अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले विभाजनको जड : केपी ओलीलाई नेता मान्ने कि प्रचण्डलाई ?

एमाले विभाजनको जड : केपी ओलीलाई नेता मान्ने कि प्रचण्डलाई ?


नेकपा एमालेबाट सानो हिस्सा बाहिरिएको छ । तर, अचम्म यसपल्ट एउटा कम्युनिष्ट पार्टी टुक्रिएर दुईवटा कम्युनिष्ट पार्टीहरू बनेनन् । विभाजनपछि पनि मूल पार्टी कम्युनिष्ट पार्टीका रूपमा रहे पनि विभाजनबाट बनेको अर्को पार्टी समाजवादी प्रवृत्तिको हुने भएको छ । यसबाट प्रष्ट हुन्छ, माधवकुमार नेपालले नेतृत्व गरेको नयाँ दल अब कम्युनिष्ट पार्टी होइन समाजवादी केन्द्र निर्माण गर्ने अभियान अन्तरगतको एउटा कदम मात्र भएको छ । किनकि समाजवादी पार्टी बनाउन यति मरिहत्ते गर्नुपर्ने थिएन । एमालेले सिद्धान्तका रूपमा मान्दै आएको जनताको बहुदलीय जनवादलाई नमानी नयाँ पार्टीले गन्तव्य बनाएको देखियो । जुन गन्तव्य समाजवादी केन्द्र निर्माण गर्ने अभीष्टबाट प्रेरित रहेको देखिन्छ । संयोग नै भनौं भदौ नौ गते बुधबार निर्वाचन आयोगबाट सनाखत प्रक्रिया पूरा गरेका दुवै नयाँ दल समाजवादी नामका छन् ।

एमाले विभाजनको कारण : ओलीलाई नेता मान्ने कि प्रचण्डलाई

कम्युनिष्ट पार्टीहरू मूलत सिद्धान्तको आधारमा जुट्ने र फुट्ने गर्दछन् । तर, यहाँ सिद्धान्तको आधारमा विभाजन भएको देखिएन । पार्टी र सरकार दुवैको सत्तामा रहेका नेता प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीविरुद्धको अभियानले विभाजनको अवस्था ल्याइदिएको छ । केपी ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री एउटा पद छाड्नुपर्ने मागबाट डेड वर्ष अगाडि सुरू भएको विवाद अलि अगाडि बढेर ओलीले दुवै पद छाड्नुपर्ने मागमा पुगेर उत्कर्ष रूप धारण गरेको थियो । त्यसपछि कम्युनिष्ट पार्टीको साधारण सदस्य नै नरहने गरी केपी ओलीलाई निश्काशन गरेर दुवै पद नियन्त्रणमा लिइएको थियो । वस्तुतः विगत डेढ वर्षको अवधिमा नेकपाभित्र सैद्धान्तिक बहस कही कतै भएको छैन । केवल पद लिने र छाड्ने कुराको विवाद भएको हो । आज विभाजनको विन्दुमा पुग्दा पनि कुनै राजनीतिक सिद्धान्तलाई आधार मानिएको छैन । पदकै लागि सुरु भएको विवादले आखिर पार्टी विभाजनको परिणाम दिएको छ । अहिले हेर्दा लाग्छ, यो त कम्युनिष्ट र समाजवादी चिन्तनबीचको अन्तरद्वन्द्व रहेछ । देशमा स्थापित भएको बलियो कम्युनिष्ट पार्टीलाई तहस नहस बनाउने कुराबाट प्रेरित भएको पाइन्छ । अर्को किसिमले भन्नुपर्दा नेकपामा प्रचण्डलाई नेता मान्ने कि केपी ओलीलाई भन्ने कुराबाट सुरु भएको रहेछ । एमालेमा प्रचण्डलाई नेता मान्ने विभाजनतिर र केपी ओलीलाई नेता मान्नेहरु मूलपार्टीमा बसेका छन् ।

