अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पद होइन जनताको मायाले माओवादी बाइबाइ गरेका हौँ : सांसद कुशवाह

पद होइन जनताको मायाले माओवादी बाइबाइ गरेका हौँ : सांसद कुशवाह


जनकपुर- नेकपा माओवादी केन्द्रले एमालेतिर लागेको भन्दै प्रदेश नं २ का चार जना सांसदलाई कारवाही गरेको पत्र पठाएको छ । आफूहरूलाई ह्वाट्स एपमा पत्र पठाएकोले त्यसको कुनै आधिकारिकता नभएको सांसद कुन्दन प्रसाद कुशवहा बताउनुभएको छ ।

ह्वाट्स एपमा पठाएको पत्र हास्यास्पद

‘हिजो बेलुका ह्वाट्स एपमा एउटा पत्र आएको छ । नेकपा माओवादी पार्टीको लेटर प्याडमा । त्यसमा स्पष्टिकरण दिन भनिएको छ,’ सांसद कुशवाहले नेपाली बहस डटकमसँग भन्नुभयो ‘सांसदहरू ज्वालाकुमारी साह, रामचन्द्र मण्डल, मोहम्मद समिरलाई पनि मलाई जस्तै पत्र आएको रहेछ । यसको कुनै अर्थ छैन । यो पत्र नै हास्यास्पद छ ।’

त्यो पत्र आफूहरूलाई थर्काउन पठाइएको कुशवाहको बझुाइ छ । ‘तिमेरको पद जान्छ,के जान्छ ,के गर्छौं भनेर हामीलाई थर्कमान पारेर फेरी माओवादी मै बस्छन् कि भनेर पठाएको छ’ कुशवाहले भन्नुभयो ‘हामीलाई पदको होइन जनताको विश्वासको माया भएकोले माओवादीलाई बाइबाइ गरेका हौँ ।’

प्रधानमन्त्रीको अभियानलाई साथ दिन एमालेमा

नेपालमा प्रधनमन्त्री ओलीले सुरू गर्नु भएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अभियान पूरा गर्नका लागि आफूहरूले एमालेलाई साथ दिने निर्णय गरेको कुशवाहले बताउनुभयो ।

‘नेपाललाई तीव्र विकासमा लैजान, सबैलाई सुखी र समृद्ध पार्न प्रधानमन्त्रीको स्टेप ठीक छ,’ कुशवाहले नेपाली बहस डट कमसँग भन्नुभयो, ‘त्यसैले पनि हामीले प्रधनमन्त्रीलाई साथ दिएका हौँ । ’

मधेसमा अब एमालेको लहर नआए कसको आउँछ ?

हाम्रो पद नरहे पनि जनताको सेवामा आफू सदैव तत्पर रहने उहाँले बताउनुभयो । विकासका लागि निरन्तर लाग्ने उहाँको प्रतिबद्धता छ । मधेसमा अब एमालेको जनलहर आउने कुशवाहको दाबी छ ।

‘प्रभु साहजी जब एमाले पस्नुभयो । मन्त्री हुनुभयो मधेसमा छुट्टै लहर आइसक्यो,’ कुशवाहको भनाइ छ, ‘हामी उहाँको कार्यकर्ता हौँ । हामीसँग जनता छन् । पार्टीसँग सही विचार छ भनेपछि अब एमालेको लहर नआए कसको लहर आउँछ त मधेसमा ?’

प्रचण्डका सयौँ कमजोरी

प्रचण्डका सयौँ कमजोरी देखेर आफू आजित भएको कुशवाहले बताउनुभयो । ‘उहाँका कयौँ कमजोरी छन् । देश र जनताभन्दा पारिवारिक लोभलाचको खानी हो उहाँ । आम जनतालाई हेर्नुपर्ने उहाँले तर छोराछोरी, ज्वाई, भाइभतिजालाई अवसर दिँदैमा अरूलाई हेर्न सक्नुभएन,’ कुशवाह भन्नुभयो, ‘त्यस्तो भए पछि कसरी आम जनाले अवसर पाउछन् । उनीहरूले रोजगारी पाउछन् । गरिबी कसरी हट्छ । प्रचण्डलाई नो मतलब । खाली फेमेली सेट गर्‍यो बास ।’

गरिबलाई कसरी आत्मनिर्भर बनाउ, गाउँलाई कसरी सुगम बनाउ ,सीपमूलक कार्यक्रम कसरी ल्याउ, जनतालाई स्वरोजगारसँग कसरी जोडु भन्ने प्रचण्डले कहिले चिन्ता नगरेको कुशवाहको आरोप छ ।

अबको समय माओवादीको होइन

सांसद कुशवाहले माओवादीको समय अब सकिएको बताउनुभएको छ । ‘हिजो कुनै बेला थियो माओवादीको समय । त्यसबेला हामी पनि त्यतै लाग्यौँ । तर, अब त्यो समय सकियो । अब माओवादीको समय हैन । किनकि यो पार्टीलाई नेतृत्व गर्नेहरू गलत बाटोतिर गए । पार्टी फूटाउने, षड्यन्त्र गर्नेतिर गए,’ कुशवाहले भन्नुभयो, ‘त्यसकारण माओवादीका अन्य साथीहरूलाई पनि अब त्यो गलत बाटो छोड्न म आग्रह गर्दछु । ’

कुशवाह रौतहट जिल्लाको निर्वाचन क्षेत्र नं ३ (ख) बाट निर्वाचित सांसद हुनुहुन्छ ।