अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

२७ गतेको गण्डकी प्रदेशसभा बैठक चल्दैन : सांसद पहारी

२७ गतेको गण्डकी प्रदेशसभा बैठक चल्दैन : सांसद पहारी


काठमाडौं- नेकपा एमाले गण्डकी प्रदेश सभाका सदस्य राजिव पहारीले सभामुखले नराम्रो नजिर बसालेकाले २७ गतेको संसद् अधिवेशन पनि नचेल्ने बताउनुभएको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको एमाले सरकार विरुद्धको अविश्वास प्रस्ताव माथि मतदान गर्न वैशाख २७ गते प्रदेश सभा बैठक बोलाउने सहमति भएको छ । तर, त्यो दिनको बैठक नचल्ने पहारीको भनाइ छ ।

अविश्वासको प्रस्ताव बैशाख १५ गते नै फेल भइसकेको उहाँको दावी छ । सांसद पहारीले भन्नुभयो, ‘गण्डकी प्रदेश सभामा सभामुखले संविधानमा नै नभएको अलोकतान्त्रिक नजिर बसाल्नुभयो, सरकारलाई असफल बनाउन आवश्यक मत नपुग्ने भएपछि मतदानको बेलामा प्रदेश सभा बैठक स्थगित गर्नुभयो, त्यसैले सरकार विरुद्धको अविश्वास प्रस्ताव सोही दिन असफल भइसक्यो ।’

कोभिड संक्रमण बढिरहेको बेला बैठक बोलाए सरकार विरोधी कदम चालिएको उहाँले आरोप लगाउनुभयो । ‘जनताहरूलाई २५ जना भन्दाबढी भिडभाड नगर भन्ने, नेताहरू सयौँ जना एक ठाउँमा भएर आफैँ नियम उल्लंघन गर्ने ? २७ गते अधिवेशन हुन सक्दैन, सरकार सुरक्षित छ,’ पहारीले भन्नुभयो ।

सभामुखलाई आफूखुसी मनलाग्दी गर्ने अधिकार नभएको पनि उहाँको भनाइ छ । ‘एक दुई जनालाई मुख्यमन्त्री बन्नुपर्‍यो भन्दैमा जति बेला पनि सरकार परिवर्तन हुन्छ र ? सभामुख पद भनेको आफैँ संविधान त होइन होला नि?,’ पहारीले प्रश्न गर्नुभयो ।

गण्डकीका सभामुख नेत्रप्रसाद अधिकारीले सभामुख पदको गरिमाकै अपमान गरेको सांसद पहारीको आरोप छ । ‘जे मन लाग्यो त्यही गरेर सभामुखले पदको दुरुपयोग मात्र होइन, बदनाम नै गर्नु भएको छ,’ आईएनए न्युज एजेन्सीसँगको कुराकानीमा उहाँले भन्नुभयो ।

सांसद पहारीका अनुसार गण्डकीमा २७ गते कोही सांसदद अनुपस्थित भए अधिवेशन स्थगित गर्नुपर्ने छ । ‘२७ गतेको अधिवेशनमा कोही अनुपस्थित भए भने सभामुखले त फेरि अधिवेशन स्थगित गर्नु पर्ला, त्यो खालको नजिर बसाल्नुभएको छ,’ उहाँले भन्नुभयो ।

संसदीय अंक गणितको विषयमा विपक्षी गठबन्धन पनि बहुमतमा नरहेको उहाँले दावी गर्नुभयो । ‘२८ जनाको हस्ताक्षर सहित अविश्वासको प्रस्ताव दर्ता भएको हो, बहुमतले त होइन, यसकारण उहाँहरुसँग स्पष्ट बहुमत छैन, हामी अन्य दलहरुसँग वार्तामा छौँ,’ सांसद पहारीले भन्नुभयो ।

गण्डकी प्रदेश सभामा सरकार विरुद्धको अविश्वास प्रस्ताव माथि मतदान गर्ने समयमा सरकार विरोधी कांग्रेस माओवादी गठबन्धनको पक्षमा बहुमत नपुग्ने भएपछि गत वैशाख १५ गते सभामुखले सूचना टाँस गरेर बैठक स्थगित गर्नुभएको थियो । राष्ट्रिय जनमोर्चाका एकजना सांसद् बैठकमा अनुपस्थित भएको कारण देखाउँदै बैठक स्थगित भएको थियो ।