अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद् कांग्रेसको दादागिरी चल्ने ठाउँ हाेइन, विधि र प्रक्रियाले चल्नुपर्छ: अध्यक्ष ओली

संसद् कांग्रेसको दादागिरी चल्ने ठाउँ हाेइन, विधि र प्रक्रियाले चल्नुपर्छ: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संघीय संसद् नेपाली कांग्रेसको दादागिरी चल्ने ठाउँ नभएको बताउनुभएको छ।

बुधबार बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले सदन चल्न दिएन भनेर कांग्रेसले भ्रम फैलाएको बताउनुभयो।

कांग्रेसले एमालेका नेतामाथि मर्यादाहीन ढंगले आरोप उछालेको भन्दै उहाँले आक्रोश व्यक्त गर्नुभयो। अध्यक्ष ओलीले भन्नुभयो, ‘नेपाली कांग्रेसका मानिसहरु एमालेका नेतामाथि मर्यादाहीन ढंगले उच्श्रृंखल ढंगले आरोप उछालेर हिँड्ने गरेका छन् र अहिले भनिरहेका छन् संसद् चल्न नदिएको एमालेले गर्दा हो ? प्रधानमन्त्री पनि चलाउँ भन्नुभएको छ, रवि लामिछानेले आफैं पनि चलाऔं भन्नुभएको छ, एमालेले चलाउन दिएको छैन भनेर, चलाऔं भनिराखेका छौं हामी, तर कांग्रेसको दादागिरी चल्ने ठाउँ होइन संसद्। संसद् विधि र प्रक्रियाले चल्छ, लोकतान्त्रिक तरिकाले चल्नुपर्छ संसद्।’

कांग्रेस आफैंले आरोप लगाउने तर आरोपितलाई बोल्न नदिने काम कांग्रेसले गरिरहेको उहाँले बताउनुभयो। फलानो व्यक्ति अपराधी हो भनेर तोक्न कांग्रेस कुनै न्यायाधीश नभएको अध्यक्ष ओलीले बताउनुभयो। उहाँले भन्नुभयो, ‘सांसद्हरुले बोल्नै नपाउने, लोकतन्त्र भन्न अप्ठेरो लाग्दैन कांग्रेसलाई रुकसैमाथि आरोप लगाइएपछि त्यो सांसद् र मानीयले बोल्न पाउनुपर्छ, व्यक्ति तोकेर यस्तो संसदीय अभ्यास होइन, नेपाली कांग्रेसको कुन चाहिँ सांसद् न्यायाधीश हुन्छ फलानो अपराधी भनेर तोक्ने ? कसले फैसला गर्छ ? राजनीतिक अभिष्ट पूरा भएन स्वार्थ पूरा भएन भने अर्को अपराधी भइहाल्ने ? आफूतर्फ फर्किएन अपराधी भइहाल्ने ?’

मुद्दा खेपेका, भ्रष्टाचारी, अपराधी हो भनेर अदालतले फैसला गरेका सांसद्हरुलाई अघि सारेर कांग्रेसले संसद्‍मा नाराबाजी गरेका अध्यक्ष ओलीले बताउनुभयो। उहाँले भन्नुभयो, ‘कांग्रेसलाई लाजश्रम हुनुपर्छ, भ्रष्टाचारमा आरोपी ठहरिएका मान्छे भित्र ल्याएर नाराबाजी गर्ने, अर्को जसमाथि कुनै मुद्दा छैन उचाहिँ भ्रष्टाचारी हो छानबिन आयोग गठन गर रे, भ्रष्टाचारी ठहर भएकाले नारा लगाइराखेका छन्, नियम कानुन कांग्रेसले बुझेको छैन ?’

