काठमाडौँ-नेपाली कांग्रेसका सचेतक निश्कल राईले नागरिकलाई सरकारप्रति विश्वास दिलाउन र राज्यको उपस्थिति महसुस गराउन तत्काल संसद् सुचारु गर्नुपर्ने बताएका छन्।
सोमबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सचेतक राईले बाढी पहिरो पीडितहरूको व्यवस्थापन, राहत र पुनर्स्थापनाका विषयमा घनिभूत छलफल गर्न सदन सञ्चालन अपरिहार्य रहेको बताए।
‘यो विपत्ति सरकारको मात्र होइन, हामी सबैको साझा समस्या हो। यस्तो बेला सबै एकजुट हुनुपर्छ, तर त्यसको मुख्य समन्वयकारी भूमिका सरकारले नै निभाउनुपर्छ,’ राईले भने, ‘सरकारले सदनलाई सुचारु गरेर जनताप्रति आफ्नो जवाफदेहिता प्रदर्शन गर्नुपर्छ। नागरिकलाई आफ्नो सरकार छ र यसले हाम्रा पीडा सुन्छ भन्ने आभास दिलाउन पनि संसद् आवश्यक छ।’
उनले संसद् सुचारु गरी राहत वितरण, बेपत्ताको खोजी, उद्धार, पुनर्स्थापना र पुनर्संरचनाका कार्यहरूलाई निष्पक्ष र प्रभावकारी बनाउन एउटा उच्चस्तरीय संयन्त्र वा समिति गठन गर्न समेत सरकारसँग आग्रह गरे।


प्रतिक्रिया