अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पुष्पलालसँगको त्यो विद्रोह

पुष्पलालसँगको त्यो विद्रोह


पाँचौं शिविर

पुष्पलालले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीमा आबद्ध संस्कृतिकर्मीहरुको वैधानिक सङ्गठन थियो— ‘नेपाली जनवादी क्रान्तिकारी सांस्कृतिक सङ्घ’ । २०२९ फागुनमा स्थापना भएको सो सङ्घले त्रैमासिक रुपमा आफ्नो मुखपत्र प्रकाशित गर्ने निर्णय ग¥यो र नाम राखियो मुक्तिमोर्चा । अङ्क, पूर्णाङ्क आदि परम्परा तोडेर मुक्तिमोर्चाको ‘शिविर’ भनियो । सङ्घको मुखपत्रको रुपमा तीन शिविर प्रकाशित भयो । चौथो र पाँचौं शिविर भने पुष्पलालसँग विद्रोह गरेको समूहले प्रकाशित ग¥यो । विद्रोहीहरुले आफ्ना विचार प्रकाशन गरेका तिनै दुई शिविरले तिनलाई ‘मुक्तिमोर्चा समूह’ भनेर चिनाए । चौथो–छैटौं शिविरमा प्रकाशित विचारले मुक्तिमोर्चालाई छुट्टै पहिचान मिल्यो तर यसको उत्कर्ष भने पाँचौं शिविर थियो ।

इटहरामा जीवन शर्मा
बनारसमा उच्च अध्ययन चल्दै थियो । कम्युनिस्ट पार्टीको सदस्यता पाएका मदन पुष्पलालको सांस्कृतिक मोर्चामा सङ्गठित भए । तैपनि उनलाई पूर्णकालीन राजनीतिको भूत सवार भइसकेको थिएन । ‘दाइ गृहस्थ जीवन त्यागेर हिँडेको छ, म सांस्कृतिक मोर्चामा बसेर काम गर्न सक्तिनँ’ भन्थे । उता सांस्कृतिक मोर्चाका अगुवाहरुको भित्री उद्देश्य फरक थियो । राजनीतिक गतिविधिलाई सघाउन बनाइएको थियो मोर्चा । उनीहरु मदनसँग सांस्कृतिक र राजनीतिक दुवै काम गर्न सक्ने खुबी देख्थे । मदनले ‘सक्रिय हुन सक्तिनँ’ भने पनि मोर्चावालाहरुले छोड्दै छोडेनन् ।

मदनलाई गाउँ फर्किएर भाइबहिनीको अध्ययनमा सहयोग गर्न मन थियो । पाका बुबाआमासँगै बसेर मद्दत गर्ने चाहना तीव्र थियो । त्यसैले उनी गाउँ फर्किए— नयाँ गाउँ, इटहरा ।

मदन गाउँमा बसेर सामाजिक काम गरिरहेका थिए । त्यतिखेर उनी उपन्यास लेखिरहेका थिए । उपन्यासका टुक्राटुक्री साथीभाइलाई सुनाउँथे । त्यसरी सुन्नेमा उही पुरानै लोचनीका श्रोता खेम पोखरेलहरु थिए । गाउँमा सङ्घर्ष भएको, किसानले आन्दोलन गरेको, सामन्तहरु भागेर ओढारमा लुकेको जस्ता कथा थिए त्यहाँ ।

लेखिसकेको सिर्जना प्रकाशन गर्ने रहर हुन्छ सबैलाई । मदन पनि उपन्यास प्रकाशन गर्ने ध्याउन्नमा लागे । ‘उपन्यासमा निकै काँटछाँट गर्नुपर्छ, अलि कडा छ, सम्पादन गर्नुपर्छ’ भनेछन् प्रकाशकले । ‘भित्री मर्म फ्याँकेर उपन्यास नछाप्ने’ भए मदन । त्यो त्यतिकै रह्यो । गीत र कविताको सङ्कलन पनि थियो । बेला बेला डायरीबाट सुनाउँथे ती पनि—
‘सामन्तीलाई नगिँडे, सैनिकसँग नभिडे
आउँदैन जनवाद छमछम नाचेर….’
मदनले धेरैजसो गुनगुनाइरहने गीत हो यो ।

त्यति बेलासम्म देवीप्रसादको परिवार उनैले बनाएको झोडे घरमा बसेको थियो । घरको कथा आफ्नै ठाउँमा छ । मदन भने सामाजिक क्षेत्रमा सक्रिय थिए । इटहराभन्दा उत्तरतिरको राजघाटमा बस्थे वल्लभमणि भट्टराई । वन कर्मचारी र प्रहरीसँग खुब राम्रो दोस्ती बनाएका भट्टराईले तिनैको सहयोगमा एकछत्र शासन चलाएका थिए । कसैले छुन सक्तैनथ्यो । कम्युनिस्ट भाषाका साँच्चिकै ‘सामन्त’ देखिन्थे । सबैलाई वल्लभमणि सामन्ती संस्कार भएका पञ्चायतका लठैत हुन् भन्ने लागेको थियो ।

