अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भूकम्प प्रभावित जिल्लामा इन्टरनेट क्षमता वृद्धि हुन्छ : मन्त्री गुरुङ

भूकम्प प्रभावित जिल्लामा इन्टरनेट क्षमता वृद्धि हुन्छ : मन्त्री गुरुङ


काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले भूकम्पबाट अतिप्रभावित आठ जिल्लामा ब्रोडब्याण्ड इन्टरनेटको क्षमता अभिवृद्धि गरिने बताउनुभएको छ ।

उहाँले डिजिटल नेपालको आकांक्षा पूरा गर्ने उद्देश्यका साथ दोलखा, रामेछाप, सिन्धुली, ओखलढुङ्गा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा र नुवाकोट जिल्लाका स्थानीय तह र वडा कार्यालय, सामुदायिक माध्यमिक विद्यालय र स्वास्थ्य संस्थामा ब्रोडब्याण्ड इन्टरनेट सेवा पुर्‍याउन नेपाल दूरसञ्चार प्राधिकरण र स्थानीय तहबीच सम्झौता हुने तयारी भइरहेको जानकारी दिनुभयो ।

सञ्चार मन्त्रालयद्वारा यहाँ आज स्थानीय तहमा इन्टरनेट पुर्‍याउनेबारे तिनका प्रतिनिधिसँगको छलफलमा मन्त्री गुरुङले सबै जिल्लाका स्थानीय तहसम्म इन्टरनेट पुर्‍याइने उद्देश्यानुसार आठ जिल्लाबाट सुरू गर्न थालिएको बताउनुभयो ।

विसं २०७७ माघ २९ को मन्त्रिपरिषद्को बैठकले दूरसञ्चार नीति, २०६० तथा डिजिटल नेपाल फ्रेमवर्कअन्तर्गत नेपालका सबै जिल्लामा आवश्यकता र प्राथमिकताका आधारमा विद्यार्थी सहजीकरण निर्देशिका, २०७७ लाई ध्यानमा राखी सेवामा दोहोरो नपर्ने गरी निर्देशिकानुसार प्रयोग गरिएको इन्टरनेट सेवासँग आबद्ध हुने गरी सामुदायिक विद्यालयबाट शुरु गरेर क्रमशः सबै स्थानीय तहका केन्द्र र वडा कार्यालय, स्वास्थ्य केन्द्र जस्ता क्षेत्रमा सम्बन्धित स्थानीय तहका समन्वयमा सूचना प्रबिधिको पूर्वाधार निर्माणको विस्तार गर्ने व्यवस्था मिलाइने निर्णय गरेको थियो ।

सोही निर्णयानुसार प्राधिकरणअन्तर्गतको ग्रामीण दूरसञ्चार विकास कोषका सहयोगमा ती जिल्लाका स्थानीय तहमा दुई वर्षका लागि निःशुल्क इन्टरनेट पुर्‍याउने तयारी गरिएको हो ।

मन्त्रिपरिषद्का निर्णयमा भनिएको थियो, ‘भूकम्प अतिप्रभावित काठमाडौं उपत्यकाबाहेकका ११ जिल्लाहरुमा नवीनतम प्रविधिमार्फत मितव्ययी रुपमा सम्बन्धित स्थानीय तहको समन्वयमा इन्टरनेट सेवाको क्षमता अभिवृद्धि गर्ने ।’

स्थानीय तह र प्राधिकरणबीच सम्झौता गरेर अबको दुई महिनाभित्र ती तहसम्म इन्टरनेट पुर्‍याउने योजना रहेको मन्त्री गुरुङको भनाइ थियो ।