अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘फ्लोर क्रस’ गर्ने एमालेका चार सांसद पार्टी सदस्यसमेत नरहने गरी निस्कासित

‘फ्लोर क्रस’ गर्ने एमालेका चार सांसद पार्टी सदस्यसमेत नरहने गरी निस्कासित


काठमाडौं- एमाले कर्णाली प्रदेशले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ‘फ्लोर क्रस’ गरेर विश्वासको मत दिएका चार सांसदलाई पार्टी सदस्यसमेत नरहने गरी निस्कासन गर्ने निर्णय गरेको छ ।

नेकपा एमालेका कर्णाली प्रदेशका अध्यक्ष गोरखबहादुर बोगटीले आज विज्ञप्ति जारी गर्दै प्रदेशसभाका सदस्य प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्कासन गरिएको जानकारी दिनुभएको हो ।

अध्यक्ष बोगटीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तीन वर्षअघि हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी ९एमाले० र नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० बीच केन्द्रमा भएको सहमतिअनुसार नेकपा एमाले सम्मिलित नेकपा माओवादी केन्द्रको नेतृत्वमा कर्णाली प्रदेश सरकार गठन भएको थियो । सर्वोच्च अदालतको फैसलाअनुसार साविकका दुवै पार्टी पूर्ववत् अवस्थामा फर्किसकेको अवस्थामा २०७७ चैत्र ४ गतेका दिन बसेको नेकपा एमाले कर्णाली प्रदेशसभा दलको बैठकको निर्णयअनुसार नेकपा माओवादी केन्द्रको सरकारलाई दिएको समर्थन फिर्ता गरिएको थियो ।’

एकता भंग भएका कारण नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेको कर्णाली प्रदेश सरकार अल्पमतमा परेकोले प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि ३ वैशाखमा बसेको कर्णाली प्रदेशसभाको बैठकमा नेकपा एमाले कर्णाली प्रदेशसभा दलको ह्वीप उल्लंघन गरेकाले चार जनालाई कारबाही गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेकपा एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित एवं कर्णाली प्रदेश कमिटीका सदस्यसमेत रहेका निम्न व्यक्तिहरूले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को तर्फबाट विजयी एवं कर्णली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मतदान गरी जघन्य अपराधपूर्ण काम गरेकाले हाम्रो पार्टीको २०७८ वैशाख ३ गते नै बसेको प्रदेशसभा दलको बैठकको निर्णयअनुसार निजहरूलाई प्रदेशसभा सदस्य र पार्टीको कर्णाली प्रदेश कमिटी सदस्यबाटसमेत निस्कासन गर्न भनि आएको सिफारिसलाई समेत आधार बनाइ २०७८ वैशाख ३ गतेदेखि लागू हुनेगरी निजहरूलाई पार्टी सदस्यसहित पार्टी कमिटीका सबै जिम्मेवारीबाट निस्काशन गरिएको छ,’