एकपल्ट वल्लभमणि स्कुल बनाउने योजना लिएर गाउँमा छिरे । ‘स्कुल बनाउन बाह्र बिघा जमिन चाहिन्छ । त्यो जुटाउन प्रत्येक सिट (कित्ता) बाट तीन सय रूपैयाँ उठाउने’ भने । गाउँका सबैलाई जुटाएर उनले एउटा धुले स्कुल पनि बनाए तर स्कुलको हरहिसाब के भयो ? कति रकम जम्मा भयो ? कति जमिन जोड्न सकियो ? स्कुल कसरी सञ्चालन भइरहेछ ? थप के गर्नुपर्छ ? यस्ता विषयमा गाउँलेलाई केही जानकारी थिएन । ‘त्यो विषयमा सोधखोज गर्नुपर्छ’ भन्दै मदनहरु वल्लभमणिसँग हरहिसाब खोज्न गए ।

मदन नेतृत्वको टोलीमा लीलावल्लभ पौडेल, शिव पौडेल, नरवीर लिम्बु, पाण्डव लिम्बु, भक्तबहादुर तामाङ आदि थिए । वल्लभमणिलाई भेटेर हिसाबको कुरा गर्नेबित्तिकै उनी झम्टिन आए— ‘सामाजिक काममा भाँजो हाल्ने तिमीहरु को हौ ? तिमीहरुलाई हिसाब देखाउनुपर्छ भन्ने के छ ?’ वल्लभमणिले उल्टै थर्काउन थालेपछि चर्काचर्की मात्र भएन, हात हालाहाल नै भयो । कडा स्वभावका मान्छे मदन । उनको टोलीले विभिन्न तर्क गरेपछि हारेका वल्लभमणि जमिनको हिसाब देखाउन बाध्य भए तर जम्मा १० कट्ठा जमिनको मात्रै हिसाब देखियो, त्यो पनि अर्कै व्यक्तिको नाममा ।

भोलिपल्टै वल्लभमणिले केही मान्छे बटुले । प्रहरी पनि ल्याए । घटनाको विरोध गर्दै ‘हिसाब खोज्नेलाई ठिक पार्छौं’ भनेर नारा लगाए । पञ्चायतको मनपरी थियो । डर, त्रास र आस देखाएर मान्छे उचालेका थिए । त्यसपछि बिन्तीपत्र हाल्न अगिसरेका पण्डित (जेठा पौडेल) ले दमक गएर दरबारमा रजिस्ट्री गरी चिठी पठाए । तर, चिठी कहाँ पुग्यो ? अहिलेसम्म आएको छैन जबाफ ।

त्यो घटनापछि अर्कै ठाउँमा स्कुल खोल्न सबैसँग सल्लाह गरे मदनले । उनैको अगुवाइमा स्कुलका लागि जग्गा खोजियो । इटहराकै पल्लापट्टि न्यौपाने थरका एक व्यक्ति रुखले किचेर भर्खरै मरेका थिए । उनको छोरो पनि बितेको थियो, श्रीमती कमला शोकमा थिइन् । उनको नाममा साढे तीन बिघा जमिन दर्ता थियो । ‘स्कुलका लागि कमलासँग जग्गाको कुरा गरौं’ भनेर सल्लाह गरे । कमलासँग स्कुल बनाउन जग्गा मागियो । उनले पनि छोराको नाममा स्कुल बनाउन पाँच कट्ठा जग्गा दिने बचन दिइन् । ‘हिमालय’ रहेछ उनका छोराको नाम ।

जग्गाको जोहो भएपछि स्कुलका लागि संरचना बनाउनुपर्ने भयो । तिहारमा सात दिन सात रात देउसी खेले । धान, चामल र नगद जम्मा भयो । नयाँ झोडा भएकाले खाँबा, खुट्टी काट्न टाढा जानु परेन । समितिका सदस्यहरुले एकएकओटा खाँबा काट्ने निधो भयो । मदनले दुइटा खाँबा काटे । उनको काम गर्ने बानी नै बेग्लै । बिस्तारै वा पछि गरौं नभन्ने, गरिहाल्ने । सामाजिक काममा छिट्टै तात्ने । अरुलाई पनि तताइरहने ।

खाँबा, खुट्टी गाडे । पहिलो वर्ष सामान्य घेराबार थियो सन्ठीको । छानो परालको लगाइयो । अर्को साल त्यति बेलाको चलनअनुसार लामा खाँबा गाडेर टाँडे भवन बनाइएको थियो । एकैचोटि पूरा हुन सकेन, त्यसैले एक तला तयार गरियो । अर्को साल दोस्रो तला पनि छापियो तर पूरा हुन सकेन । हावा, हुरीले दुख दिइरहने । तेस्रो वर्ष खाँबा काटेर होचो पारियो । २०३२ सालमा विद्यालय स्थापनाको औपचारिकता सकियो । विद्यालयको नाम राखे— श्री हिमालय प्राथमिक विद्यालय ।

विद्यालय बनाउन देउसी खेल्ने क्रममा उठेको एउटा प्रसङ्ग यस्तो थियो—
मदन कुनै कारणले पहिलो दिनको देउसीमा उपस्थित हुन सकेनन् । दोस्रो दिन मात्र आएका मदनले देउसीमा प्रयोग गरिएका गीतप्रति आपत्ति जनाए । पहिलो दिन देउसीमा यस्तो गीत गाइएको थियो—
एउटा त मुखले स्वास्नी रिझाउने
अर्को मुखले तरूनी फकाउने
ए आमा, सानीमा…

