अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अभावका बीच संक्रमितको उपचार गर्दै महाकाली अस्पताल

अभावका बीच संक्रमितको उपचार गर्दै महाकाली अस्पताल


कञ्चनपुर- दोस्रो चरणको कोरोना भाइरसको संक्रमण समुदायमा फैलिएयता कञ्चनपुरको महेनद्रनगरस्थित महाकाली अस्पताल भरिभराउ छ ।

कोरोना बढ्दो चरणमा रहेसँगै अस्पतालमा दैनिक डेढ सयदेखि दुई सयजना शङ्कास्पद बिरामीहरु पिसिआर परीक्षणका लागि आउने गरेका छन् ।

भएको जनशक्ति पनि कोरोनाको चपेटामा परेपछि पनि अस्पतालले जेनतेन सङ्क्रमितको उपचारमा भने कमी गरेको छैन ।

‘चिकित्सकसहित ३३ जना अस्पतालका स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित भएका छन्,’ महाकाली अस्पताल समितिका अध्यक्ष कृष्णदत्त जोशीले भन्नुभयो, ‘तर पनि यहाँको स्वास्थ्यको टोलीले दिनरात नभनी बिरामीको सेवामा खटिएको छ ।’

उहाँले अस्पतालमा बिरामी राख्ने श्यया र अक्सिजन अभाव हुने गरेको बताउनुभयो । ‘यहाँ अक्सिजन प्लान्ट सानो छ दैनिक ६/७ वटा सिलिन्डर मात्रै भर्न भ्याउँछ,’ अध्यक्ष जोशीले भन्नुभयो, ‘अक्सिजन र आकस्मिकका सबै श्यया सङ्क्रमितले भरिएपछि अस्पतालको बाहिर पनि सङ्क्रमित राखेर उपचार गर्नुपरेको छ ।’

अस्पतालका अनुसार दोस्रो चरणको कोरोना कहरमा यहाँ २१ जनाको मृत्यु भइसकको छ । ६५ जना सङ्क्रमित उपचाररत रहेको अस्पतालमा पछिल्लो समय यहाँका व्यवसायी र सहयोगी दाताहरूको पहलमा अक्सिजन आयात हुँदा उपचारमा सहज भएको जोशीको भनाइ छ ।

यहाँ दुई दिनदेखि युवा व्यवसयी दिनेश मल्ल र सुशील श्रेष्ठले अस्पताललाई दैनिक ४० थानभन्दा बढी अक्सिजन सिलिन्डर निःशुल्क रुपमा उपलब्ध गराइरहेका छन् ।

त्यसैगरी, महाकाली अस्पतालका अस्पताल व्यवस्थापक दीपेन्द्रसिंह रावलले बुधबारदेखि दैनिक १५० जनाको कोरोना परीक्षण गर्ने बताउनुभयो । ‘हिजोअस्तिसम्म दिनमा ८० देखि एक सय जनासम्मको परीक्षण हुँदै आएको थियो,’ रावलले भन्नुभयो, ‘यहाँ आईसीयू भरिएपछि धनगढी, डडेल्धुरा र काठमाडौंसम्म बिरामी रिफर गरिए ।’

उहाँले अस्पतालमा कोरोना परीक्षणका लागि आउने ९० प्रतिशतमा सङ्क्रमण देखिने गरेको बताउनुभयो । ‘एम्बुलेन्स सञ्चालकहरू पनि बिरामी ओसार्न मानिरहेको अवस्था छैन,’ उहाँले भन्नुभयो, ‘यस्तो महामारीका बेला सबैको हातेमालो हुनु आवश्यक छ ।’ यहाँ अस्पतालमा उपचाररत केही बिरामीले अक्सिजन नपाएर पनि मृत्युवरण गर्नु परेको अस्पतालको भनाइ छ ।

अस्पताललाई स्थानीय दुई वटा सप्लार्यसले अक्सिजन दिँदै आएका छन् । ‘अस्पतालसित र हामीसित भएका सिलिन्डरहरु नेपालगञ्जमा भरेर यहाँ अस्पतालमा दिइरहेका छौँ,’ अक्सिजन बिक्रेता भवानी टे«डका सञ्चालक बिमल सिंहले भन्नुभयो, ‘सङ्क्रमणका बेला धेरै सिलिन्डरहरू निजी घरमा राखिँदा अस्पतालमा समस्या भएको हो ।’ उहाँले कोरोना कहरमा धेरैले सिलिन्डरहरू घरघरमा राख्दा अस्पताललाई अक्सिजन पुर्‍याउन समस्या भएको बताउनुभयो । ‘नयाँ सिलिन्डर खरीद गरेर ल्याउन अहिले समस्या छ,’ सिंहले भन्नुभयो, ‘धेरैले घरमै लुकाइदिँदा समस्या भयो ।’

अस्पताललाई यहाँको भीमदत्त नगरपालिकाले अक्सिजन र स्वास्थ्य उपकरण खरीदका लागि २० लाख रुपैयाँ र बेदकोट नगरपालिकाले रु १० लाख अक्सिजन खरिदका लागि प्रदान गरेको छ । त्यसका साथै यहाँका विभिन्न सहकारी र अन्य सङ्घ/संस्थाहरूले पनि अस्पताललाई सामग्री खरिदका लागि आर्थिक सहयोग गरिरहेको अस्पतालले जनाएको छ । रासस