चन्द्रागिरि डाँडाँबाट जबजलाई तिलाञ्जली

नेकपा एमालेको मूल सिद्धान्त जनताको बहुदलीय जनवाद हो । पाँचौ महाधिवेशनदेखि जनताको बहुदलीय जनवादको पक्षपाती भएर त्यसपछि पनि मदन भण्डारीको उत्तराधिकारी भएर त्यस सिद्धान्तको वकालत गर्ने माधवकुमार नेपालले नेतृत्व गरेको पार्टीले जनताको बहुदलीय जनवादलाई नमान्ने घोषणा गरेकोछ । त्यो कुरा सनाखतको अघिल्लो दिन चन्द्रागिरीको रिसोर्टमा घोषणा गरिएको छ त्यो पनि पाँचौ महाधिवेशनमा जबजको विरूद्धमा मत राख्ने नेता कमरेड झलनाथ खनालको मुखबाट । त्यसलाई सहभागी सबैले चुपचाप नमन गर्नु अझ आश्चर्यको कुरा भयो । के कम्युनिष्टहरूले सिद्धान्त यति चाँडै विसर्जन गर्छन्? सनाखतको अघिल्लो रात नेता कार्यकर्ताले थाहा नपाउने गरी जबजको वैचारिक धरातलबाट स्खलित भएर समाजवादी पार्टीको गर्भधारण गराइयो । राजनीतिक विचारधाराका बारेमा पर्याप्त छलफल नगरी रिसोर्टमा नेता कार्यकर्तालाई थुनेर बनाइएको पार्टी भोलिका दिनमा कसैको हितमा नजानीकन प्रयोग नहोला भनी कसरी विश्वास गर्ने?

वृहत समाजवादी केन्द्र : आतंकवादीको बिल्ला फ्याक्ने प्रचण्ड बाबुराम रणनीति

जहाँसम्म वृहत समाजवादी केन्द्रलाई गन्तव्य बनाइएको छ, त्यो आफूलाई गैरकम्युनिष्ट सावित गराउने प्रयास स्वरूप डा. बाबुराम भट्टराईले परिकल्पना गरेको साझा चौतारी हो । जसमा माओवादीको ह्याङओभरबाट छिटोभन्दा छिटो मुक्त भएर आतङ्ककारीको विल्ला आफनो नामबाट काट्ने हुटहुटिबाट ग्रसित पुष्पकमल दाहाल (प्रचण्ड), नयाँ संविधान घोषणा हुँदा छिमेकी राष्ट्रले मान्यता नदिने लक्षण देखाएपछि हत्तनपत्त कम्युनिष्ट आन्दोलन नै त्यागेको घोषणा गरेर टाउको जोगाउने पूर्वमाओवादी कमाण्डर डा. बाबुराम भट्टराई र पार्टी कार्यालयमा विदेशी अतिथि आउँदा माक्र्स एङ्गेल्सका फोटाहरू लुकाएर समाजवादी बनेको स्वाङ रच्ने माधव नेपालको मिलन केन्द्र हो । त्यो यस्तो प्लेटफर्म हो जसबाट नेपालको कम्युनिष्ट आन्दोलनको विरुद्ध एकै स्वरमा गाली गर्न सकियोस् । त्यहाँ कुरा सुन्ने र ताली बजाएर साथ दिने उपेन्द्र यादवदेखि अशोक राईहरू पनि हुनेछन् । जसले विगतमा नै कम्युनिष्ट आन्दोलनलाई छाडेर हिडिसकेका छन् । वृहत समाजवादी गन्तव्य बनाएका छन् ।

पार्टी फुटाउनेको प्रशंसा, जोगाउनेको आलोचना !

