अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दासढुंगा दुर्घटनाको त्यो गीति बयान (गीतसहित)

दासढुंगा दुर्घटनाको त्यो गीति बयान (गीतसहित)


घटना हो ५० साल जेठ ३ गतेको
दासढुंगा भन्ने ठाउँमा जीप खसेको
एमालेका नेता दुई मदन आश्रित चढेका
पोखराको भेलाबाट आउँदै गरेका’

चर्चित दासढुंगा दुर्घटनामा नेकपा एमालेका महासचिब मदन भण्डारी र संगठन विभागका प्रमुख जीवराज आश्रितको मृत्यु भएपछि रचना गरिएको यो गीतले दासढुंगा दुर्घटनापछि के–के भयो भनेर गीती लयमा बयान गरेको छ ।

घटनाको दुई महिना नबित्दै लोकगायक बमबहादुर कार्की र दामोदर घिमिरेले घटनाको बयान टिपोट गरेर यसलाई गीतीलयमा ढाल्नुभएको हो । गायिका बिमाकुमारी दुराका अनुसार दासढुंगा दुर्घटना भएको दुई महिनापछि अर्थात साउनमा यो गीत सार्वजनिक गरिएको थियो । म्यूजिक नेपालले निकालेको उक्त क्यासेट एमाले कार्यकर्ताहरुले मात्र हैन अन्य पार्टीका कार्यकर्ताले पनि दोहोर्‍याएर तेहर्‍याएर सुने त्यसबेला । त्यो गीत निस्किएपछि एमालेका हरेक कार्यक्रममा केही क्षण भए पनि उक्त गीत बजाएर मासलाई आकर्षित गर्नुपर्दथ्यो ।

गीतमा दासढुंगा दुर्घटना भएको समय २०५० साल जेठ ३ गते साँझ ५ बजे देखि नेताहरुको दाहसंस्कार नभएसम्मका दिनलाई सिलसिलेवार रुपमा प्रस्तुत गरिएको छ । त्यसबेला कुन नेताले के भने, कुन पत्रिकाले के लेखे, कुन नेताले आँसु झारे, कुन नेता मुर्छा परेर सबै कुराको जीवन्त वर्णन छ गीतमा । एमाले वृतमा कालजयी बनेर रहेको यो गीत आज पनि मौका पर्नासाथ धेरैले यूट्यूबमा खोजेर सुन्ने हेर्ने गरेका छन् ।

यो गीत सुनेपछि दासढुंगा दुर्घटना कसरी भएको थियो । कहिले भएको थियो,घटनापछि त्यसको छानबिनका लागि सरकारले पार्टीले के के ग¥यो सबै कुराको बेलिविस्तार सुन्न पाइन्छ । गीत सुन्दैमा पनि नेताहरु प्रतिको श्रद्धाले एमालेजनमा अहिले पनि हत्याराप्रति आक्रोस उत्पन्न हुन्छ,आफ्ना नेताहरुप्रतिको आगाध प्रेम छचल्किन्छ अनि उनै नेताहरुको स्मृतिमा एमालेजनले आँशु पनि बगाउँछन् ।

गीतबाटै थाहा हुन्छ दासढुंगा घटना हुनासाथ यसमा षडयन्त्रको गन्ध आएको थियो । गाडी त्रिसुलीमा डुबेर नेताहरु बेपत्ता हुँदा चालक अमर लामा जिवितै थिए । यस प्रसँगलाई गीतमा यसो भनिएको–

अचम्मै भयो के गरेर यस्तो घटना भएको
दुइटा नेता मर्दा पनि ड्राइभर बाँचेको ।’

त्यसबेला अहिले जस्तो सामाजिक सञ्जाल र मोबाइल फोनको सहजताको अवस्था थिएन । त्यसैले मानिसहरुले यस्ता घटना थाहा पाउन नेपाल टेलिभिजन वा रेडियो नेपालको भर पर्नुपर्थ्यो । यस घटनालाई रेडियो नेपालको राति साढे ९ बजेको समाचारमा प्रसारण भएपछि देशैभरी फैलिएको कुरा गीतमा बयान गरिएको छ–

‘हल्ला चल्यो सहरभरी अझै विश्वास लाएन
रेडियो नेपाल, बीबीसीले सुख पाएन ।
कैले आउला समाचार भनी कान थापेर
बसिहाले रेडियोलाई छेउमा राखेर
साढे नौ को समाचारमा रेडियोले फुकिगो
गाउँ गाउँ बस्ती बस्ती खबर पुगिगो ।’

यो गीत बमबहादुर कार्की, शिवा आले, लोचन भट्टराई, बिमाकुमारी दुरा, पवित्रा थापा मगरले गाउनुभएको हो ।