अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुस्ताङमा ‘यार्तुन’ पर्व मनाउन सुरू

मुस्ताङमा ‘यार्तुन’ पर्व मनाउन सुरू


मुस्ताङ– जिल्लाको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा यार्तुन पर्व मनाउन शुरु भएको छ । बर्खा सकिएर हिउँद शुरु भएको सन्देश दिने यार्तुन पर्वलाई उपल्लो मुस्ताङका बासिन्दाले महत्वका साथ मनाउँछन् । कोरोना (भाइरस)को महामारीको जोखिमका कारण यस वर्ष औपचारिकरूपमा मात्रै यार्तुन मनाइरहेका छन् ।

लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्ट (राजु) ले परम्परालाई निरन्तरता दिन औपचारिकताका लागि यार्तुन मनाउन लागिएको बताउनुभयो । ‘विगतका वर्षमा यार्तुनमा स्वदेशी पाहुना र पर्यटक पनि आउँथे,’ उहाँले भन्नुभयो, ‘यसपालि कोरोनाको जोखिमलाई मध्यनजर गरेर परम्परालाई निरन्तरता मात्र दिइएको छ ।’

हरेक वर्षको साउन महिनाको अन्तिम सोमबारदेखि शुरु हुने उपल्लो मुस्ताङको यार्तुन पर्व तीन दिनसम्म मनाउँछन् । रोगव्याधि नलागोस्, अनिष्ठ नहोस्, अन्नबाली र व्यापार व्यवसाय राम्रो होस् भन्ने कामना गरेर यार्तुन मनाउने चलन छ । अग्रज र मान्यजनबाट आर्शिवाद लिने, नाचगान तथा घोडा घौडाएर यार्तुन मनाउने गरिन्छ । उपल्लो मुस्ताङका सांस्कृतिक राजा जिग्मे परवल बिष्ट र रानी धोर्जे याङ्जी बिष्ट पछिल्लो दुई वर्षको यार्तुनमा सहभागी हुनु भएको छैन ।

काठमाडौंमा रहनुभएका विष्ट दम्पती कारोनाका कारण यार्तुनमा सहभागी नहुनुभएको हो । खेतीबाली लगाउने र थन्क्याउने काम सकेपछि यार्तुन मनाउने चलन छ । यार्तुन मनाएपछि त्यहाँका बासिन्दा जाडो छल्न र घुम्ती व्यापारका लागि पहाडी तथा तराई क्षेत्रमा जाने गर्छन् ।