अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लोकतन्त्र दिवस: बिपीसँग हिँडेका नारायणदत्त भन्छन्, ‘देश र जनतालाई केन्द्रबिन्दुमा राख्नुपर्छ’

लोकतन्त्र दिवस: बिपीसँग हिँडेका नारायणदत्त भन्छन्, ‘देश र जनतालाई केन्द्रबिन्दुमा राख्नुपर्छ’


नेपालमा २००७ सालको क्रान्तिको सफलतासँगै भएका विभिन्न राजनीतिक आन्दोलन र त्यसबाट भएको परिवर्तनका जगमा देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । परिवर्तनकै लागि धेरै नेपालीले बलिदानी दिएका छन् । पटकपटकको सङ्घर्षको जगमा स्थापित लोकतन्त्र दिवस मनाइरहँदा तत्कालीन समयमा योगदान गर्नेहरू अझै पनि ओझेलमा छन् । तत्कालीन समयमा राणा शासनको अन्त्यका लागि २००६ सालमा मुक्ति सेनामा खटिएका व्यक्ति हुन् तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीका ९१ वर्षीय नारायणदत्त खनाल ।

राजनीतिज्ञ श्रीभद्र खनालको प्रेरणाले आफू तत्कालीन समयमा मुक्ति सेनामा आबद्ध भएको बताउँदै उहाँले सो क्रममा आफूसहितका साथीहरूले धेरै दुःख कष्ट भोग्नुपरेको अनुभव सुनाउनुभयो । विसं २००७ को परिवर्तन पछि २००८ सालमा मुक्ति सेनालाई रक्षा दलमा परिणत गरिएको थियो । तत्कालीन समयमा जनपक्षीय सेनाका रुपमा रहेको आफूसहितको ६६४ जनाको टोली मुक्ति सेनामा आबद्ध रहेको जानकारी दिँदै उहाँले २००८ सालमा सिंहदरबारभित्र क्याम्पमा रहँदा आफूले सेनाका अधिकृतका साथै तत्कालीन युवराज महेन्द्रसँग समेत फुटबल खेलेको अनुभव सुनाउनुभयो । रक्षा दलका तर्फबाट फुटबल खेल्दाका धेरै रोचक कुरा आफ्नो स्मृतिमा अझै ताजा रहेको उहाँको भनाइ छ । रक्षा दलसँगकै आबद्धताका क्रममा २००८ सालमा बिपी कोइराला पोखरा हुँदै बागलुङतिर जाने क्रममा उहाँसँगै काठमाडौँबाट पोखरासम्म आठ दिन हिँडेर आएको बताउँदै उहाँले बिपीले आफूसँग आएका साथीभाइको खानपिन आदि समस्याबारे निकै चासोका साथ जानकारीमा राख्ने गरेको उल्लेख गर्नुभयो । “आफूसँग आएकाले के के खाए, सुताइ कस्तो भयो आदिबारे बिपीले निकै चासो दिनुहुन्थ्यो”, उहाँले भन्नुभयो । विसं २००८ पछि रक्षा दलमा आबद्धमध्ये १६४ जनाको बखानसिंह गुरुङ नेतृत्वको टोली सिंहदरबारबाट छुट्टिएर जोगवनी हुँदै विराटनगरसम्म पुगेको जानकारी दिँदै उहाँले उक्त टोली २०१४ सालसम्म उदयपुर, भोजपुर, उदयपुरगढीलगायतका स्थानमा पुगेको बताउनुभयो ।

“ हाम्रो टोलीलाई तत्कालीन समयमा पश्चिमा टोली भन्ने गरिन्थ्यो”, उहाँले भन्नुभयो । रक्षा दलमा रहँदा त्यहाँ खटिएबापत मासिक रु १५ सम्म पारिश्रमिक पाउने गरेको र अधिकतम रु २० सम्म पाएको खनालको अनुभव छ । यसबीचमा आफूहरूले गरेको योगदानका आधारमा स्थायी गरिनुपर्छ भन्ने माग राखे पनि त्यसको सुनुवाइ हुन नसकेको र २०१४ सालमा टोलीका कमाण्डर बखानसिंह गुरुङले स्थायी गर्न नसकिएको भन्दै राजीनामा दिन भने पछि आफूसहितका १० जनाले राजीनामा दिएको उहाँले सुनाउनुभयो । “हामीले राजीनामा दिए पनि पछि अरु केही साथीलाई भने स्थायी गरियो”, खनालको भनाइ छ । स्थायी नभए पनि तत्कालीन समयको योगदानको कदर गर्दै चितवनको बखानटारमा जग्गा उपलब्ध गराउने जस्ता विभिन्न आश्वासन पाइए पनि ती सुविधाबाट आफूहरू वञ्चित बनेको उहाँको गुनासो छ ।

विसं २०४९ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट तत्कालीन जामुने गाउँ विकास समिति वडा नं १ को वडाध्यक्षको उम्मेदवार बन्नुभएका उहाँले निर्वाचनमा विजयी भएपछि गाउँ टोलका बाटोघाटो, पानी पँधेरो, पुल पुलेसो आदिको व्यवस्थापनमा समय खर्चिएको बताउनुभयो । “त्यस समयमा त अहिलेको जस्तो पैसा पनि हुने थिएन, जनश्रमदानसहित उपलब्ध साधनस्रोतको उपयोग गर्दै विकास निर्माणका काम अघि बढाइन्थ्यो”, उहाँले थप्नुभयो । आफूजस्ता धेरैको योगदानको जगमा देशमा ठूला ठूला परिवर्तन आए पनि नेपाली जनताले अझै पनि वास्तविक परिवर्तनको अनुभव गर्न नपाएकोमा खनालको दुःखेसो छ । जनताले विश्वास गरेका दलबीच नै आपसी खिचातानी, आरोप प्रत्यारोपका साथै आर्थिक अनियमितता, भ्रष्टाचार आदिले विगतमा योगदान गरेकाप्रति अपमान हुने बताउँदै उहाँले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।