अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रसुवामा टिपर दुर्घटना हुँदा दाजुभाईको मृत्यु, वडाध्यक्ष गम्भीर घाइते

रसुवामा टिपर दुर्घटना हुँदा दाजुभाईको मृत्यु, वडाध्यक्ष गम्भीर घाइते


रसुवा- पासाङल्हामु राजमार्गअन्तर्गत रसुवा खण्डमा गए राति भएको टिपर दुर्घटनामा परी दुईको मृत्यु भएको छ । मृत्यु हुनेमा रसुवाको कालिका गाउँपालिका-१ ग्राङ निवासी ग्राङ प्राविका शिक्षक २७ वर्षीय राजेन्द्र तामाङ र २५ वर्षीय सवारी चालक सागर तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ग्राङबाट कालिकास्थानतर्फ गइरहेको वाग्मती प्रदेश ०६-००६ ख १६८८ नंको खाली टिपर गए राति दुर्घटना हुँदा गम्भीर घाइते भएका राजेन्द्र र सागरलाई नेपाल प्रहरीले तत्काल उद्धार गरी रसुवा अस्पताल धुञ्चे पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

टिपरमा सवार कालिका गाउँपालिका-१ का वडाध्यक्ष मालफुर्पा तामाङको भने खोजतलासपछि आज बिहान मात्र घटनास्थल क्षेत्रको केही तल गम्भीर घाइते अवस्थामा भेटी उपचारार्थ काठमाडौँ पठाइएको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिनुभयो । टिपर सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीको अनुमान छ ।

मृतक दुवै एकाघरका दाजुभाइ भएको बताइएको छ । उहाँहरूको शव परीक्षणका लागि रसुवा अस्पतालमा राखिएको बताइएको छ । घटना सम्बन्धमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।