अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धनमहिमा (निबन्ध)

धनमहिमा (निबन्ध)


सन्तान पढून, लेखून्, जागिर खाएर खुब पैसा कमाऊन् र ठूलो मान्छे बनून् भन्ने सबै अभिभावकहरूको चाहना हुन्छ । चलनै यस्तै छ । समाजले धनवानलाई नै ठूलो मान्छ । धनले कमसललाई पनि असल बनाइ दिन्छ । धनरूपी गङ्गाजलको अभिषेकले दुराचारी, भ्रष्टाचारी, पाखण्डी जोसुकै पनि चोखिन्छ । धनले पतित र पापीलाई उठाउँछ; मर्यादामा माथि पुर्‍याउँछ र राष्ट्रमा स्थापित गराउँछ । धन भए सबै आफन्तै आफन्त ! हितैषि नै हितैषि ! धनले के गर्न सक्दैन? इमान किन्ने, सम्मान थाप्ने, सङ्गठन बनाउने, भोज र मोज गर्ने सामथ्र्य धनमै पाइन्छ । भोक मार्नेदेखि रोग टार्ने, रोड नाप्नेदेखि बोट/डुङ्गा थाप्ने/थप्नेसम्मको सामथ्र्य नोटका बिटामा हुन्छ । धनले महादेवको त त्रिनेत्र खुलाउँछ भने सर्वसाधारणको के कुरा ! पाताल प्रवेश गर्न होस् कि गगन विहार गर्न होस् धन नभई हुँदैन ।

नवनिर्माणको तागत पनि धन, पुर्ननिर्माणको लागत पनि धन । धनले आकाश ओगटेको छ, पाताल खोतलेको छ । संसार जोड्न पनि, संसार तोड्न पनि धन चाहिन्छ । धनको अपरिहार्यता कति महत्वपूर्ण छ भने युद्घ गर्नु परे धनै चाहियो । शान्ति गर्नु परे धनै चाहियो । उठ्दा, बस्दा, खाँदा, सुत्दा, हिंड्दा धन चाहिने । आधुनिक जमानामा धन इज्जत र आबरू हो । आदर्श, आकर्षण र आकाङ्क्षा हो । धनलाई सर्वशक्तिमान र सर्वव्यापी भन्दा के फरक पर्छ र ! धन नभएर प्रतिभाको प्रस्फुटन हुँदैन, शिक्षाले गन्तव्य भेट्टाउँदैन । मेडिकल, इन्जिनियरिङ आदि महङ्गा शिक्षा ग्रहण गर्न प्रतिभाभन्दा पहिले धन चाहिन्छ । धनको धाक देखाउन सक्ने नेता राजनीतिमा स्थापित हुन्छ । अमेरिकाको नासा र नेपालको नास्टमा राजा भोज र गङ्गु तेलीको जस्तो अन्तर देखिएको पनि धनले गर्दा नै हो ।

हात बाँधेर बस्नाले न त सन्तोष प्राप्त हुन्छ, न सुख नै । परीक्षा अनुसारको परीक्षाफलमा चित्त बुझाउनु सन्तोष हो र त्यसैमा रमाउनु सुख । ‘जैसी करनी, वैसी भरनी’ भनेजस्तो फल कर्मसापेक्ष हुन्छ । यथार्थ दृष्टिले धनार्जनका लागि असन्तुष्टि वाञ्छनीय देखिए पनि आदर्श दृष्टिले सुख पनि दिने र धन पनि हुने हुनाले सन्तुष्टि प्रबल छ ।