तर, बालबालिका चुहिने झुपडीमुनि बसेका छन्, शिक्षकको अभाव छ । चक–डस्टरको अभाव छ । डेस्क, बेन्च छैनन् । हामीले यी कुराहरु पो गाउँलेसम्म पु¥याउनुपर्छ । यस्तो गीत गाएर हुन्छ ?
सबैले मदनको कुरा समर्थन गरे । उनले तत्काल गीत रचे—
बत्तिस साल भदौ मैना एक गते हुँदामा
स्कुल राख्यौं सातमेडीको अध्याँरो कुनामा
पहिलो महिना हुँदाखेरि छात्र सङ्ख्या पनि
डेढ सय नाघिसके दिन गनीगनी…..

विद्यालय व्यवस्थापन समितिमा मदन, शिव पौडेल र दुर्गा सर थिए । मदन र दुर्गा सरले सामान्य परीक्षाको औपचारिकता पूरा गरेर खेम पोखरेल, रूद्र भण्डारी र छत्रबहादुर कार्कीलाई विद्यालयको जिम्मा दिए । वरिपरि नजिकमा विद्यालय नभएर होला, पहिलो सालै ६०–६५ विद्यार्थी आए । वल्लभमणिको स्कुलबाट पनि विद्यार्थी यतै आए । तिनलाई कक्षा तीनसम्म बाँडेर पढाए ।
हिमालय आधारभूत विद्यालयको कार्यालयमा झुन्डिएको एउटा बोर्डमा स्थापना कालको सञ्चालक समितिको नामावली देख्न सकिन्छ—
अध्यक्ष— स्व. श्री मदनकुमार भण्डारी
सदस्य— रामप्रसाद भट्टराई
सदस्य— डिल्लीराम अधिकारी
सदस्य— तारा सिग्देल
सदस्य— दुर्गाप्रसाद गौतम
शिक्षक— रूद्र भण्डारी

तर, केही मानिसहरुले ‘डिल्लीराम र तारा नभई उनीहरुको सट्टा शिव अधिकारी, शिवराज पौडेल र वसन्त भण्डारी सदस्य थिए’ भनी दाबी गरेका छन् ।

पछि बाटोको विवादका कारण हिमालय प्राथमिक विद्यालयले मदनलाई फेरि वल्लभमणिसँग जोड्यो ।

विद्यालय त बन्यो तर त्यहाँ जाने बाटो थिएन । खेतका आली आली हिँड्नुपर्ने । मदनले तेर्छो बाटोको अवधारणा ल्याए— इटहरा–भौडाहा–मङ्गलबारे–हिमालय प्रा.वि. हुँदै ठाडो बाटो जोड्ने । ठाडो बाटोचाहिँ उर्लाबारी–बरडङ्गा (झुर्किया) सडक हो । नयाँ बाटो बनाउने नेतृत्व मदनले गरे, ठाडो बाटोको नेतृत्व वल्लभमणिले । ठाडो बाटो पुरानो नक्साअनुसार बन्दै थियो । तेर्छो बाटोको कुनै नापनक्सा थिएन । बाटोको नामनिसान नभएको ठाउँमा निकाल्नुपर्ने थियो नयाँ बाटो ।

वल्लभमणि ठाडो बाटोका लागि ‘यताका मान्छेले पनि पैसा दिनुपर्छ’ भन्थे । मदन ‘यता गाउँलाई पनि निकास चाहियो’ भन्थे— पहिले निकास निकाल्न सहयोग गर, निकासैबिना यहाँका मान्छेले कसरी पैसा तिर्ने ? निकास देउ, पैसा दिउँला ।’ यता तेर्छो बाटोका जग्गाधनीहरुमा पनि बाटोभन्दा जग्गामोह बढी थियो । जग्गाको मूल्य थियो, बाटोको कुनै सरोकारै थिएन त्यतिखेर । कसैको जग्गामा बाटो पर्‍यो भने जग्गा नाश भएको ठान्थे । यस्तो समाजमा विकासे काम गर्नु सहज थिएन । विवाद हुँदाहुँदै पैसा नतिर्नेहरुको नाम सार्वजनिक गरियो । र, प्रहरी गाउँ पस्यो ।

राजघाटदेखि दक्षिणको बस्तीमा कुनै गोप्य सङ्गठन भएको अनुमान थियो प्रहरीलाई । प्रहरी प्रशासन र पञ्चायत पक्षीय मान्छेहरुले यो क्षेत्रमा अत (अराष्ट्रिय तङ्खव) रहेको ठानेका थिए । तर, तिनको सङ्गठन, सङ्ख्या र क्षेत्र कति हो ? कसरी परिचालन हुन्छन् ? भन्ने जानकारी पाएका थिएनन् कसैले । गाउँ पस्न प्रहरी पनि अनकनाउँथे । त्यस पटक भने मदनसँग टक्कर परे पनि प्रहरी नरवीर लिम्बुलाई समाउने गरी आए ।

