परीक्षणका क्रममा पिसिआर शुल्क बढी असुलेको भन्दै मुद्दा चलाइएको हो ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेका अनुसार शिक्षण अस्पताललाई रु १८ लाख र स्टार अस्पताललाई रु पाँच लाख धरौटी माग गरिएको थियो । ती अस्पतालका प्रतिनिधि धरौटी जम्मा गरी तारेखमा रिहा भएका छन् ।

शिक्षण अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा सुप्रभात श्रेष्ठ र स्टार अस्पतालका अध्यक्ष किशोरकुमार महर्जन धरौटी जम्मा गरी संस्थागत तारेखमा रहेको उहाँले जानकारी दिनुभयो ।

शिक्षण अस्पतालले यहाँ सङ्कलन गरेको नमूना स्टार अस्पताल पठाउने गरेको थियो । सरकारले पिसिआर शुल्क रु दुई हजार तोकेकामा ती अस्पतालले रु तीन हजार शुल्क लिएपछि प्रशासनले कारवाही गरेको हो । ती दुई अस्पतालविरुद्ध यही चैत ४ गते मुद्दा पेश गरिएको थियो । प्रमुख जिल्ला अधिकारी लामिछानेका अनुसार नमूना परीक्षण गरेका आधारमा धरौटी माग गरिएको हो ।

प्रमाणसहितको गुनासोपछि गरिएको प्रारम्भिक अनुसन्धानका क्रममा दोषी देखिएपछि प्रशासन कार्यालयले कारवाही गरेको हो । उनीहरूलाई कालोबजारी तथा केही सामाजिक अपराध र सजाय ऐन, २०३२ अनुसार मुद्दा दर्ता गरेर कारवाही शुरु गरिएको छ । बयानका क्रममा दुवै अस्पतालका सञ्चालकले बढी शुल्क लिएको स्वीकार गरेको प्रशासनले जनाएको छ । उनीहरुलाई मुद्दा पुर्पक्षका लागि थुनछेक आदेशपछि धरौटी निर्धारण गरिएको हो ।

यसअघि प्रशासनले बढी रकम लिएको भन्दै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजसमेतलाई मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाएको छ ।