हाम्रो समाजमा धनको स्रोत खोजिँदैन, शक्ति खोजिन्छ । शक्तिको सङ्गत गर्न छाडेर मुहान (स्रोत) खोज्नु एक प्रकारको मूर्खता पनि हो । हाम्रो संस्कारै शक्ति पासक छ । परम्परा वा चलन नै ठूलो बन्ने– बनाउने ध्याउन्नमा आधारित छ । मोदीआइन कसले पढेको छ र असल बन्न सिकाउनू ? मोदीआइनको सङ्गत कसले गरेको छ र असल बन्ने प्रेरणा पाउनू ! मान्यजनबाट पाइने आशीर्वाद नै ‘ठूलो भइस्’ भन्ने भएपछि असलका पछि को लागोस् ? असल बन्ने बाटो ठूलो बन्ने जस्तो सरल पनि छैन । असल बन्ने बाटाका पाइला पाइलामा चुनौती हुन्छन्, पल पलमा कठिनाइ उपस्थित हुन्छन् । भौतिक र आध्यात्मिक अर्थात् शारीरिक र मानसिक सुखको त्याग गर्न सक्ने तत्परता भए मात्र असल हुने मार्गदर्शन हुन्छ । ठूलो हुनका लागि उतिसारो कष्ट र कठिनाइको सामना गर्नु पर्दैन । आँटले ठूलो बनाउँछ, छाँटले असल । बम पड्काउने, राज्यद्रोह गर्ने, सत्ता कब्जा गर्ने ठूला नै हुन् । कालो बजारी तथा कृत्रिम अभाव सिर्जना गरेर अनि ठेक्कापट्टामा कैफियत गरेर धनपति भएकाहरू पनि ठूला नै त हुन् ।

इमान, नैतिकता र मर्यादाको पर्खाल नाघ्न सके ठूलो भइन्छ । सज्जन मनुवाहरु जतिसुकै सदाचारमा बसून, तिनलाई कसले चिन्छ ? कसले गन्छ ? विश्वका पाँच सर्वश्रेष्ठ पूँजीपतिहरुसित संसारको धन सम्पतिको पचास प्रतिशतभन्दा बढी सम्पत्ति छ । गन्दै जाने हो भने ठूला धनीहरु एक चौथाइ भन्दा पनि कम छन् होला तापनि तिनै एक चौथाइ धनवानहरु नै चर्चा र सम्झनाको शिखरमा हुन्छन् । बाँकी तीन चौथाइ भनिएकाहरु अत्यधिक बहुमतमा भइकन पनि गुमनाम र पहिचानविहीन छन् । बिडम्बना अर्को पनि छ; असल वा सज्जनहरूको समय, श्रम र शक्ति ठूलाहरुलेगरेको बिगार सुधार्नमै खर्च हुन्छ ।

आफ्नै आँखा अगाडि टोकरीमा सामान बेच्दै हिँडेको वणिक दशक नपुग्दै महासेठ बन्छ । विगतमा ऊ सबैलाई धनुषटङ्कार अभिवादन टक्रयाउँथ्यो । वर्तमानमा अब उसलाई अभिवादन फर्काउनु पर्छ । धन कमाएका वा धनाढ्यहरुदेखि आरिस कतइ गरेको होइन । महापुरुषको सङ्गतको कालु साहुको धनाढ्यपनको सम्झना मात्र गरेको हो । हाम्रो प्रवृत्ति पिठिउ पछाडि खिसीटिउरी गर्ने तर समीपमा भजनै गाउने खालको छ । जसले जे भने पनि धनको महिमा अपार छ, धनपतिको गरिमा साकार छ । धनको धन्दा बायाँ हातको खेल र लहडीको लहड पक्कै होइन ।जेफ बेजोस, बिल गेटस्,विनोद चौधरी पेटैदेखि धनी जन्मेका होइनन् । आफू नमरी स्वर्ग देखिन्न भनेजस्तो धनार्जन श्रम, सीप, चाँसो, चिन्तन, जाँगर र भाग्य हुनेले मात्र गर्न सक्छ । मानो रोपेर मुरी फलाउनु चानचुने कुरा होइन । लगन बिनाको धनाकाङ्क्षा फगत मृगतृष्णा मात्र हुन्छ ।

