अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नयाँ बन्ने भौतिक संरचना अपाङ्गमैत्री हुनेछन् : अर्थमन्त्री शर्मा

नयाँ बन्ने भौतिक संरचना अपाङ्गमैत्री हुनेछन् : अर्थमन्त्री शर्मा


काठमाडौं– सरकारले आगामी दिनमा निर्माण गर्ने भौतिक संरचना अपाङ्गमैत्री बनाउने दृढता व्यक्त गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज मन्त्रालयमा स्पाइनल कर्ड इन्ज्युरी नेटवर्क नेपालका प्रतिनिधिसँगको भेटघाटमा सार्वजनिक संरचना अपाङ्गमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

नेटवर्कका प्रतिनिधिले सार्वजनिकस्थल अपाङ्गमैत्री नभएको, तीनपाङ्ग्रे सवारीसाधन आयातमा कर छुट, स्पाइनल इन्ज्युरीका कारण अपाङ्गता भएकाका लागि आवश्यकपर्ने स्वास्थ्य सामग्री सहज रुपले उपलब्ध हुनुपर्नेलगायतका माग राख्ख्नुभएको थियो ।

उहाँहरुले शर्मा गृहमन्त्री हुँदा अपाङ्गता भएकाका लागि महत्वपूर्ण सहयोग प्राप्त भएको स्मरण गर्दै अब पनि माग सम्बोधन हुने आशा व्यक्त गर्नुभएको छ ।

प्रतिनिधिमण्डलको आग्रहअनुसार पुराना संरचनालाई भत्काएर अपाङ्गमैत्री बनाउन नसके पनि अब बन्ने संरचना अपाङ्गमैत्री बनाइने आश्वासन मन्त्री शर्माले दिनुभएको उहाँको सचिवालयले जनाएको छ । उहाँले घाइते तथा अपाङ्गता भएकाको समस्या सम्बोधन हुने गरी नीतिगत समाधान निकाल्ने कोशिस भइरहेको जानकारी दिनुभयो ।