अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले एकतामा कालो बादल, छिनोफानो मिति असार ८ गते

एमाले एकतामा कालो बादल, छिनोफानो मिति असार ८ गते


काठमाडौं– एमालेमा सहमतिको विन्दु पहिचान गर्ने समय घर्किदै जाँदा पनि त्यस्तो विन्दु नभेटिएपछि कार्यकर्तामा निराशा पैदा भएको छ । यसअघिका कार्यदलका औपचारिक र अनौपचारिक बैठकले उत्साहित भएका एमालेजन तीन दिन यताको सन्नाटाबाट पार्टीमा सहमतिको सम्भावना सकिएको हो कि भन्ने निष्कर्षमा पुगेका छन् ।

कार्यदल तहमा पटक–पटक भएका बैठक, प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले औपचारिक र अनौपचारिक रुपमा जनाएका प्रतिबद्धताका बाबजुद पनि माधव नेपाल पक्ष टसमस नभएपछि एमालेमा सहमति भन्दा दरारकै सम्भावना बढी देखिएको छ । माधव पक्ष हेर्दा लचिलो तर व्यवहारमा कडाइका साथ प्रस्तुत हुने गरेको वार्तामा सहभागी नेताहरु बताउँछन् । यस कुरालाई जेठ २ मा फर्कने प्रधानमन्त्रीको प्रतिबद्धतालाई पनि माधव पक्षले बेवास्ता गरेको व्यवहारबाट स्पष्ट छ । नेपाल पक्षले जेठ २ मा फर्केमा सहमति हुन्छ भन्ने कुरा केवल ‘पब्लिक कन्जम्सन’का लागि मात्र हो भन्ने कुरा प्रष्टै भइसकेको छ । ‘उहाँहरुको खास माग भनेको केपी शर्मा ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट फिर्ता ल्याउने हो,’ संस्थापन पक्षका कार्यदलका एक सदस्य भन्नुहुन्छ, ‘दुइटैबाट नसके प्रधानमन्त्रीबाट राजीनामा गराउने हो । जेठ दुईमा फर्कनु पर्छ भन्ने त भन्ने कुरा मात्र हो ।’

संस्थापन कार्यदलका ती सदस्यका अनुसार ‘प्रधानमन्त्रीले राजीनामा दिनुहुन्छ’ भन्ने वचन पाउने हो भने माधव नेपालले जेठ २ को हठलाई त्यही बेला नै त्यागिदिनुहुन्छ । प्रधानमन्त्री हट्ने सर्तमा जेठ २ को रटान छोडिदिने र पार्टीमा अहिले जे जस्तो कमिटी संरचना छ त्यसैलाई निरन्तरता दिंदा पनि केही फरक नपर्ने माधव पक्षको भित्री चाहना छ । ‘माधव कमरेडको व्यक्तिगत कुण्ठा, प्रधानमन्त्री र उहाँबीचको विगतको मनमुटाव अहिले आएर एकैचोटी प्रकट भएको छ,’ एमालेका एक नेता भन्छन् ‘उहाँहरुको दुस्मनीको शिकार सारा पार्टी पंक्ति हुनेवाला छ ।’

नेपाल पक्षले जेठ २ मा फर्केमा सहमति हुन्छ भन्ने कुरा केवल ‘पब्लिक कन्जम्सन’का लागि मात्र हो भन्ने कुरा प्रष्टै भइसकेको छ । ‘उहाँहरुको खास माग भनेको केपी शर्मा ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट फिर्ता ल्याउने हो,’ संस्थापन पक्षका कार्यदलका एक सदस्य भन्नुहुन्छ, ‘दुइटैबाट नसके प्रधानमन्त्रीबाट राजीनामा गराउने हो । जेठ दुईमा फर्कनु पर्छ भन्ने त भन्ने कुरा मात्र हो ।’

माधव पक्षले चाँही सहमतिका लागि निर्माण हुँदै गरेको वातावरण प्रधानमन्त्री पक्षबाटै बिथोलिएको आरोप लगाएको छ । कर्णालीका चार सांसदलाई सर्वोच्च अदालतले बहाली गरेको निर्णय विरुद्ध प्रधानमन्त्री ‘भ्याकेट’मा गएपछि सहमतिको सम्भावना करिब सकिएको रुपमा बुझेको छ । ‘हदैसम्मको लचकता अपनाइयो । आशा पनि पलाएको थियो’ नेपाल पक्षको कार्यदलका एक सदस्यले नेपाली बहस डट कमसँग कुरा गर्दै भन्नुभयो ‘हिजो भ्याकेट हालेपछि स्थिती बिग्रियो ।’ ती सदस्यको भनाइमा सर्वोच्च अदालतमा देउवालाई प्रधानमन्त्री बनाउने गरी गरिएको हस्ताक्षर फिर्ता गर्ने विषयमा आफ्नो समूहमा छलफल भइरहेकै बेला प्रधानमन्त्रीबाट भ्याकेट हालेपछि त्यो सम्भावना पनि टर्‍यो । संस्थापन पक्षले आज र भोली पनि एक्ला एक्लै अथवा सामुहिक रुपमा कार्यदलमा छलफल हुनसक्छ भनेपनि माधव पक्षले यो तर्कलाई इन्कारेको छ ।