नरवीरलाई समाएर लगे । गाउँमा ठुलै हल्लीखल्ली भयो । ५–६ जनाको नाममा पक्राउ पुर्जी भएको हल्ला चल्यो । तैपनि एक जनालाई मात्र समातेको थियो । ‘एउटालाई समाएपछि अरु पनि थानामा आउँछन्, त्यहीँ समाउन सजिलो हुन्छ’ भन्ने योजना रहेछ प्रहरी प्रशासनको । त्यो कुरा बाटैमा खुल्यो । प्रहरीले फकाएर ‘मदन कहाँ छ ? हामी उनलाई लिन आएको, मदनको सुराकी दिए छाड्ने’ प्रस्ताव राखेछ नरवीरलाई— मदन कम्युनिस्ट हो, अराष्ट्रिय तङ्खव । उसलाई मात्र समाउँछौं हामी । तिमीहरुलाई होइन ।

अराष्ट्रिय तङ्खव भनेर चिनिइसकेका मदनकै सल्लाह र नेतृत्वमा एउटा अनौपचारिक समूह थियो झोडाको त्यो नयाँ बस्तीमा । कसैलाई प्रहरी प्रशासनले केही गरे सबै जाने, कोही पनि नछुट्ने । नरवीरलाई छुटाउन एउटा समूह उर्लाबारीतिर हिँड्यो । उर्लाबारी जाँदै गरेको प्रहरीको टोलीलाई मदन नेतृत्वको समूहले बाटैमा भेटेपछि त्यहाँ भनाभन भयो । नरवीरलाई खोसेर छुटाउनेसम्मका कुरा भए । त्यस्तैमा नरवीरले मदनलाई त्यहाँबाट भगाउन सङ्केत गरे । प्रहरी मदनलाई समाउन आएको योजना पनि बताउन भ्याए ।

साँच्चै नरवीरलाई माध्यम मात्रै बनाएको रहेछ प्रहरी प्रशासनले । ‘उर्लाबारी पुगेपछि तपाईंलाई समाएर राख्ने रैछ प्रहरीले । तपाईं नजानोस्’ भनेर साथीहरुले कुरा राखे तर मदन मानेनन्— ‘अनाहकमा नडराऔं साथीहरु ! अहिल्यै आकाश खस्छ भने जस्तो कुरा नगरौं । पक्रन त्यति सजिलो छ र ? पक्राउ पुर्जी चाहिएन ? त्यतिकै हुन्छ ? जे पायो त्यही गर्न पाइन्छ ?’ भनेर साथीहरुका कुरा पन्छाए ।

तर, ‘हामीलाई समाते एक दिन राख्ला तर तपाईंलाई समाते सबै सक्किगो नि’ भनेर साथीहरुले सम्झाएपछि भने अलि सतर्क भए मदन । त्यसैले उर्लाबारी पुग्ने बेलामा ‘यिनीहरु साह्रै कराए’ भनेर अलि तर्किए । पश्चिमतिर छड्किए । मदन हराएको प्रहरीले थाहा पाइहाले ।

मदन छलिएपछि प्रहरीहरु खोज्न थाले । दौडादौडी सुरू भयो— कहाँ लुक्यो ? कता भाग्यो ? प्रहरीले त व्यापक तलासी सुरू ग¥यो । छापछाप्ती खोज्दा पनि नभेटेपछि ‘मदन भगाएको’ आरोपमा शिव पौडेललाई थानामै राख्ने भयो तर पछि के भयो कुन्नि, नरवीरलाई राखेर ‘बिहान हाजिर हुने’ सर्तमा शिवलाई छाडिदियो । प्रहरीले रातभरि मदनलाई खोजी ग¥यो तर समाउन सकेन ।

बिहान मदन र शिवको भेट उर्लाबारीमा रहेको शिवको मूल घरमा भयो । राजघाट गाउँ पञ्चायत वडा नं. ८ मा ‘बाटो खोली पाउँ’ भनी मदनले निवेदन दिएका थिए । त्यो सिफारिस ल्याउन शिवलाई अराएर मदन भने मोरङको सुन्दरपुर तीनपैनीस्थित मामाघरतिर लागे । त्यहीँ शिवलाई पर्खने र भेट भएपछि विराटनर जाने सल्लाह गरेर छुट्टिए । गाउँ पञ्चायतको सिफारिस लिएर साँझसम्म शिव तीनपैनी पुगे । मदन र शिव कान्छा मामाको घरबाट भोलिपल्ट विराटनगर हिँडे ।

मोरङ जिल्ला प्रशासन कार्यालयमा पत्र बुझाउँदै मदनले आफ्ना कुरा राखे— “हामी विकास निर्माणको कुरा गरिरहेका छौं । बाटो बनाउने भनेर योजना बनाएका छौं । इटहरामा ‘अराष्ट्रिय तङ्खव’ छन् भनेर उर्लाबारी थानामा ककसको नाम छ ? हामीलाई ‘अराष्ट्रिय तङ्खव’ भन्दै पुलिसले धरपकड गर्दै छ, के हो ? अराष्ट्रिय तङ्खव भनेको के हो ? के आधार छ ? जनतालाई किन यसरी दुख दिइँदै छ ?”