आधुनिक ज्ञान सन्तुष्टिले प्रगति बाधित हुने कुरा बताउँछ । हेरिल्याउँदा हो जस्तो पनि लाग्छ । योगासन गरेर त सयको सम्पत्ति हजारको बन्दैन । हजार भएपछि लाखको कामना हुनु मुनासिब हो । लाखलाई करोडसम्म पुर्‍याउनै पर्‍यो । एवम् प्रकारले धनवृद्घि हुँदै जाँदा श्रम, चिन्तन र तत्परता पनि थपिने नै भयो । सहकर्मी र प्रतिद्वन्द्वीलाई उछिन्नै पर्‍यो । असन्तुष्टिकै कारण प्रगतिको ग्राफ उठ्दै जान्छ । सौकारले हजारी, हजारीले लखपति– करोडपति बन्नका लागि कति पापड बेल्नु पर्छ भन्ने कुरा उनीहरूबाहेक अरू कसलाई थाहा होला ! श्रम, पूँजी, चिन्तन, जाँगर र अनुभवको पुरुषार्थ नदेखाउनेलाई धनलक्ष्मीले वरण गर्दिनन् । अतः दिनको चैन र रातको निदरी एक नगरी धनसत्ता प्राप्त हुँदैन ।

विधान टेक्नेदेखिविधिमिच्नेसम्मका कर्म नगरी धनाधिकारसम्म पहुँच पुग्दैन । पूर्वीय ज्ञान चाहिँ आधुनिक ज्ञानको विपक्षमा छ । पूर्वीय ज्ञानको सार नै‘सन्तोषः परमम् सुखम्’ हो । त्यसो भए सन्तोषले सम्वृद्घि बाधित हुन्छ? प्रगतिका लागि असन्तोष अथवा असन्तुष्टि नभई हुँदैन ? सन्तोषको तात्पर्य सौकार सौकारसम्मै सिमित रहोस्, सहस्रपतिको चाहना नगरोस् भन्ने हो ? उन्नति र प्रगतिमा स्थिरता सन्तोषको आह्वान होइन् । सन्तोषले कर्म नगर भन्दैन बरु कर्मद्वारा प्राप्त भएको फल अर्थात् उपलब्धि वा सफलतामा चित्त बुझाऊ र आनन्द मान, त्यसैमा सुख छ भन्दछ । व्यापारी, उद्योगी, व्यवसायी धनवानलाई सुखको अधिकार छैन र ! उद्यम अर्थात् कर्म त गर्नै पर्छ । हात बाँधेर बस्नाले न त सन्तोष प्राप्त हुन्छ, न सुख नै । परीक्षा अनुसारको परीक्षाफलमा चित्त बुझाउनु सन्तोष हो र त्यसैमा रमाउनु सुख । ‘जैसी करनी, वैसी भरनी’ भनेजस्तो फल कर्मसापेक्ष हुन्छ । यथार्थ दृष्टिले धनार्जनका लागि असन्तुष्टि वाञ्छनीय देखिए पनि आदर्श दृष्टिले सुख पनि दिने र धन पनि हुने हुनाले सन्तुष्टि प्रबल छ ।