अरुमाथि आरोप लगाउने कांग्रेस स्वयम् अनेक आरोपका फाइल दबाउँदा हैरान भइरहेको बताउनुभयो। फाल्तु कुरा नगर्न र एमाले विरुद्ध जथाभावि आरोप नलगाउन उहाँले कांग्रेसलाई चेतावनी दिनुभयो।

देश अप्ठेरोमा, संकटमा रहेका बेला, राजनीति जटिल अवस्थामा रहेका बेला एउटा पार्टीको स्वार्थका लागि संसद् र देशलाई बन्दक बनाएर राख्न नसकिने अध्यक्ष ओलीले बताउनुभयो। उहाँले भन्नुभयो, ‘देश नाजुक अवस्थामा छ, अर्थतन्त्र नाजुक अवस्थामा छ, राजनीति जटिल अवस्थामा छ, यस्तो अवस्थामा एउटा पार्टीको संकिर्ण स्वार्थ, गुट स्वार्थ, सत्ता स्वार्थका लागि संसद् बन्धक बनाएर राख्ने र स्वेच्छाचारी ढंगले संसद् चल्ने, सभामुखले बोल्न समय दिँदा बोल्न दिन नपाइने यति अशिष्ट ढंगले प्रस्तुत हुने ?’

अध्यक्ष ओलीले कांग्रेस सांसद् गगन थापाप्रति लक्षित गर्दै कांग्रेसले सदनमा सभामुख विरुद्ध उदण्डता प्रदर्शन गरेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘सभामुखले मैले तपाइँलाई समय दिएँ भन्दा तपाइँको निगाहाको समय चाहिँदैन भनेर उदण्डतता प्रदर्शन गर्ने संसद्‍मा, सभामुखसँगको के भाषा हो त्यो रु सभामुखसँग त्यस्तो भाषा बोलेर संसद् चलाउन खोजेको हो कांग्रेसले रु कांग्रेस एकदलीय, एकाधिकारवादी, तानाशाही चलाउन खोज्छ कि बहुदलीय व्यवस्था चलाउन खोज्छ रु भिन्न विचार, भिन्न आस्था, भिन्न पार्टी, सहअस्तित्व र पारस्पारिक मर्यादा त्यो कुरा कांग्रेस बुझ्छ कि बुझ्दैन ?’

आफूहरु कांग्रेसले लोकतन्त्र किस्तीमा दिएर किस्ती स्वीकारेको नभएको भन्दै उहाँले बलिदान दिएर, संघर्ष गरेर, लोकतन्त्र ल्याएका मानिस भएको प्रष्ट पार्नुभयो । एमालेको विरुद्ध बोल्दा विचार पुर्‍याउन समेत अध्यक्ष ओलीले कांग्रेसलाई चेतावनी दिनुभयो। ‘हामी लोकतन्त्र कांग्रेसले किस्तीमा दिएर आहा लोकतन्त्र भनेर किस्ती स्वीकारेका मानिस होइनौं, बलिदान लिएर, संघर्ष गरेर लोकतन्त्र ल्याएका मानिस हौं, त्यसका लागि लडेर बलिदान दिएर आएका मानिस हौं, त्यसकारण एमालेको सम्बन्धमा बोल्दा टिप्पणी गर्दा विचार गरोस् कांग्रेसलेु, उहाँले भन्नुभयो।

गिरिबन्धु टीस्टेटका विषयमा आएको फैसला अपरिपक्क भएको भन्दै उहाँले आफूहरुले यसमा कानुन बनाउने काम मात्र गरेको प्रष्ट पार्नुभयो। ५१ र १९ गरेर ७० विघा जमिन कमिशन खाएर बेच्न दिएको कुरा यसमा समावेश हुनुपर्ने अध्यक्ष ओलीले बताउनुभयो।

कांग्रेसका बद्‍मासीहरुको पर्दाफास गरिने भन्दै उहाँले कांग्रेसको बकबास अब नचल्ने बताउनुभयो। सत्ता नपाएको झोंकमा कांग्रेसले अनेक विषय निकालिरहेको उहाँले बताउनुभयो । कांग्रेसले संसद्, सांसद् र देशको बहुमूल्य समय कुण्ठाग्रस्त भएर खेर फालिरहेको भन्दै उहाँले सदन सुचारु गर्न कांग्रेसलाई आग्रह गर्नुभयो।