अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अनुपजंग थापालाई रथीको दर्ज्यानी चिह्न प्रदान

अनुपजंग थापालाई रथीको दर्ज्यानी चिह्न प्रदान


काठमाडौं-नेपाली सेनाको रथीमा बढुवा भएका अनुपजंग थापालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। मंगलबार जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देलले थापालाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

गत मंसिर ४ गते बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रथी पदमा थापालाई बढुवा गर्ने निर्णय गरेको थियो। रथीमा बढुवासँगै थापा नेपाली सेनाको भावी प्रधानसेनापतिको रोलक्रममा समेत परेका छन्। हालका प्रधानसेनापति सिग्देलले अवकाश पाएपछि आगामी भदौ २४ गतेदेखि थापा प्रधानसेनापति बन्ने सम्भावना बलियो देखिएको छ।

नेपाली सेनामा अर्को रथी पनि केही दिनभित्रै थपिने भएका छन्। त्यसका लागि उपरथी मधुकर कार्की बढुवाका लागि सिफारिस भइसकेका छन्। उनी मंसिर १५ गतेदेखि लागू हुने गरी रथीमा बढुवा हुनेछन्।

यसैगरी, उपरथीमा बढुवा भएका मनोज थापालाई पनि दर्ज्यानी चिह्न प्रदान गरिएको छ। सहायक रथीमा बढुवा भएका प्राविधिक महासेनानी जगत शाह, पंकज रावल र शितल बानियाँले समेत दर्ज्यानी चिह्न प्राप्त गरेका छन्।

त्यस्तै, महासेनानीमा बढुवा भएका प्राविधिक प्रमुख सेनानी अरविन्द श्रेष्ठलाई पनि दर्ज्यानी चिह्न प्रदान गरिएको छ।