अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देश उपनिर्वाचनतर्फ

देश उपनिर्वाचनतर्फ


काठमाडौं– वर्तमान राजनीतिक परिस्थिति हेरेर कतिपयले मंसिरमा आम निर्वाचन हुने आंकलन गरिरहेका छन् । यसको छिनोफानो हुन अझै केही समय लाग्छ ।

अर्ली इलेक्सन भनिने मंसिरे निर्वाचनको घोषणा महिना दिन भित्र नभए उपनिर्वाचनतर्फ देश जानेछ । किनकि संघीय, प्रदेश र राष्ट्रियसभा गरी १३ वटा संसदीय पद रिक्त छन् । ती पदमा असार अगावै निर्वाचन गर्ने सरकारको तयारी छ ।

नेपालको संसदीय इतिहासमा एकै चरणमा यति ठूलो संख्यामा उपनिर्वाचन हुन लागेको यो पहिलो पटक हो । यसको मुख्य कारण नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को एकता सर्वोच्च अदालतले बदर गरिदिनु हो । फागुन २३ गते नेकपाको एकता भंग भए पछि नेकपा माओवादी केन्द्रका सांसदहरु नेकपा एमाले प्रवेश गर्नुभएको छ । राजनीतिक दल त्याग सम्बन्धि व्यवस्था अनुसार निर्वाचित भएको दल त्यागेर नयाँ दलमा प्रवेश गर्दा संसद पद स्वत गुम्ने व्यवस्था छ ।

हाल प्रतिनिधीसभाका चार जना,राष्ट्रियसभाका एक जना र प्रदेशसभाका आठ जना सांसदहरु माओवादी त्यागेर एमाले प्रवेश गर्नुभएको छ । जसले गर्दा तत्काल १३ वटा निर्वाचन क्षेत्रहरु साँसदविहिन भएका छन् । दुईदिन अघि कर्णाली प्रदेशसभाका चार जना एमाले सांसदले पार्टीको निर्देशन उल्लंघन गरेकोले उनीहरुलाई पनि पार्टी केन्द्रीय कमिटीको बैठकले आज कारबाही गर्ने सम्भावना छ । यस्तो अवस्थामा १७ वटा निर्वाचन क्षेत्रमा उपनिर्वाचन गराउनु पर्ने अवस्था आउँछ । पार्टीहरुमा आन्तरिक कलह बढ्दै जाँदा रिक्त स्थानहरु बढ्ने सम्भावना छ ।

हाल रिक्त रहेका संघीय निर्वाचन क्षेत्रहरुमा रौतहट क्षेत्र नं ३ जहाँबाट प्रभू साह निर्वाचित हुनुभएको थियो । कैलाली ३ जहाँबाट गौरीशंकर चौधरी निर्वाचित हुनुभएको थियो । कैलाली ४ जहाँबाट लेखराज भट्ट निर्वाचित हुनुभएको थियो । त्यस्तै अर्घाखाँचीबाट टोपबहादुर रायमाझी निर्वाचित हुनुभएको थियो ।

प्रदेश सभातर्फ माओवादी छाडेर आठ जना सांसद एमाले प्रवेश गर्नुभएको छ । त्यसमा प्रदेश १मा ताप्लेजुङको निर्वाचन क्षेत्र (ख) जहाँबाट टंक आङबोहाङ निर्वाचित हुनुभएको थियो । यसैगरी प्रदेश २ का चारवटा निर्वाचन क्षेत्र रिक्त छन् । धनुषा १ (ख) जहाँबाट रामचन्द्र मण्डल,रौतहट ३ (ख)बाट कुन्दनप्रसाद कुशवहा,बारा ३(क)बाट ज्वाला कुमारी साह निर्वाचित हुनुभएको थियो । मोहम्मद समिर बाराबाटै प्रदेशसभामै समानुपातिक साँसद हुनुहुन्थ्यो ।

यसैगरी लुम्बिनी प्रदेशका गुल्मी २ (ख) जहाँबाट दिनेश पन्थी निर्वाचित हुनुभएको थियो । रुपन्देही १(ख ) जहाँबाट दधीराम नेउपाने निर्वाचित हुनुभएको थियो । यस्तै कर्णाली प्रदेशको दैलेख १(क) जहाँबाट धर्मराज रेग्मी निर्वाचित हुनुभएको थियो ।

यता राष्ट्रियसभाका सांसद रामबहादुर थापा बादलको पद पनि खाली भएको छ । उहाँलाई माओवादीले निस्कासन गरेपछि उक्त पदमा निर्वाचन गर्नुपर्ने भएको हो । निर्वाचन आयोगका अनुसार बादलको ठाउँमा पैतीस दिन भित्र निर्वाचन गरिसक्नु पर्दछ । ‘प्रतिनिधीसभा र प्रदेशसभामा एक महिना भित्र हामी निर्वाचन गर्न सक्छौं’ आयोग स्रोतले भन्यो ।

स्थानीय तहका पनि धेरै वटा पदहरु खाली भए पनि अब त्यहाँ निर्वाचन नुहने आयोगले स्पष्ट पारेको छ । स्थानीय तहका पदाधिकारीको कार्यकाल ११ महिना मात्र बाँकी रहेकोले ती ठाउँमा निर्वाचन गर्नु नपर्ने आयोगले जनाएको छ । स्थानीय तहको कार्यकाल एक वर्ष भन्दा बढी रहेमा मात्र उपनिर्वाचन गराउनु पर्ने व्यवस्था छ ।

यता सरकारले असार अगावै सबै रिक्त स्थानमा निर्वाचन गराउने तयारी गरेको छ ।