अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गण्डकी प्रदेशसभा बैठक अनिश्चित

गण्डकी प्रदेशसभा बैठक अनिश्चित


पोखरा- गण्डकी प्रदेशको प्रदेशसभा बैठक अनिश्चित बनेको छ । सरकार विरुद्धको अविश्वास प्रस्तावमाथि मतदान हुने समयमा सभामुख नेत्रनाथ अधिकारीले बुधवार हठात रूपमा बैठक स्थगित गर्नुभएको थियो । गण्डकीको विशेष अधिवेशन वैखाख १३ देखि सुरू भएको थियो ।

पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार विरुद्ध ल्याइएको अविश्वास प्रस्तावमाथि बुधबार मतदान हुने तय थियो । तर प्रस्ताव पास गर्न आवश्यक मत नपुग्ने देखेपछि प्रदेश सभामुख अधिकारीले प्रदेश सभा बैठक स्थगित गर्नुभएको थियो ।

अविश्वास प्रस्ताव पास हुन ३१ मत चाहिनेमा ३० मत मात्रै हुने देखेपछि सभामुखले सूचना टाँसेर बैठक स्थगित गर्न लगाउनुभएको थियो ।

बुधबारको बैठकमा राष्ट्रिय जनमोर्चा नेपाल (राजमो) का सांसद् खिमविक्रम शाही अनुपस्थित हुनुभएको थियो । स्वतन्त्र सांसद राजिव गुरुङ पनि बैठकमा अनुपस्थित हुनुभएको थियो ।

अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको सूचना हिजो निकालिसकिएको छ, अब सभामुखको पहलमा कार्यव्यवस्था समितिको बैठक बसेपछि मात्र नयाँ कार्यसूची बन्ने छ

मतदानको समयमा आफ्नो पार्टीका सांसद् अनुपस्थित भएको भन्दै बैठक स्थगित गर्न जनमोर्चाकी सांसद् पियारी थापाले सभामुखसमक्ष निवेदन दिनुभएको थियो । सोही निवेदनको आधारमा संसदीय मान्यता विपरित सभामुखले बैठक स्थगित गर्नुभएको नेकपा एमालेका सांसद् राजिव पहारी बताउनुहुन्छ । कांग्रेस र माओवादीवादीको खेताला सभामुख बन्नुभएको पहारीले बताउनुभयो ।

प्रदेश सभा बैठक अब कहिले बस्छ भन्ने कुनै निश्चित छैन । बैठक कहिले बस्ने भन्ने विषयमा कुनै निर्णय नभएको प्रदेश सभा सचिवलायका प्रवक्ता जितेन्द्रजंग केसीले बताउनुभो । ‘अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको सूचना हिजो निकालिसकिएको छ, अब सभामुखको पहलमा कार्यव्यवस्था समितिको बैठक बसेपछि मात्र नयाँ कार्यसूची बन्ने छ,’ उहाँले भन्नुभयो ।

बुधबारको घटनाले गर्दा असमझदारी उत्पन्न हुने र बैठक सञ्चालनमा नै समस्या हुने चिन्ता प्रदेश सभा सचिवालयका कार्मचारीमा देखिएको छ । ‘हिजोको घटनाले असमझदारी बढ्न सक्छ, अब सभामुखले जिम्मेवारी लिएर समझदारीको प्रयास गर्नुहोला,’ ती कर्मचारीले भने ।

गण्डकी प्रदेश सभामा जनमोर्चाका ३ जना सांसद् छन् । तीमध्ये बुधबारको बैठकमा शाही अनुपस्थित हुनुभयो । संसदीय दलका नेता कृष्ण थापाले समेत सरकार विरुद्ध अविश्वासको प्रस्तावमा मतदान गर्ने पार्टी निर्णयप्रति असहमति जनाउँदै आउनुभएको छ ।

हिजोको घटनालाई सदनको फोहोरी खेलको संज्ञा दिनुभएको छ । आफ्नो पक्षमा निर्णय नआउने देखेपछि सभामुखले बुधवारको बैठक स्थगित गर्नुभएको उहाँको भनाइ छ ।