“हामीले कसैलाई अराष्ट्रिय तङ्खव भनेका छैनौं । कसैलाई पक्रन पनि लाएका छैनौं” भनेर जबाफ दियो जिल्ला प्रशासनले ।

“अनि त्यहाँ किन यस्तो अन्याय भैरहेछ ?” तुरून्त पत्र पठाएर वा कुनै माध्यमबाट त्यसबारे बुझ्न अनुरोध गरे मदनले । जिल्ला प्रशासनका अधिकारीले ‘तोक लगाएको पत्र लिएर जान’ भने । “हामी किन पत्र लिएर जाने ? हामीलाई पक्रेर राख्छ ।” त्यसैले प्रशासनले आफ्नै माध्यम प्रयोग गर्नुपर्ने छलफल भयो । तर, प्रशासनले ‘भोलिपल्ट मात्रै पत्र पु¥याउन सक्ने’ बतायो । ‘हवस्, भोलि नै पु¥याउनुहोला’ भनेर मदन र शिव पनि फर्किए ।

बाटो विवाद किनारा लाग्दै थियो । मदन राजनीतिमा सक्रिय हुन थाले— जीवन शर्मा भएर ।

हुन त मदन सक्रिय राजनीति नगर्ने भनेर घर फर्किएका थिए । दाइ गृहस्थी त्यागेका, घरमा साना भाइबहिनी, उमेर ढल्किसकेका बुबाआमा । घरव्यवहार धान्न गाउँ फर्किएको मान्छे । उनी गाउँमै घरव्यवहारसँगै विकास निर्माण र शैक्षिक चेतना विस्तारमा सक्रिय थिए । तर, एक दिन मोदनाथ प्रश्रित इटहरामै आइपुगे अचानक । प्रश्रितलाई मदनले ‘बनारसका मेरा गुरू’ भनेर चिनाए परिवारमा— हाम्रो गाउँघर हेर्न आएका मेरा गुरू ।

प्रश्रितले घरव्यवहार हेरेपछि मदनलाई आग्रह गरे— “चार–पाँच बिघा जमिन रैछ, त्यो पनि आबादी । घरमा परिवार पनि ठुलै रैछ । मदनजी, तपाईं सक्रिय राजनीतिमा आउनुप¥यो !”

मदनले फेरि पनि पारिवारिक समस्या अगिसारे । प्रश्रितले अलि जबरजस्ती पारामा ‘बुबाआमालाई भन्नुपर्छ कि ? आपैmले वा स्थानीय पार्टीका साथीहरु सबैले छलफल गरेर निर्णय गर्ने’ भनेर च्यापे । बल्ल मदनले मुख खोले— “सांस्कृतिक फाँटमा काम गर्छु । पार्टीको अरु काम अहिल्यै गर्न सक्तिनँ ।”

त्यसताका केही व्यक्तिगत, केही पारिवारिक–राजनीतिक कुरा गरेर फर्किए प्रश्रित । मदन आफ्नै लहनतहनमा लागिरहे ।

प्रश्रित फेरि इटहरा पुगे दोस्रो पटक । त्यस पटक भने एउटा सांस्कृतिक भेला गरियो इटहरामा । मदनले फेरि पारिवारिक समस्या देखाए तर घरपरिवार हेर्दै मोरङको पूर्वी इलाकामा गतिविधि गर्न राजी भए ।

मदनले सैद्धान्तिक अध्ययन गरेकै थिए । अब उनको व्यावहारिक गतिविधिको पहिलो काम राजनीतिक प्रशिक्षण र सांस्कृतिक क्रियाकलाप हुने भयो । त्यसपछि सांस्कृतिक गतिविधि अलि बढेको थियो । राजनीतिक क्रियाकलाप हुन थालेको थियो ।

प्रश्रितहरु (जीवराज आश्रितसहित) तेस्रोपल्ट इटहरा जाँदा पार्टीको आन्तरिक जीवन त्यति सहज थिएन । पुष्पलाल बनारसमै बस्ने, पार्टीका युवाहरु ‘देशभित्रै सङ्गठन गरौं’ भन्ने । पार्टीभित्र मत विभाजित भएकाले सङ्गठनका गतिविधिमा पनि विभाजन हुने स्थिति बन्दै थियो । जीवराज आश्रितका कारण लुम्बिनीका सबै पार्टी सङ्गठनले युवाहरुलाई साथ दिने अवस्था आयो । पूर्वमा सङ्गठन हाँक्न सक्ने पात्र देखेका प्रश्रित र आश्रितहरुले मदनलाई पूर्णकालीन भई पार्टीमा काम गर्न आग्रह गरे । २०३२ सालसम्म पनि मदन पूर्णकालीन हुने वा नहुने दुविधामै थिए ।

