अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भेरी अस्पतालका ७३ स्वास्थ्यकर्मी र कर्मचारीलाई कोरोना संक्रमण

भेरी अस्पतालका ७३ स्वास्थ्यकर्मी र कर्मचारीलाई कोरोना संक्रमण


बाँके- कोरोना संक्रमितको उपचार हुँदै आएको नेपालगञ्जस्थित भेरी अस्पतालमा कार्यरत ७३ स्वास्थ्यकर्मी र कर्मचारी संक्रमित हुन पुगेका छन् ।

कोभिड-१९ को दोस्रो लहरसँगै अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीमा पनि यसको संक्रमण उल्लेख्यरूपमा देखापरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. प्रकाश थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार यही वैशाख एक गतेदेखि आजसम्म ७३ स्वास्थ्यकर्मी र कर्मचारीमा संक्रमण पुष्टि भएको छ । नर्सिङ स्टाफ ३३, चिकित्सक आठ, प्यारामेडिक्स आठ, सहायक कर्मचारी २२ र प्रशासनसँग आबद्ध दुई गरी अहिलेसम्म ७३ जना सङ्क्रमित भएका छन् ।

कैयौँ नर्सिङ स्टाफ संक्रमित भएर पनि आफूजस्तै संक्रमितको उपचारमा खटिएका छन् । आफ्नो ज्यानको बाजी लगाएर पनि बिरामीको सेवामा अहोरात्र खटिएका सबै कर्मचारीप्रति अस्पतालले आभार प्रकट गरेको छ ।

भेरी अस्पतालमा जनशक्तिको कमी हुँदा सङ्क्रमित स्वास्थ्यकर्मी पनि उपचारमा खटिनुपरेको हो । करिब १० स्टाफ नर्स आफैँ संक्रमित भएर पनि अरु बिरामीको उपचारमा खटिएको अस्पतालका प्रमुख डा. थापाको भनाइ छ ।

सो अस्पतालमा कोरोना बिरामीका लागि एक सय ४२ श्यया छुट्याइएकामा संक्रमितको चाँपसँगै त्यसलाई बढाइएको छ । अहिले भेरीमा दुई सय १२ बिरामी छन् ।

शय्या बढ्दै जाने, स्वास्थ्यकर्मी नबढ्ने र भएका पनि संक्रमित भएपछि समस्या भएको छ । पाँच स्टाफ नर्सले सय जनासम्म बिरामी हेर्नुपर्ने बाध्यता रहेको अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले बताउनुभयो ।

उहाँका अनुसार दुई दिनअघि भेरीले जनशक्ति करारमा नियुक्ति गर्ने अधिकार पाएको छ । अस्पतालले ६० कर्मचारी आह्वान गरेको छ । अस्पतालले एनेस्थेसियोलोजिस्ट तीन, मेडिकल अधिकृत १०, नर्सिङ अधिकृत दुई, ल्याब टेक्निसियन पाँच र स्टाफ नर्स ४० जना करारमा माग गरेको छ ।

ज्यान गुमाउनेको सङ्ख्या सय नाघ्यो

बाँकेमा कोरोना संक्रमणका कारण सय भन्दा बढीको ज्यान गएको छ । कोरोना संक्रमित भई बाँकेका अस्पतालमा भर्ना भएका थप ६ जनाको उपचारका क्रममा ज्यान गएको छ । ज्यान गुमाउनेमा नेपालगञ्ज, कोहलपुर र बर्दिया बढैयाताल गाउँपालिका निवासी छन् ।

गएराति नौ बजे देखि बिहान ५ बजेसम्मको अवधिमा भेरी अस्पताल नेपालगञ्ज र नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा गरी ६ संक्रमितको ज्यान गएको कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यही वैशाख १२ गते पीसीआर जाँच गर्दा कोरोना पोजिटिभ रिपोर्ट आएपछि वैशाख १५ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना हुनुभएकी नेपालगञ्ज उपमहानगरपालिका-१३ निवासी ५८ वर्षीया महिलाको गए राति नौ बजे ज्यान गएको हो ।

यसैगरी, भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज-४ निवासी ६० वर्षीय पुरुष र शिक्षण अस्पताल कोहलपुरमा उपचाररत कोहलपुर नगरपालिका-११ निवासी ४३ वर्षीया महिलाको गए राति करिव नौ बजे नै ज्यान गएको थियोे ।

यसैगरी, भेरी अस्पतालमा नेपालगञ्ज-९ निवासी ४२ वर्षीय पुरुषको राति १० बजे निधन भएको छ भने बढैयाताल गाउँपालिका-८ निवासी ३२ वर्षीय पुरुषको भेरी अस्तालमै उपचारका क्रममा आज बिहान साडे एक बजे ज्यान गएको छ ।

पछिल्लो पटक शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगञ्ज-५ निवासी ५५ वर्षीय पुरुषको बिहान ५ः३० बजे ज्यान गएको स्रोत व्यक्ति वलीले बताउनुभयो ।

यससँगै, बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय ६ पुगेको छ भने बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा उपचारकै क्रममा हालसम्म एक सय नौ जनाको ज्यान गएको छ । रासस