अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तेस्रो एनपीएल आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

तेस्रो एनपीएल आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै


काठमाडौं-नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।

लुम्बिनी र सुदूरपश्चिमबीचको उद्घाटन खेल आज अपराह्न ४:३० बजे सुरु हुने तालिका छ। गत संस्करणको फाइनलमा सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले उपाधि जितेको थियो। यसपटक उद्घाटन खेलमै दुवै टोली आमनेसामने हुन लागेकाले प्रतिस्पर्धा रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

प्रतियोगितामा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स गरी आठ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। सिंगल राउन्ड रोबिन प्रणालीमा सञ्चालन हुने प्रतियोगिता लिग चरणपछि इलिमिनेटर र क्वालिफायर हुँदै मंसिर ५ गते हुने फाइनलसँगै समापन हुनेछ। प्रतियोगिताका सबै खेलको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्नेछ।

क्यानले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। यस संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले मान्यता दिएको छ। प्रतियोगितामा अस्ट्रेलियाका पूर्वकप्तान डेभिड वार्नर, वेस्ट इन्डिजका आन्द्रे रसेल, श्रीलंकाका एन्जेलो म्याथ्युज, दक्षिण अफ्रिकाका डेभिड मिलर, इंग्ल्यान्डका मोइन अली तथा जिम्बाबेका सिकन्दर राजालगायत चर्चित विदेशी खेलाडीको सहभागिता रहनेछ। विदेशी खेलाडीको उपस्थितिले प्रतियोगिताको प्रतिस्पर्धात्मक स्तर र आकर्षण बढाउने अपेक्षा गरिएको छ।

यस संस्करणको एनपीएलमा पहिलोपटक डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रयोग गरिनेछ। अम्पायरको निर्णयमा पुनरावलोकन आवश्यक परेको अवस्थामा यो प्रविधिको सहायता लिइनेछ। एलबीडब्लू, रनआउट, स्टम्पिङ, फ्रन्टफुट नोबल र वाइडसम्बन्धी निर्णयमा प्रविधि प्रयोग गरिनेछ। साथै, छक्काको दूरी र उचाइ मापन गर्न पनि प्रविधिको प्रयोग हुनेछ। प्रतियोगिताको नियमअनुसार प्रत्येक टोलीले एक इनिङ्समा दुईवटा रिभ्यु लिन पाउने व्यवस्था गरिएको छ।

क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काका अनुसार प्रतियोगिताको विजेताले एक करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ पाउनेछन्। अघिल्लो संस्करणमा विजेता लुम्बिनीले एक करोड १० लाख रुपैयाँ पुरस्कार पाएको थियो। यसपटक पुरस्कार राशि बढाइएको हो।

तेस्रो संस्करणको एनपीएलले नेपाली क्रिकेटको विकास, घरेलु खेलाडीको क्षमता अभिवृद्धि तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली क्रिकेटको पहिचान विस्तारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।