पार्टीभित्रको फरक वैचारिक चिन्तन र मत विभाजनले प्रश्रित र आश्रितलाई भरपर्दो मित्र चाहिएको थियो । पुष्पलालले लत्तो छाडेको, लुम्बिनी, राप्ती र गण्डकीको सङ्गठनले साथ दिएको कुरा विस्तारमा मदनलाई सुनाए । मदन सधैं बुबाआमा र घरपरिवारको कुरा गर्ने । प्रश्रित र आश्रित एक रात बुबासँगै कुरा गर्न बसे । देशको अवस्था, पार्टीको स्थितिबारे निकै लामो कुराकानी भयो । लामो छलफल र कुराकानीपछि बुबाले मदनका लागि बाटो खोलिदिए । मदन राजनीतिमा सक्रिय हुने निश्चित भयो । पहिले उनी पार्टी सदस्य थिए, अब पूर्णकालीन राजनीतिमा सक्रिय भए ।

पार्टीको भूमिगत क्रियाकलाप सुचारू भयो । मदन सक्रिय बने । अब आफ्नो परिचय दिँदा भन्न थालेका थिए— जीवन शर्मा ।

पुष्पलालसँग विद्रोह
२०२५ जेठ २–३ गते गोरखपुरमा पार्टीको तेस्रो सम्मेलन गरेर पुष्पलालले नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व गरेका थिए । व्यापक विकास र विस्तारपछि पार्टीले २०२९ भदौमा चौथो सम्मेलन सम्पन्न गर्‍यो । सो सम्मेलनको वर्षदिनपछि नै पुष्पलाललाई सहयोगीहरुले छाडेर जान थाले । नारायणमान बिजुक्छेले २०३० सालमा छाडे, रुपलाल विश्वकर्माले २०३१ सालमा । त्यही क्रममा २०३३ मा आउँदा पार्टीको सांस्कृतिक मोर्चाका अगुवा मोदनाथ प्रश्रित र लुम्बिनीका सङ्गठक जीवराज आश्रितहरुले पनि छाडे । यो क्रममा मदन भण्डारी पनि जोडिए ।

२०३३ सालमा बीपी कोइरालाहरु प्रवासबाट फर्कने हल्ला चल्न थाल्यो । पुष्पलाल कङ्ग्रेस वा बीपीसँग मिलेर मात्रै नेपालमा आन्दोलन गर्न सकिने निष्कर्ष निकालेर बसेका थिए भने बीपी कम्युनिस्टप्रति त्यति सहिष्णु थिएनन् । तर, ‘बीपी र पुष्पलाल मिल्ने हो भने नेपालमा आन्दोलन हुन्छ, नत्र हुँदैन’ भन्ने जब्बर तर्क गर्नेहरु पनि बनारसमा थिए धेरै । अन्य नेता सामान्य हुन् । घरमै बस्ने मनमोहन केही बौद्धिक कार्यक्रममा मात्रै जाने । जेलबाट भर्खर छुटेका मोहनविक्रम नयाँ पार्टी बनाउन लागेका थिए ।

केही वामपन्थी युवाहरुले बीपी र पुष्पलाललाई एउटै मञ्चबाट बोल्न लगाउने प्रयत्न थाले । उनीहरु सफल पनि भए । पहिले बीपी र पुष्पलाल एउटै मोर्चा बनाउन तयार भए भन्ने सन्देश प्रसार गर्न एउटा कार्यक्रममा गणेशमान बोले । एक महिनापछि बीपी, पुष्पलाल र गणेशमान एउटै मञ्चमा उत्रिएर बोले । युवाहरु उत्साहित भए ।

संयुक्त कार्यक्रमको करिब एक महिनापछि पुष्पलाल समूहकोे दशपुत्र गल्लीस्थित सम्पर्क कार्यालयमा बीपी, गणेशमान र मङ्गलादेवी आए । छलफलका क्रममा बीपीले भने— “पुष्पलालजी, अस्ति हामीले संयुक्त रुपमा जाने भन्यौं । भाषण पनि ग¥यौं तर इन्दिरा गान्धीले इमर्जेन्सी लगाएर हामीमाथि निकै निगरानी बढाएकी छन् । अब संयुक्त आन्दोलन हुने देखिएन । हामी त नेपाल जान्छौं । राजाले गिरतार गरे पनि, राजाको जेलमा बस्नुपरे पनि हामी जाने भयौं— राजासँग मेलमिलापको नीति लिएर ।”

पुष्पलालले ‘नजान’ भने— “राजाले बेकारमा थुन्छ । छ–सात वर्ष त्यत्तिकै बित्छ । आन्दोलन पनि बर्बाद हुन्छ ।”

पुष्पलालले बीपीहरुलाई रोक्न कोसिस गरे तर उनीहरु सल्लाह लिन नभई निर्णय सुनाउन त्यहाँ पुगेका थिए । बीपीहरु रोकिनेवाला थिएनन् ।

बीपी र गणेशमानले नेपाल फर्कने निर्णय गरे पनि मङ्गलादेवीले पुष्पलाललाई मन अड्याउने ठाउँ दिन खोजिन् । उनी पुष्पलाललाई ‘भाइ’ सम्बोधन गर्थिन्— “हेर भाइ ! यी बुढाहरुलाई बोलाएर संयुक्त मोर्चाको कुरा ग¥यौ । यिनले ‘हुन्छ’ भने । भाषण पनि गरे । एक महिना बितेको छैन, राजाको तबेलामा घाँस खान जाने भए ।”