मानिसहरूले मन परेको पार्टी रोज्न पाउँछ । यो कुरा नेपालको संविधानले सुनिश्चित गरेको छ । मानव अधिकारको विश्वव्यापी मान्यता पनि हो । नेताहरूले पनि नीति, सिद्धान्त र कार्यक्रमका आधारमा कुनै पार्टी बनाउन वा कुनै पार्टी छाड्न सक्छन् । यो पनि संवैधानिक हक नै हो । हो, लोकतन्त्रमा दलको भूमिका महत्वपूर्ण हुन्छ । तर दलहरू बलियो भए लोकतन्त्र बलियो हुन्छ भन्ने मान्यताले काम गरिरहेको छ भने यहाँ लोकतान्त्रिक पार्टीलाई फुटाउनेलाई गाली गरिन्छ । तर यहाँ त पार्टी फुटाउने काममा लागेका माधवकुमार नेपालको प्रशंसा गरिएको र पार्टी विभाजन गर्नुहुन्न भन्ने दोस्रो पुस्ताका नेताहरूको विरोध गरेर लेखिएको सामाजिक सञ्जाल र अनलाइनमा समाचारहरू रङ्गिएका छन् ।

यसो हुनुको अर्थ के छ भने मझधारका भनिएका नेताहरू हिजो माधव नेपाललाई साथ दिएर ओलीको विरुद्धमा चर्को भाषण गर्दै आम कार्यकर्तामा ओलीविरोधी भावना जगाउन सक्रियतापूर्वक लागेका थिए । उनीहरूको भाषणबाट प्रभावित भएर धेरै कार्यकर्ताहरू ओलीविरोधी अभियानमा ओर्लिएका थिए । आज तिनै नेताहरू माधव नेपालको दल विभाजनको प्रयासको विपक्षमा खडा हुँदै ओलीको साथमा पुगेका छन् । त्यसैले हिजोका दिनमा नेता कार्यकर्तालाई उरालेर भाषण गर्दै केपी ओलीविरोधी माहौल सिर्जना गर्ने अनि अहिले ओलीको पक्षमा सामेल हुनाले ओलीसँग पदीय सौदावाजी गरेर टिकेको अर्थमा बुझिरहेका छन् आम मानिसले । त्यही अनुसार प्रचार र व्याख्या पनि भइरहेको छ । जुन कुरा सिधा नजरले हेर्दा स्वाभाविक मान्न सकिन्छ । हिजोको बहुप्रचारित आफ्नै मूल्य, मान्यता र दृष्टिकोणको विरूद्ध गएर सम्झौता गरेको देखिएपछि आलोचना हुनु स्वाभाविक हो । नेताले भावावेश र उत्तेजनामा आएर बोल्नु हँदैन भन्ने सिकाइ हुन्छ, यसबाट ।

“सनाखतको अघिल्लो रात नेता कार्यकर्ताले थाहा नपाउने गरी जबजको वैचारिक धरातलबाट स्खलित भएर समाजवादी पार्टीको गर्भधारण गराइयो”