धन सञ्चय वा आर्जन गर्न युक्ति पनि चाहिन्छ । दाना दाना अन्नको महत्व नबुझ्ने किसानसित अन्नको भण्डार हुँदैन । पाइ पाइ र पैसा पैसाको हिसाब नराख्ने धनेच्छुलाई लक्ष्मीले बेवास्ता गर्छिन् । पैसा पैसाको गणना नगर्ने लेखापालको हिसाब धनात्मक नभएर ऋणात्मक हुन्छ । थोपा थोपा पानीबाटै समुद्र, दाना दाना अन्नबाटै थुप्रो र पैसा पैसाबाटै धनको राशी बन्छ । लक्ष्मी चञ्चलाश्री हुन्छिन् । कहिले एउटासित बस्छिन् कहिले अर्कोसित ! सात गाँठा पारेर सन्दुकमा जोगाइ राख्न खोजे रिसाउँछिन् । परिचालन गरेर हात हातमा खेलाए रमाउँछिन् । पत्तै नपाई कहलिएका सौकार, हजारी, लखपतिहरुखाकपति भएका छन् भने विपन्नमा गनिएकाहरु पूँजीपति भएर उदाएका छन् । कर्मचारी भए भरको बुद्धिविवेक, तिकडम, क्षमता र उपाय प्रयोग गरी भ्रष्टाचार गर्छ तर सेवानिवृत्त हुन नपाउँदै भ्रष्टाचारको फन्दामा परेर कमाएको इज्जत– प्रतिष्ठा र धन सम्पत्ति जमानत राख्दै जागिरबाट हात धुन्छ ।

भ्रष्टाचारको फन्दाबाट जोगिएका सेवा प्रदायकहरुको भ्रष्ट पूँजी पनि या तमहङ्गा रोगको उपचारमा खर्च हुन्छ या सन्ततिको कुलतको द्वार बन्छ । एक जना सज्जनले व्यापार सुरु गरे । व्यापार फस्टाउँदै जाँदा खाना खाने फुर्सदसमेत भएनछ । व्यापार अपार हुँदै गयो । धन कमाउने धोकोले भोजनको आवश्यकतालाई बिर्सायो । उनी चाउचाउ, चाउमिन, सेकुवा आदि तयारी र गरिष्ठ भोजनद्वारा उदरपूर्ति गर्न थाले । श्री निवास उत्तरोत्तर बढ्दै गयो । उनले प्रशस्त घर, घरेडी र सम्पत्ति जोडे । केही वर्षपछि उनलाई शारीरिक अस्वस्थता महसुस हुन थाल्यो । उनले डाक्टरलाई जँचाए । डाक्टरले उनलाई खानपान बिग्रेको हुनाले ग्यास्ट्रिक, अल्सर, कोलस्ट्रौल, पाइल्स आदि अनेकौँ रोगको सङ्क्रमण भएको बताए । अहिले उनी उमालेको सिमितभोजन गर्न बाध्य छन् । महङ्गा महङ्गा अस्पताल र चिकित्सकको परामर्श लिन दौडधुप गरिरहन्छन् । समग्रमा उनी अहिलेनखाइकन कमाएका नोटका बिटाका कारण अशान्त छन् ।

मनग्य मुनाफा कमाउन सफल जेफ बेजोस, बिल गेटस्, वारेन वफेट, मार्क जुकरवर्ग र विनोद चौधरी सुखी होलान् कि दिल खोलेर दानमा उडाउने बद्रीनाथ भण्डारी? ज्ञानका ज्ञाता र बोलीका वाचाल धेरै भए पनि त्यसका प्रयोक्ता र वचनका पक्का थोरै हुन्छन् । बद्रीनाथ मुमुक्षु हुनाले ज्ञानको प्रयोग गरी बोलीलाई व्यवहारमा देखाउने आँट गर्छन् ।

उपयोगमा नआउने करोडौँ अरबौँको सम्पत्ति बेकार हो । सुन, चाँदी, हीरा, जवाहरात निरर्थक कौडी हो । उपयोगमा आउने भए सानो परिमाणको वस्तु पनि धन सम्पत्ति हो । महाभारत युद्धको तयारीका क्रममा राजा युधिष्ठिरले भीमसेनलाई आर्थिक सहयोगका लागि कुवेर कहाँ पठाएछन् । भीमसेन पुग्दा कुबेर पोखिएका सरस्युँका दाना थुक लगाएर जम्मा गर्दै रहेछन् ! भीमसेनले कुबेरलाई युधिष्ठिरको सन्देश सुनाएपछि उनले सहयोगस्वरुप सरस्युँ नै लैजान भनेछन् । महाभारत युद्धमा सरस्युँको के काम ? भन्ने सोचेर भीमसेन त्यत्तिकै फर्केछन् । उनले युधिष्ठिरलाई कुबेरले धन सम्पत्ति नभएर सरस्युँको सहयोग गर्छु भनेका हुनाले रित्तैफर्केर आएको बताए । युधिष्ठिरले कुबेरजी जे दिन्छन्, त्यही लिएर आऊ भन्दै भीमसेनलाई फेरि कुबेर कहाँ पठाए । मन नलागी नलागी भीमसेन कुबेरले दिएको सरस्युँ लिएर आए ।