मङ्गलाले त्यही भाषामा थपिन्— “जिन्दगीको तपस्या डुबाउने भए । ल यी बुढाहरु जाने भए पनि विश्वास गर्छौ भने कङ्ग्रेसको तर्पmबाट म र तिमी भएर संयुक्त मोर्चा बनाऊँ ।”

मङ्गलाले जोडदार रुपमा राखेको सो कुरामा त्यहाँ उपस्थित सबैले ताली बजाए । गणेशमानले पनि ‘ए, ल गर्छौ भने तिमी भाइबैना मिलेर गर’ भने— व्यङ्ग्य जस्तो । त्यो सम्भव थिएन । अन्ततः मङ्गलादेवी उनीहरुसँग नेपाल फर्किइन् ।

नेपाली कङ्ग्रेसको नेतृत्व ‘राष्ट्रिय मेलमिलाप’ को नाममा नेपाल फर्किएपछि निराश भएका पुष्पलाल ‘अब संयुक्त मोर्चा बन्न सक्तैन’ भन्न थाले— “हामी एक्लै मात्र आन्दोलन गर्न सक्तैनौं । प्रमुख दुस्मनलाई परास्त गर्न अर्को दुस्मनसँग मिलेर लड्नुपर्छ । एक–दुई वर्ष परिस्थितिको अध्ययन गरौं । नआत्तिनु बरू यतै बस्ने व्यवस्था गरौं, भित्र नजानु ।” देशभित्रै सङ्गठन र सङ्घर्षको कुरा गर्ने कार्यकर्तालाई सम्झाउँदा पुष्पलाल बढी नै निराशाका कुरा गर्न थालेका थिए— “म एक–दुई वर्ष लाइब्रेरी अध्ययन गर्छु । परिस्थितिको अध्ययन गरेर डेढ–दुई वर्षपछि कार्यक्रम लिएर जाउँला ।” पुष्पलालको निराशा एकातिर थियो भने अर्कातिर युवाहरु जुर्मुराएर उठ्न लागेका थिए । त्यसैले पुष्पलालको निराशा देखेर युवाहरु दुखी भए तर आफ्नो गति रोकेनन् ।

अब युवाहरु आपैm परिस्थितिको विश्लेषण गर्न थाले— पुष्पलाललाई ‘बीपी वा नेपाली कङ्ग्रेससँग संयुक्त नभई आन्दोलन गर्न सकिँदैन’ भन्ने भ्रम छ । बीपीहरु बाटो लागिसके । यो पुरानो पुस्ताबाट अब क्रान्ति हुन सक्तैन । हामी पुष्पलालबाट छुट्टिनुपर्छ । अब झापालीहरुसँग मिलेर नेपालभित्रैबाट क्रान्ति गर्नुपर्छ भन्ने निष्कर्षमा पुगे । युवा जमात पुष्पलालसँग अगल भएर अगाडि बढ्ने निश्चित भयो ।

सतहमा देखिने मतभेद त्यति नै थियो ।

हुन त सतहमा देखिएको मतभेद त्यति गम्भीर लाग्दैन तर पुष्पलालप्रति पार्टीका युवाहरु बढी नै आक्रामक भइसकेका थिए । मुक्तिमोर्चाको पाँचौं र छैटौं शिविरमा प्रकाशित लेखका अनुच्छेदहरुले मतभेदको डिग्री मापन गर्न खुला छोडेको छ, तिनबाट गहिराइ पनि नाप्न सकिन्छ ।

पाँचौं शिविरबाट
….वामपन्थी कम्युनिस्टहरुसँग एकता नगर्ने हठ लिनु, कङ्ग्रेसीहरुलाई सहोदर भाइसरह र कम्युनिस्टहरुलाई सौतेनी भाइ या जन्मजात वैरीसरह व्यवहार गर्नु, आपैmले नेतृत्व गरेको पार्टीलाई पनि दरिलो र एकताबद्ध पार्नुको सट्टा तोडफोड र गुटबाजी गर्नु, सशस्त्र सङ्घर्षको चर्चा र माग गर्ने साथीको खिल्ली उडाउनु, अनेक उपायद्वारा ‘नेपालमा सशस्त्र सङ्घर्ष हुन सक्तैन’ भन्ने धारणाको प्रचार गरी कार्यकर्ताको मनोबल गिराउने प्रयास गर्नु आदिबाट (उहाँको ध्येय) प्रकट हुन्छ । ….ताङ्खिवक निष्कर्षमा उहाँ नेपाली कङ्ग्रेसका सहोदर ‘माहिला भाइ’ भन्दा बढी केही हुनुहुन्न भन्ने कुरा २००६ सालदेखिका घटनाक्रमले स्पष्ट गरेको छ । त्यसैले उहाँलाई ‘माओको विचार मान्ने पार्टीका महामन्त्री’ भन्नुभन्दा ‘भारतको व्यापारिक प्रबन्ध गर्ने क्षेत्रपाटीका माइला साहु’ भन्नु बढी सार्थक हुन्छ….

