अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णालीमा एमालेको नेतृत्वमा सरकार गठनको गृहकार्य तीव्र

कर्णालीमा एमालेको नेतृत्वमा सरकार गठनको गृहकार्य तीव्र


काठमाडौं- कर्णालीमा माओवादी केन्द्र नेतृत्वको सरकार ढल्ने समय नजिक आएको छ ।

माओवादी सरकार ढल्ने पक्का भएसँगै नेकपा एमालेले नयाँ सरकार गठनको गृहकार्य तीव्र पारेको छ । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नै कर्णालीमा महेन्द्रबहादुर शाही नेतृत्वको सरकार ढल्ने लगभग पक्का भइसकेको हो ।

मुख्यमन्त्री शाहीले राजीनामा दिनासाथ सरकार गठनको काम थालिने एमाले सचेतक गुलाबजंग शाहले जानकारी दिनुभयो । एमालेले आफ्नो नेतृत्वमा सरकार बनाउने यसअघि नै बताइसकेको छ ।

‘कानुनअनुसार मुख्यमन्त्री शाहीले राजीना दिन बाँकी छ, उहाँले राजीनामा दिएपछि यमलाल कँडेलको नेतृत्वमा सरकार बनाउँछौँ, यसका लागि गृहकार्य तीव्र पारिएको छ,’ शाहले भन्नुभयो ।

मुख्यमन्त्री शाहीले प्रदेश सभाको फेस गर्ने र पहिले नै राजीनामा नदिने बताइरहनु भएको छ । तर, एमालेका सांसदले फ्लोर क्रस गरे मात्र शाहीको बहुमत पुग्ने देखिन्छ । एमालेका सांसद एक ढिक्का भइसकेका छन् । माधव गुटले धोका दिए बर्खास्त गर्ने एमालेले बताइसकेको छ ।

कँडेलको नेतृत्वमा सरकार बने पनि सबैको चित्त बुझाउन भने एमालेलाई सहज भने छैन । माधव गुटका ९ सांसद्मध्ये केही सांसद् मन्त्री पदका तीव्र आकांक्षी देखिएका छन् । माधव गुट छाडेर सस्थापनतिर लाग्नुभएका दुई जना सांसदले पनि मन्त्रीको दाबी गर्नुभएको स्रोत बताउँछ । अरू राजनीतिक दलहरूलाई पनि मिलाएर लैजाने पक्षमा एमाले छ ।

नयाँ सरकार गठन गर्नुअघि कांग्रेस र माओवादीसँग छलफल गरिने सचेतक शाहले बताउनुभयो । ‘जनताको सरकार बनाउन सबै दलसँग सहकार्य गर्छौं, सरकार गठन गर्नुपूर्व माओवादी र कांग्रेससँग पनि छलफल गर्छौं, उहाँहरुका कुरा पनि सुन्छौँ,’ शाहले भन्नुभयो ।

सरकार बनाउन एमालेसँग स्पष्ट बहुमत छ । ३९ सदस्यीय कर्णाली प्रदेश सभामा एमालेसँग २० सांसद छन् । माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका एक सांसद छन् । बहुमत पुगे पनि अन्य पार्टीसँग सहकार्य गर्न सक्ने एमालेको निष्कर्ष छ ।