पाण्डवहरूलाई युद्धमा भासिएका रथ निकाल्न यही सरस्युँ काम लाग्यो र उनीहरूको जीत भयो । धनको भूत चढेपछि मानिस जन्म, जीवन र मृत्यु बिर्सेर धन कुबेर बन्न खोज्छ । नोटका बिटा, सुनका डल्ला र सम्पत्तिको थुप्रो खाएर अघाइने भए मानिस कति हसुथ्र्यो होला ! बाँच्नलाई दुई छाक भोजन, सुत्नलाई छ फिट पलङ/कफिन र उभिनलाई दुई पाइला जमिनभन्दा बढी सम्पत्ति चाहिँछ र ! शताब्दी उमेर टेक्नै लागेका साहित्य, कला, संस्कृति, शिक्षा, स्वास्थ्य र समाजहितमा मन, वचन र कर्मले सहयोग गर्ने कैलाली, सुदूरपश्चिमका प्रख्यात दानवीर बद्रीनाथ भण्डारीले ज्यादै नै घतलाग्दो दार्शनिक कुरा गरे । उनले भने ‘सम्पत्तिलाई बोकेर लैजान सकिएला जस्तो लागेन; त्यसैले मैले त आफूले कमाएको सम्पत्ति सिबद्ध्याएर जाने विचार गरेँ ।’ उनीसित दान गर्न सक्ने ठूलो मन छ, वचन दिन सक्ने ठूलो आँट छ र कर्म गर्न सक्ने ठूलो लगन छ । मनग्य मुनाफा कमाउन सफल जेफ बेजोस, बिल गेटस्,वारेन वफेट, मार्क जुकरवर्ग र विनोद चौधरी सुखी होलान् कि दिल खोलेर दानमा उडाउने बद्रीनाथ भण्डारी? ज्ञानका ज्ञाता र बोलीका वाचाल धेरै भए पनि त्यसका प्रयोक्ता र वचनका पक्का थोरै हुन्छन् । बद्रीनाथ मुमुक्षु हुनाले ज्ञानको प्रयोग गरी बोलीलाई व्यवहारमा देखाउने आँट गर्छन् ।

उपयोगमा नआउने नागरिकता, राष्ट्रियता र स्वाधीनता विक्री गरिदिए पनि हुन्छ भन्ने दिनेश अधिकारीको कथन छ । सञ्चय गर्नका लागि कमाएको धन पनि जलाइ दिए हुन्छ । यस्तो सम्पत्ति जीवनको शत्रु, कष्टको भारी तथा सुखको वैरी हुन्छ । धन कमाउन कठिन छ तर खर्च गर्न सजिलो । ठूला धनीधेरै छन् तर असल धनी कति होलान् ? चाँदीको भात, सुनको दाल र जवाहरातको तरकारीले पेट भर्नु पर्ने भए मानिस अघाउँथ्यो कि अघाउँदैनथ्यो ? दौलतको भोजन कहाँ हुन्छ र ! भोजन हुने त अन्नकै हो । धनकारी मनकारी भएको सर्वोत्तम हो तर सोचे जस्तो हुने भए पो ! मन हुनेसित धन हुँदैन, धन हुनेसित मन हुँदैन । यस्तै छ धनको महिमा !