अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भेरी अस्पतालमा अक्सिजन अभाव हुन नदिन ट्यांक जडान

भेरी अस्पतालमा अक्सिजन अभाव हुन नदिन ट्यांक जडान


बाँके- पश्चिम नेपालको कोरोना उपचार केन्द्र बनेको नेपालगञ्जस्थित भेरी अस्पतालले अक्सिजन अभाव हुन नदिन अक्सिजन भण्डारण ट्याङ्क जडान गरेको छ ।

कोरोना महामारीका कारण अस्पतालमा अक्सिजन अभावको अवस्था आएपछि सो समस्यालाई दीर्घकालीनरुपमा समाधान गर्न अक्सिजन ट्याङ्क जडान गरिएको अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले जानकारी दिनुुभयो । रु ८२ लाखको लागतमा अक्सिजन लिक्युड ट्याङ्क जडान गरिएको हो । उक्त ट्याङ्कमा ३१ हजार लिटर अक्सिजन ग्यास भर्न सकिन्छ । अस्पतालको आफ्नै अक्सिजन प्लान्ट नभएकाले ट्याङ्कमा अक्सिजन भण्डार गरिनेछ ।

अक्सिजन आवश्यक पर्ने बिरामी थपिने क्रम बढेपछि अस्पताल प्रशासनले दीर्घकालीन समाधानको बाटो खोजेको हो । केही दिनभित्रै ट्याङ्क सञ्चालनमा आउने अध्यक्ष धितालले बताउनुभयो । अस्पतालको कोभिड वार्डमा बिरामीको चाप बढेसँगै अक्सिजनको माग पनि बढेको छ । दैनिक २५० देखि ३०० थान अक्सिजन सिलिन्डर खपत भइरहेको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा प्रकाश थापाले बताउनुभयो ।

सामान्य अवस्थामा अस्पतालमा दिनमा १० देखि १५ ठूला अक्सिजन सिलिन्डर मात्रै प्रयोग हुने गरेकामा कोभिडका धेरै बिरामीमा अक्सिजनको माग बढेकाले खपत बढेको हो । अस्पतालमा रहेका अधिकांश बिरामी अहिले अक्सिजनसहित उपचार कक्षमा छन् ।

एउटा अक्सिजन सिलिन्डरका लागि रु ९१५ खर्च हुन्छ । नेपालगञ्जमा दुई वटा मात्रै अक्सिजन सिलिन्डर आपूर्तिकर्ता छन् । ती दुवैले भारतको एउटै कम्पनीबाट तरल अक्सिजन आपूर्ति गरी सिलिन्डर भरेर नेपालगञ्जका विभिन्न अस्पतालमा दिने गरेका छन् ।

कोरोना भाइरस सङ्क्रमित बिरामीको शरीरमा अक्सिजनको मात्रा घट्दै जाँदा अक्सिजन दिएर बचाउन सकिने डा. थापाले बताउनुभयो । रासस