अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लुम्बिनी प्रदेश : संक्रमितको उपचार सहज बन्दै, भेरीमा भण्डारण गरियो लिक्विड अक्सिजन

लुम्बिनी प्रदेश : संक्रमितको उपचार सहज बन्दै, भेरीमा भण्डारण गरियो लिक्विड अक्सिजन

रासस
0
Shares

बुटवल- कोरोना सङ्क्रमितको उपचारलाई सहज बनाउन बनाउन लुम्बिनी प्रदेशमा अक्सिजनको आपूर्ति शय्या थप गर्ने कार्यलाई प्राथमिकता दिइएको छ ।

अक्सिजन र शय्याको अभावमा उपचार सेवा प्रभावित भएपछि यी काम अघि बढाइएको हो । भैरहवास्थित भीम अस्पतालको नवनिर्मित आकस्मिक कक्षमा लिफ्ट सहित १५ वटा शय्या सञ्चालनमा ल्याइएको छ ।

लीलाराम कुन्तिदेवी न्यौपाने प्रतिष्ठानको सहयोगमा निर्मित लीलाराम न्यौपाने आकस्मिक कक्षमा तीन वटा आइसियुसहित १५ वटा शय्या सञ्चालनमा ल्याइएको हो । हाल जडित तीन वटा आइसियु वेड मध्ये २ वटामा जर्मन टेक्नोलोजीको भेन्टिलेटर, र १२ वटा वेड एचडियु अक्सिजन पाइपलाइन र मोनिटर सहितको रहेको प्रतिष्ठानका सचिव विष्णु न्यौपानेले जानकारी दिनुभयो । दुई तले अत्याधुनिक भवन स्वास्थ्य मन्त्रलायको मापदण्ड अनुसार निर्माण गरिएको छ ।

यसैबिच रुपन्देहीमा कोरोना सङ्क्रमण हुनेको भन्दा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या बढ्दो छ । रुपन्देहीमा पछिल्लो २४ घण्टामा तीन सय ६१ जना कोरोना सङ्क्रमित थपिँदा सात ७८ जना सङ्क्रमणमुक्त भएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीका विभिन्न प्रयोगशालामा आठ सय ८८ पिसिआर परीक्षण गर्दा तीन सय ६१ जनामा कोरोना पुष्टि भएको हो । एन्टिजेन परीक्षण तर्फ दुई हजार चार सय ५० जनाको परीक्षण गर्दा नौ सय ९० जनामा रिपोर्ट पोजेटिभ देखिएको छ । जिल्लामा थप पाँच ५ जनाको मृत्यु भएको छ ।

भेरीमा भण्डारण गरियो लिक्विड अक्सिजन

पश्चिम नेपालमै कोरोना उपचार केन्द्र बनेको नेपालगञ्जस्थित भेरी अस्पतालमा जडान गरिएको अक्सिजन ट्याङकमा आज लिक्विड अक्सिजन भण्डारण गरिएको छ ।

अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित विरामीलाई अक्सिजन अभाव हुन नदिन जडान गरिएको अक्सिजन ट्याङ्कमा लिक्विड अक्सिजन भण्डारण गरिएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. प्रकाश थापाले बताउनुभयो ।

उहाँका अनुसार भारतबाट आज दिउँसो आइपुगेको ‘अक्सिजन लिक्विड’ बोकेको ट्याङकरबाट अस्पताल परिसरमा जडान गरिएको ट्याङ्कमा लिक्विड अक्सिजन भण्डारण गरिएको हो । ट्याङकरमा आएको २० हजार लिटर ‘लिक्विड अक्सिजन मध्ये १० हजार लिटर भेरी अस्पतालको ट्याङ्कमा भण्डारण गरिएको छ भने बाँकी १० हजार लिटर नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको लागि पठाइएको छ ।

अस्पतालको अक्सिजन ट्याङ्कमा अक्सिजन भण्डारण भएपछि कोरोनाका बिरामीलाई उपचार गर्नमा अव सहजता हुने डाक्टर थापाको भनाई छ । कोरोना दोस्रो लहरमा विरामीलाई अक्सिजन अभाव भएपछि भेरी अस्पतालमा २० हजार लिटर अक्सिजन लिक्विड भण्डारण क्षमताको अक्सिजन ट्याङ्क जडान गरिएको हो ।

कोरोना महामारीका कारण अस्पतालमा अक्सिजन अभावको अवस्था आएपछि यो समस्यालाई दीर्घकालिन रुपमा समाधान गर्न अक्सिजन ट्याङ्क जडान गरिएको अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले बताउनुभयो ।

भेरी अस्पतालको कोभिड वार्डमा बिरामीको चाप बढेसँगै अक्सिजनको माग पनि बढेको छ । भेरी अस्पतालमा दिनमा २ सय ५० देखि ३ सय थान अक्सिजन सिलिन्डर खपत भइरहेको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. थापाले बताउनुभउो ।

उहाँका अनुसार, सामान्य अवस्थामा अस्पतालमा दिनमा १० देखि १५ वटा ठूला अक्सिजन सिलिन्डर मात्रै प्रयोग हुने गरेकोमा कोभिडका धेरै बिरामीमा अक्सिजनको माग बढेकाले खपत पनि बढेको हो । अस्पतालमा रहेका अधिकांश बिरामी अहिले अक्सिजनसहित उपचार कक्षमा छन् ।

एउटा अक्सिजन सिलिन्डरका लागि रु. ९ सय १५ खर्च हुन्छ । नेपालगञ्जमा दुई वटा मात्रै अक्सिजन सिलिन्डर आपूर्तिकर्ता छन् । ती दुवैले भारतको एउटै कम्पनीबाट तरल अक्सिजन आपूर्ति गरी सिलिन्डर भरेर नेपालगञ्जका विभिन्न अस्पतालमा दिने गरेका छन् । कोरोना भाइरस सङ्क्रमित बिरामीको शरीरमा अक्सिजनको मात्रा घट्दै जाँदा अक्सिजन दिएर बचाउन सकिने डा। थापाले बताउनुभयो ।

कोरोना नियन्त्रणमा रामपुर नगरपालिकाको सहयोग

पाल्पाको रामपुर नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि तत्कालको लागि रु।१० लाख सहयोग गर्ने भएको छ । कोभिड नियन्त्रण तथा उपचार व्यवस्थापनको लागि जिल्लाको कोभिड प्रयोगशाला तथा रामपुर अस्पताललाई रु। पाँच/पाँच लाख उपलब्ध गराउने भएको हो ।

कोरोना भाइरसको बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य सङ्कटको परिस्थितिमा आर्थिक अभावका कारण थप जोखिम नभित्रियोस् भनेर सहयोग गर्ने निर्णय भएको रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले बताउनुभयो ।

जिल्लामा कोरोनाका बिरामी बढ्दो क्रममा रहेको र विभिन्न अस्पतालमा आर्थिक अभावका कारण अक्सिजन लगाएतका स्वास्थ्य सामग्री र उपकरण अभाव नहोस् भनेर नगरपालिकाले सहयोग गरेको नगरप्रमुख थापाले बताउनुभयो ।