विरोध अस्वाभाविक पनि छ । कम्युनिष्ट पार्टीलाई कमजोर बनाउने डिजाइन अन्तरगत मझधारे नेताहरूको विरोध गरिएको छ । हिजो सर्वशक्तिमान देखिएको केपी ओलीको विरोध गर्दै कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउन चाहने देशी विदेशी शक्तिको योजनामा केपी ओलीलाई क्रुर, तानासाह, भ्रष्टाचारीको संरक्षक भनी चित्रण गर्ने प्रयास गरिएको थियो । तिनीहरूले केपी ओली र उनका वरिपरि रहेका नेताहरूको छवि बिगार्नमा निक्कै ठूलो लगानी गरेका थिए । जब कालापानी, लिपुलेक र लिम्पियाधुराको जमिन नेपालको सामेल गरेर नक्सा प्रकाशन गरियो, त्यसपछि यो अभियान तिब्र गतिमा अगाडि बढ्यो । केपी ओलीलाई नकारात्मक पात्रका रूपमा चित्रण गर्न सबै हरकतहरू गरिए । विश्वको मानचित्रमा चुनावबाट आएको शक्तिशाली कम्युनिष्ट पार्टीलाई सिध्याएर आप्mनो अनुकुलको (कन्फरटेबल) सरकार निर्माण गर्ने र समाजवादी पार्टी बनाएर कम्युनिष्ट आन्दोलनलाई तहस नहस गर्ने अभियान सञ्चालन गरिएको देखिन्छ । त्यस अभियानका लागि आशलाग्दा नेकपा एमालेका दोस्रो पुस्ताका नेताहरू आफनो स्वार्थमा प्रयोग हुन मानेनन् । यसबाट षडयन्त्रकारी तत्वको गाँसमा ढुङ्गो लागेको थियो । अहिले मझधारका नेताहरूविरुद्ध प्रचार केन्द्रित गरिएको छ । उनीहरूलाई हतोत्साहित गरेर माधव नेपालको नजिक पुर्‍याउने कुत्सित मनसायबाट यो अभियान चलिरहेको देखिन्छ । अहिले पनि मझधारका नेताहरूको अधिकांश आलोचकहरू एमालेका पूर्वकार्यकर्ता छैनन् । तिनीहरू कि त काङग्रेस पृष्ठभूमिका छन् कि माओवादी केन्द्रका कार्यकर्ताहरू । यिनीहरूले चरित्र हत्या गर्ने शैलिमा प्रचार अभियान छेडिरहेका छन् । जुन व्यक्तिको राजनीतिक अधिकार र लोकतन्त्रको विश्वव्यापी मान्यता विपरीत छ ।

मझधारका नेताहरूले सुरुका दिनमा गलत सँगत र उत्तेजनाको भरमा गल्ती गरेकै हुन् । उनीहरूले संसद विघटनको राजनीतिक मुद्दालाई प्रतिगामी कदम भनी व्याख्या गर्नु गलत थियो । जनतामा जाने र निर्वाचनबाट आउने अपेक्षाले चालिएको कदमलाई न अलोकतान्त्रिक भन्न सकिन्छ न प्रतिगमन । फेरि विघटित संसद पुनर्स्थापनामा भए पनि जनअपेक्षा अनुसार कामयावी बन्न सकेन । खाली सांसदको जागिर मात्र जोगिएको थियो । दुई दुई पटक पुनर्थापित हुँदा एउटा विधेयसम्म पारित गर्न सकेको छैन । केपी ओलीका व्यक्तिगत र शासकीय शैलिमा केही कमजोरी पक्कै होलान् । त्यसलाई मित्रवत रूपमा आलोचना गरेर सुधार्न सकिन्थ्यो । तर, महाधिवेशनमा हारेको व्यक्ति अर्को महाधिवेशन नभई अध्यक्ष बन्न पाउनुपर्ने माधवकुमार नेपालको चाहना र आधाआधा कार्यकाल बाँडेर प्रधानमन्त्री बन्नुपर्ने प्रचण्डको रहर पूरा नभएको कारण उत्पन्न आक्रोशको छालमा उछिट्टिन पुगेका यी नेताहरूले केही हप्ता बाटो विराएकै हुन् । तर, एमालेलाई विभाजन गरेर समाजवादी पार्टी बनाउने रहस्य थाहा पाउना साथ सम्हालिएर एमालेको पक्षमा एकढिक्का भए । त्यसको उचित मूल्याङ्कन इतिहासले गर्ने नै छ । किनकि यी नेताहरू विभाजनको पक्षमा गएका भए कम्युनिष्ट आन्दोलनले योभन्दा बढी नै क्षति बेहोर्नुपर्ने रहेछ । विगतमा नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाहका रूपमा रहेको नेकपा (एमाले)अहिले पनि मूल प्रवाहमा नै छ । भविष्यमा पनि मूल प्रवाहको यात्रा बरकरार राख्न यसका नेता कार्यकर्ता सबैले इमानदार भई प्रयास गर्नुपर्ने आवश्यकता छ ।
(बरिष्ठ पत्रकार शर्मा आम सञ्चार प्रतिष्ठान प्रदेश नं १ का कार्यकारी निर्देशक हुनुहुन्छ)