अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गण्डकीमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता

गण्डकीमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता


काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बिहीबार दिउँसो प्रदेशको सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।

कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउने प्रस्तावसहित मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको छ ।

तीन वटै दलले पत्रकार सम्मेलन गरेर प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्नुको कारणबारे जानकारी गराएका छन् ।

विकास खर्च गर्न नसकेको, महंगी बढाएको, भ्रष्टाचार र अनियमितता गरेको, कोरोना संक्रमितको उचित व्यवस्थापन गर्न नसकेको लगायत आरोप तीन दलले सरकारमाथि लगाएका छन् । अविश्वास प्रस्तावमा कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जनता समाजवादी पार्टीका दुई जना सांसद्ले हस्ताक्षर गरेका छन् ।

राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय बुधबार गरेको थियो । सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय केन्द्रले गरेपनि सरकारविरुद्ध ल्याएको अविश्वास प्रस्तावमा जनमोर्चाका सांसद्ले हस्ताक्षर गरेका छैनन् ।

गण्डकी प्रदेशमा ६० जना सांसद् छन् । जसमा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२, जनमोर्चाका तीन, जसपाका दुई र एक जना स्वतन्त्र सांसद् हुनुहुन्छ । स्वतन्त्र सांसद् दिपक मनाङ्गे मुख्यमन्त्री गुरुङकै पक्षमा हुनुहुन्छ ।

एमाले नेतृत्वको सरकार ढाल्न प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य चार दल एक ठाउँ उभिनुपर्छ ।