तनहुँ-नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी स्थानीय तह निर्वाचनमा प्रतिनिधिसभा निर्वाचनमा जस्तो राजनीतिक हुरीबतास चल्ने सम्भावना नरहेको दाबी गरेका छन्।
मंगलबार तनहुँमा आयोजित पार्टी जागरण अभियानअन्तर्गतको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले स्थानीय तहको निर्वाचनमा उम्मेदवारको इतिहास, पृष्ठभूमि र विगतका कामका आधारमा मतदाताले निर्णय गर्ने बताएका हुन्।
उनले नयाँ राजनीतिक दलले गरेका कामबारे आम नागरिकले पनि बिस्तारै बुझ्दै गएको उल्लेख गर्दै गाउँघरमा त्यसबारे बुझाउन भने बाँकी रहेको बताए।
‘स्थानीय तहमा पहिलाको जस्तो हुरीबतास आउन सम्भव छैन। स्थानीय तहमा संघको जस्तो जसलाई हाले पनि हुने भन्ने हुँदैन,’ उनले भने, ‘सबैलाई थाहा हुन्छ, आफ्ना आफन्त र नातागोता कोको छन्। हामीले कसिएर स्थानीय तहको चुनाव जित्ने हो भनेर लाग्ने हो भने संघको जस्तो हुँदैन।’
प्रचण्डले मतदाताले उम्मेदवारको इतिहास र पृष्ठभूमि नबुझी मतदान नगर्ने दाबी गरे। नयाँ राजनीतिक दलको कामबारे जानकार भइसकेका नागरिकले त्यसको मूल्यांकन गर्न थालेको उनको भनाइ थियो ।
स्थानीय तहको निर्वाचनमा राम्रो परिणाम ल्याउन सके देश पुनः क्रान्तिको दिशामा अघि बढ्ने दाबी गर्दै उनले पार्टीका नेता तथा कार्यकर्तालाई सक्रियताका साथ चुनावी तयारीमा जुट्न आग्रह गरे।
‘स्थानीय तहमा राम्रो परिणाम निकाल्यौँ भने क्रान्तितिर देश फेरि जान्छ। यो कुरालाई तपाईं-हामीले जति गहिरो गरी बुझ्छौँ, त्यति नै जोश आउनेछ,’ उनले भने।
उनले पार्टीका नेता तथा कार्यकर्ताको सक्रियता र मेहनतले निर्वाचनको परिणाम निर्धारण गर्ने भन्दै जति बढी सक्रियता देखाउन सकियो, त्यति नै धेरै सिट जित्न सकिने दाबी गरे।



प्रतिक्रिया