संस्थापन पक्षले भोलि ८ गते साँझसम्म देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चमा बुझाएको हस्ताक्षर फिर्ता भएको विज्ञप्ती जारी गर्नुपर्ने शर्त राखेको छ । माधव पक्षका २१ जना सांसदले हस्ताक्षर फिर्ताको विज्ञप्ती जारी गर्ने वा अदालतमा गएरै निवेदन दिने हो भने सर्वोच्च दबाबमा पर्न सक्छ भन्ने बुझाइ संस्थापनको छ । नाम उल्लेख नगर्ने शर्तमा माधव पक्षको कार्यदलका एक सदस्य भन्छन् ‘भ्याकेटमा जान मन थियो भने पनि हप्ता १० दिन ढिला गरेको भए के हुन्थ्यो ?’

माधव पक्षका नेताहरू अब अध्यक्ष ओलीसँग सहमति गरेर जान सकिदैन भन्ने निष्कर्षमा करिब पुगेका छन् । ‘अब धेरै गाह्रो छ । हाम्रो हदैसम्मको लचकताले न संस्थापनसँग सहमति बनाउन सकियो न आफ्नो समूहमा विश्वासिलो हुन सकियो,’ नेपाल पक्षका एक नेताको भनाइ छ ।

कार्यदल तहमा सहमतिका लागि बैठक, छलफल भइराख्दा पनि माधव नेपालले कांग्रेस सभापति शेरबहादुर देउवाको बलेंसी धाउन छोड्नु भएन । त्यस क्रममा कहिले आफ्नै घरमा देउवा र प्रचण्डलाई स्वागत गर्ने तर कहिले आफू उहाँहरुको धाउने क्रमलाई उहाँले निरन्तरता दिइरहनुभयो । यसबाट संस्थापन पक्ष थप निरुत्साहित बनेको छ । पार्टी भित्रका हरेक विवादमा सहमतिका सुत्राधार भनेर चिनिएका नेता उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सहमतिको सम्भावना सकिएको बताउन थाल्नु भएको छ । आफू निकट नेता कार्यकर्तासँग उहाँले हिजै मात्र पनि यस्तै निराशाभाव प्रस्तुत गर्नुभएको एक नेताले जानकारी दिनुभएको छ ।

सधैं उत्साही र आशावादी रुपमै प्रस्तुत हुने संस्थापन पक्षको कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङले सहमतिका प्रयास जारी भए पनि सार्थक हुने नहुने ठेगान नभएको बताउन थाल्नुभएको छ । ‘माधव कमरेडका भेटघाट र प्रतिवद्धताहरु तपाईंहरुले देखिरहनु भएकै छ । सुनिरहनु भएकै छ,’ नेपाली बहस डट कमसँग कुरा गर्दै नेम्वाङले भन्नुभयो, ‘उहाँका ती व्यवहारले के कुराको संकेत गरेको छ । त्यो पनि थाहा पाइरहनु भएकै छ । ’

‘हामी निरन्तर पार्टी बनाउनु पदर्छ भन्ने लाइन मै छौं । एकथरी साथी निरन्तर भत्काउनै पर्छ भन्ने लाइनमा हुनुहुन्छ’ नेम्वाङ भन्नुहुन्छ, ‘अन्तिम अवस्थासम्म पार्टीलाई एक ढिक्का बनाउन चाहनेहरुको प्रयास जारी नै रहन्छ ।’

स्रोतका अनुसार संस्थापन पक्षको कार्यदलका अरु नेताहरु थाके पनि नेम्वाङर्क जोडबलमा पछिल्ला वार्ताहरु भइरहेका छन् । तर अब नेम्वाङ पनि सहमति गराउन सकिन्छ भन्ने विन्दुबाट पछाछि सर्दै हुनुहुन्छ ।

संस्थापन पक्षका तेस्रो तहका नेताहरुले भोलि ८ गते साँझसम्ममा सर्वोच्चमा दिएको हस्ताक्षर फिर्ता भएको सार्वजनिक नगरे सहमति, वार्ता र कार्यदलको औचित्य सकिने बताएका छन् । उनीहरुले यो अन्त्यहिन र पट्यारलाग्दो ‘चिया गफ’ गरेर समय वर्वाद नगर्न नेतृत्वलाई चेतावनी दिएका छन् । ‘पार्टी छ, चुनाव चिन्ह छ, संगठन छ, कार्यकर्ता छन्, मतदाता छन्,’ संस्थापन तेस्रो पुस्ताका एक नेताको भनाइ छ ‘कोही चोइटिएर जान्छन् भने छोडिदिऊँ । मेहनत गरौं जनतामा जाउँ । कुरा बुझाऔं । कार्यकर्ता र मतदाताले दुधको दुध पानीको पानी छुट्याउने दिन आइहाल्छ ।’

संस्थापन पक्षका नेता गोकुल बास्कोटाले पनि एमाले सहमतिको सम्भावना करिव करिव सकिएको संकेत गर्दै अब टुंगोमा पुग्नुपर्नेमा जोड दिनुभएको छ ।