अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बेनी अस्पतालले सुरू गर्‍यो ‘हेलो डक्टर’ सेवा

बेनी अस्पतालले सुरू गर्‍यो ‘हेलो डक्टर’ सेवा


म्याग्दी- बेनी अस्पतालले स्वास्थ्य मन्त्रालयको निर्णय र निर्देशनअनुसार बुधबारदेखि बहिरंग सेवा बन्द भएपछि ‘हेलो डक्टर’ सेवा सुरू गरेको छ ।

तीव्ररूपमा फैलिएको दोस्रो लहरको कोरोना भाइरस नियन्त्रण गर्न र थप बढ्न नदिनका लागि अस्पतालले सिकिस्तबाहेकका बिरामीलाई अस्पताल नआउन अनुरोध गर्दै मोबाइलबाटै चिकित्सकले परामर्श दिने सेवा सुरू गरेको हो ।

अस्पतालका नौ चिकित्सक, आकस्मिक, भर्ना कक्ष र व्यवस्थापन समितिका अध्यक्षको मोबाइलमा सम्पर्क गरेर बिरामी अथवा आफन्तले फोन गरेर चिकित्सकबाट परामर्श लिन पाउने व्यवस्था मिलाएको अस्पतालले जनाएको छ ।

अस्पतालले नियमित औषधि सेवा गर्ने बीमा गरेका सेवाग्राहीका लागि समेत अस्पतालको सेवा लिनका लागि समय तालिका बनाएर सार्वजनिक गरेको छ ।

बेनपाका वडा नं ७ र १ का बासिन्दाका लागि आइतबार, बेनपा-२, मालिका र मङ्गला गाउँपालिकालाई सोमबार, जलजला गाउँपालिका, बेनपा-४ र १० लाई मङ्गलबार, बेनपा-८ र ९ लाई बुधबार, बेनपा-४, ६ र धवलागिरि गाउँपालिकालाई बिहीबार तथा रगुगङ्गा, अन्नपूर्ण गाउँपालिका र बेनपा-५ लाई शुक्रबारको समय तालिका बनाइएको छ ।

अस्पतालमा भीडभाडका कारण कोरोना सङ्क्रमण फैलने जोखिम बढेकाले आकस्मिक र प्रसूतिबाहेकका सेवा बन्द गरेको छ । केही दिनयता म्याग्दीमा लक्षणसहितका कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो छ ।

बुधबार म्याग्दीका १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । रासस