अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चालू अधिवेशनमै प्रदेशको नाम राख्नुपर्छ : मुख्यमन्त्री राई

चालू अधिवेशनमै प्रदेशको नाम राख्नुपर्छ : मुख्यमन्त्री राई


विराटनगर- मुख्यमन्त्री शेरधन राईले बजेट अधिवेशन अन्त्य गर्नु अगाडि नै प्रदेशको नामाकरण गर्नुपर्ने बताउनुभएको छ ।

आइतबार प्रदेशसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम माथि उठेका प्रश्नहरूको जवाफ दिँदै उहाँले नीति कार्यक्रम पारित भएलगतै प्रदेश नामाकरणको प्रकृयामा अगाडि बढ्नुपर्ने बताउनुभएको हो ।

नीति तथा कार्यक्रममाथि छलफल हुँदा विपक्षी सांसदहरूले साढे तीन वर्षको अवधिमा पनि प्रदेशको नामाकरण हुन नसकेको भन्दै सरकारको आलोचना गरेका थिए ।

मुख्यमन्त्री राईले त्यसलाई स्पष्ट पार्दै संसदको जारी अधिवेशनबाटै नामाकरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि विपक्षी तीन राजनीतिक दलहरुले छुट्टाछुट्टै संशोधन प्रस्ताव पेश गरेका थिए ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका तर्फबाट प्रदेशसभा सदस्य शेखरचन्द्र थापाले नीति तथा कार्यक्रममा संशोधन पेश गर्दै वार्षिक वृद्धिदर ३.६ प्रतिशत प्रक्षेपण भएकोमा त्यसलाई १.६ प्रतिशतमा झार्न माग गर्नुभएको थियो ।

जवाफमा मुख्यमन्त्री राईले राष्ट्रिय तथ्यांक विभागबाट प्राप्त तथ्यांकका आधारमा अनुमान गरिएकोले संशोधन गर्न जरुरी नभएको बताउनुभयो ।