अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवा समूहमा लागेका जनप्रतिनिधिलाई कारबाही गर्ने गगन थापाको चेतावनी

देउवा समूहमा लागेका जनप्रतिनिधिलाई कारबाही गर्ने गगन थापाको चेतावनी


काठमाडौं-नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवा समूहमा सक्रिय रहेका जनप्रतिनिधिलाई पार्टीको विधानअनुसार कारबाही गर्ने चेतावनी दिएका छन्।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेसको चुनाव चिह्न लिएर निर्वाचित भएका व्यक्ति अर्को पार्टीमा संलग्न भए कारबाही हुने बताएका हुन्।

सभापति थापाले विशेष महाधिवेशनमा सहभागी भए वा नभएको विषयभन्दा पनि कांग्रेसको सदस्य भएर अर्को पार्टीको गतिविधिमा संलग्न हुनु विधानविपरीत हुने स्पष्ट पारे।

‘कुनै पनि व्यक्ति कांग्रेसको चुनाव चिह्न लिएर चुनाव लडेको व्यक्ति अर्को पार्टीमा लाग्छ भने पार्टीले कारबाही गर्छ। तपाईं हिजो विशेष महाधिवेशनमा भाग लिनुभयो या भएन, पछिको महाधिवेशनमा भाग लिनुभयो या भएन भन्दा पनि कांग्रेस सदस्य भएर अर्को पार्टीको चुनावमा जानुभयो भने पार्टीको विधान कार्यान्वयन गर्ने मेरो जिम्मेवारी हो,’ सभापति थापाले भने।

देउवा समूहले अघि बढाएको महाधिवेशन प्रक्रियाप्रति संकेत गर्दै थापाले एउटै पार्टीका दुईवटा महाधिवेशन हुन नसक्ने बताए। उनले उक्त गतिविधि कांग्रेसको आधिकारिक अधिवेशन नभएको जिकिर गर्दै पार्टीभित्र समान धारणा निर्माण गर्न आफूले प्रयास गरिरहेको बताए।

‘अहिले यहाँ भइरहेको कांग्रेसको अधिवेशन हुँदै होइन। एउटै पार्टीको दुईवटा अधिवेशन हुँदैन,’ सभापति थापाले भने, ‘एकपछि अर्को गर्दै साथीहरूको कुरा सुन्दै र जोड्दै यहाँसम्म पुगेको हो। अझै पनि जोड्छु। तर यसको एउटा सीमा हुन्छ।’

थापाले पार्टीभित्र असन्तुष्ट रहेका नेता तथा कार्यकर्तालाई समेट्ने प्रयास जारी राख्ने पनि बताए। तर कांग्रेस छाडेर अर्को पार्टीको सदस्यता लिने वा अर्को पार्टीको गतिविधिमा संलग्न हुने विषयमा भने विधानअनुसार अघि बढ्ने उनको भनाइ थियो।

देउवा समूहले अघि बढाएको महाधिवेशन प्रक्रियामा राष्ट्रियसभा, प्रदेशसभा तथा स्थानीय तहका केही जनप्रतिनिधि पनि सक्रिय रूपमा सहभागी भइरहेका छन्। उनीहरूलाई लक्षित गर्दै सभापति थापाले पार्टीको विधान कार्यान्वयन गर्ने चेतावनी दिएका हुन्।