अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्णस्वस्थ भएपछि सबै प्रश्नको स्पष्ट जवाफ दिनेछु : खिमविक्रम शाही

पूर्णस्वस्थ भएपछि सबै प्रश्नको स्पष्ट जवाफ दिनेछु : खिमविक्रम शाही


काठमाडौं- गण्डकी प्रदेश सभामा बुधबार भएको घटनाको सत्यतथ्य खुलेको छ । गण्डकी प्रदेश सरकारविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि मतदान हुने समयमा वेपत्ता हुनुभएका भनिएमा प्रदेशसभा सदस्य खिमविक्रम शाहीले सत्यतथ्य सार्वजनिक गर्नुभएको हो ।

आफू बिरामी भएका कारण अस्पताल गएको शाहीले बिहीबार विज्ञप्ति निकालेर जानकारी दिनुभएको छ । ठीक भएर फर्केपछि आफूबारे उठाएका प्रश्नको उत्तर दिने पनि उहाँले उल्लेख गर्नुभएको छ ।

‘पार्टीको निर्णय र संसदीय दलको बैठकमा गरिएको निर्णयमा मेरो पनि सहभागिता रहेका कारण ती निर्णयहरूप्रति मेरो पनि सहमति रहेकाले त्यस विषयमा पार्टी निर्णयप्रति प्रतिबद्वता कायमै छ’

प्रदेश सभा बैठकमा जाने तयारी गरिरहेकै बेला बिरामी भएकाले उपस्थित हुन नसकेको शाहीले स्पष्ट पार्नुभएको छ । ‘सदनमा जाने भनि तयारी अवस्थामा रहेको बेला अचानक बिरामी भई मेरो आफ्नै भाइलाई सम्पर्क गरेर आफ्नो स्वास्थ्य उपचारका लागि अस्पताल लैजाने क्रममा म बेहोस भएँछु, म अहिले उपचाररत छु,’ उहाँले लेख्नुभएको छ, ‘हाल मेरो स्वास्थ्यमा क्रमिक सुधार आएको महसुस गरेको छु, म थप स्वस्थ भए पछि मेरो बारेमा उठेका कयौं प्रश्नको बारेमा स्पष्ट गर्ने नै छु ।’

आफूबारे विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका खबरका आधारमा धारणा नबनाउन पनि शाहीले विज्ञप्तिमार्फत अनुरोध गर्नु भएको छ ।

पार्टी र संसदीय दलको बैठकले गरेका निर्णयमा आफू पनि सहभागी भएको र ती निर्णयमा आफ्नो सहमति कायम रहेको शाहीले उल्लेख गर्नुभएको छ । उहाँले विज्ञप्तिमा उल्लेख गर्नु भएको छ, ‘पार्टीको निर्णय र संसदीय दलको बैठकमा गरिएको निर्णयमा मेरो पनि सहभागिता रहेका कारण ती निर्णयहरूप्रति मेरो पनि सहमति रहेकाले त्यस विषयमा पार्टी निर्णयप्रति प्रतिबद्वता कायमै छ ।’

के थियो घटना?

बुधबार बसेको प्रदेशसभा बैठकमा राष्ट्रिय जनमोर्चाका सांसद् खिमविक्रम शाही उपस्थित हुनु भएन । सोही विषयलाई लिएर पूर्वाग्राही बन्दै सभामु नेत्रनाथ अधिकारीले प्रदेश सभा बैठक नै स्थगित गर्नुभयो । अविश्वास प्रस्ताव फेल हुने देखेपछि सभामुखले जानी जानी बैठक रोकेको एमालेको आरोप छ ।

जनमोर्चाकी सांसद पियारी थापाले त शाही वेपत्ता हुनुभएको भनेर प्रदेश सभामा निवेदन नै दिनुभयो । उहाँकै निवेदनका आधारमा सभामुख अधिकारीले प्रदेश सभा बैठक स्थगित गर्नुभयो । शाही अनुपस्थित भएपछि सरकार विरुद्धको अविश्वास प्रस्ताव पास गर्न आवश्यक मत नपुग्ने देखियो । त्यसपछि सभामुखले पूर्वाग्रह राखेर बैठक स्थगित गर्नुभएको थियो । सभामुखको सो कदममो चौतर्फी आलोचना भएको छ ।

शाहीलाई एमालेले अपहरण गरेको भनेर जनमोर्चाकी सांसद् पियारी थापासहित कांग्रेस र माओवादीले आरोप समेत लगाएका छन् । जनमोर्चा केन्द्रले समेत विज्ञप्ति निकालेर सो घटना अस्वभाविक भएको उल्लेख गरेको छ ।

त्यसो त गण्डकीको विषयमा जनमोर्चा केन्द्र एकातिर प्रदेश अर्कातिर छ । संसदीय दलका नेता कृष्ण थापाले समेत सरकार विरुद्ध अविश्वासको प्रस्तावमा मतदान गर्ने पार्टी निर्णयप्रति असहमति जनाउँदै आउनुभएको छ । तर, केन्द्रको निर्णय मान्नुपर्ने वाध्यता रहेको पनि उहाँले बताउनुभएको छ । गण्डकी प्रदेश सभामा जनमोर्चाका ३ जना सांसद् छन् । तीमध्ये बुधबारको बैठकमा शाही अनुपस्थित हुनुभयो ।

आफ्नो पक्षमा निर्णय नआउने देखेपछि सभामुखले बुधवारको बैठक स्थगित गर्नुभएको थापाले बताउनुभएको छ । स्वतन्त्र सांसद् राजिव गुरुङ पनि बुधबार बसेको प्रदेश सभा बैठकमा उपस्थित हुनुभएन ।