अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘मुख्यमन्त्री पोखरेलको कुर्सी कसैले पनि हल्लाउन सक्दैन’

‘मुख्यमन्त्री पोखरेलको कुर्सी कसैले पनि हल्लाउन सक्दैन’


काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का लुम्बिनी प्रदेशका सांसद सन्तोष पाण्डेले मुख्यमन्त्री शंकर पोखरेलको पद सुरक्षित रहेको बताउनुभएको छ ।

लुम्बिनीमा मुख्यमन्त्री पोखरेलविरुद्ध मोर्चाबन्दी चलिरहेका बेला पाण्डेको यस्तो प्रतिक्रिया आएको हो । ‘मुख्यमन्त्री शंकर पोखरेलको कुर्सी कसैले पनि हल्लाउन सक्दैन,’ आईएनए न्युज एजेन्सीसँग उहाँले भन्नुभयो ।

लुम्बिनीमा नेपाली कांग्रेसले सरकारको नेतृत्व लिन दौडधुप गरिरहेको छ । एमाले स्थायी कमिटी सदस्य समेत रहनुभएका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने कसरत समेत भइरहेको छ ।

कांग्रेस, माओवादी केन्द्र र जसपा एकै ठाउँ उभिए पनि हाल एमालेसँग रहेको सिट संख्या मात्र पुर्..याउन सकिने सांसद् पाण्डेले बताउनुभयो । ‘कांग्रेसको १९, माओवादी केन्द्रको १७ र जसपाका ५ सांसद मिल्दा बल्ल एमालेको जति मात्र सिट संख्या पुग्छ, अनि कसरी ढल्छ सरकार ?,’ पाण्डेको प्रश्न छ ।

मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याइए जसपा सांसद कल्पना पाण्डेले हस्ताक्षर नगर्ने पनि पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कल्पनाजीले सरकारको विपक्षमा हस्ताक्षर गर्नुहुन्न, उहाँ तत्कालीन राजपाको भएकाले अविश्वासको प्रस्तावमा हस्ताक्षर नगर्नु भन्ने केन्द्रको निर्देशन छ ।’

मुख्यमन्त्री अविश्वास प्रस्ताव ल्याइए पनि सफल नहुने सन्तोषको भनाइ छ । आफूहरूले अविश्वास प्रस्तावमा हस्ताक्षर नगर्ने समेत सन्तोषले बताउनुभयो । ‘हामी एक भएर केही हुन्न, मुख्यमन्त्री सुरक्षित हुनुहुन्छ,’ सांसद पाण्डेले भन्नुभयो ।

८७ सदस्यीय प्रदेश सभामा एमालेका ४१ जना सांसद छन् । सरकार बनाउन ४३ सांसद् चाहिन्छ । प्रदेश सभामा सभामुखसहित माओवादी केन्द्रका २०, कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका १ जना सांसद् छन् ।

माओवादीले दुई जना सांसदलाई कारबाही गरेर सांसद्बाट हटाइसकेको छ । रूपन्देहीका दधिराम न्यौपाने र गुल्मीका दिनेश पन्थीलाई माओवादी केन्द्रको संसदीय दलले कारबाही गरेको थियो ।