००
छैटौं शिविरबाट
….यो गद्दार पार्टीमा यस्तो चिन्तन प्रयोग गरी अगि बढ्नुभन्दा बरू पार्टी नै तहसनहस भएको हेर्न चाहन्थ्यो । ऊ ने.का. ले बम आन्दोलन चलाउँदा त्यसको खुब गुणगान गथ्र्यो तर पार्टीभित्र कहीँ पनि सशस्त्र सङ्घर्षको कुरा उठ्ता रिसले चुर हुन्थ्यो । ….वास्तविकता उदाङ्गिँदै जाँदा सबैमा यो कुरा स्पष्ट साबित हुँदै गयो कि पीएल स्पष्टतः माओ त्से तुङ विचारधाराको विरोधी हो, सशस्त्र कृषि क्रान्तिको तगारो हो र निचोडमा ऊ खुङ्खार संशोधनवादी मात्र हो । त्यसैले ऊ जस्ता गद्दारसँग अन्तरपार्टी सङ्घर्ष चलाई समस्याको समाधान कदापि सम्भव छैन । विदेशमा बसेर चमडी जोगाउन चाहने यस भगुवासँग बहसमा अल्झिरहनु स्वयं क्रान्ति र पार्टीलाई धोका दिनु हो….

पार्टीभित्रका मतभेद स्वस्थ प्रतिस्पर्धाका विषय बनेनन् । गाली र तितो ओकल्ने स्तरमा ओर्लियो पार्टी । वास्तवमा यो व्यावहारिक तर्क नभई युवा जोसको दुरूपयोग थियो (सो विषयमा आक्षेपकर्ताहरुले आत्मसमीक्षा पनि गरेका छन्) । तर यसबाट सतहमा देखिएभन्दा गहिरो र चिसो मतभेद थियो भन्ने आधार र प्रमाण प्रशस्त भेटिन्छन् । अन्तरपार्टी सङ्घर्ष गर्नेभन्दा बेग्लै हुने ध्याउन्न बढी थियो । सशस्त्र क्रान्ति गर्ने लालच थियो । झापा विद्रोहीप्रति मुक्तिमोर्चा समूहको सम्मोहन बढी नै थियो । त्यसै मेसोमा २०३३ असार १५ गते रुपन्देहीमा भएको भेलाले पुष्पलाल समूहबाट अलग भएको औपचारिक घोषणा नै ग¥यो ।

सशस्त्र सङ्घर्षप्रति मदन भण्डारीले पनि लोभ देखाएका थिए । मुक्तिमोर्चाको पाँचौं शिविरमा जीवन शर्माको नामबाट प्रकाशित ‘सही नीति र पार्टी निर्माण गरी क्रान्तिकारी कार्यदिशामा अघि बढौं’ शीर्षक लेखले त्यति बेला पुष्पलाल समूहभित्र रहेको मतभेद राम्ररी उजागर गरेको छ । पार्टीभित्र सशस्त्र सङ्घर्षको लाइनमा युवाहरु थिए र त्यसलाई पार्टीभित्रै ‘अन्तरपार्टी सङ्घर्ष’ मार्पmत निकास दिनेभन्दा बेग्लै पार्टी बनाउने विषय लेखको शीर्षकमै परेको छ ।

….कम्युनिस्ट पार्टीका प्रमुख चिन्तकहरुले पार्टी तथा कामलाई २०–२२ वर्षसम्म संशोधनवाद, वैधानिक राजतन्त्र वा संसदीय घेरामै सीमित राख्ने षड्यन्त्र गरेको हुँदा कार्यकर्ताहरुमा नेताहरुको गद्दारीप्रति विरोध र सामन्ती सत्ताप्रति तीव्र विद्रोहको ज्वाला उर्लियो । यसको परिणाम झापा जिल्लाको सशस्त्र विद्रोह हो । त्यस विद्रोहले संशोधनवादलाई नजिकैबाट चिन्ने आधार तयार पा¥यो । त्यसले कम्युनिस्ट चिन्तनलाई महल र कोठादेखि निकालेर व्यवहारको मैदानमा ओराल्ने काम ग¥यो । सामन्ती व्यवस्थाको विरोधमा शस्त्र उठाउने हिम्मत ग¥यो ।

….माओ त्से तुङ विचारधारा आजको युगको सही माक्र्सवादी–लेनिनवादी सत्य हो । यसको वैज्ञानिकतामा शङ्का गर्नुबाट नै संशोधनवादको प्रारम्भ हुन्छ । अहिलेसम्म साबित भएको छ कि नेपालको आजको परिस्थितिमा सशस्त्र सङ्घर्षको आवश्यकतालाई इन्कार गर्नु संशोधनवादको पहिचान हो । आज नेपालका निम्ति चिनियाँ क्रान्तिको अनुभव सबभन्दा बढी उपयोगी तथा निर्देशक हुन्छ भन्ने कुरामा पनि शङ्का गर्ने ठाउँ छैन । चिनियाँ क्रान्तिको अनुभवले शिक्षा दिएको छ— यदि कार्यदिशा सही छ भने कमजोर शक्ति बढेर मजबुत हुन सक्छ, सशस्त्र शक्ति कायम गर्न सक्छ र राजसत्ता प्राप्त गर्न सक्छ । तर, कार्यदिशा गलत छ भने क्रान्तिमा धक्का लाग्छ र पाएको फलबाट पनि हात धुनुपर्छ । हो, हामीकहाँ पनि ठीक यस्तै भएको छ— दिल्ली सम्झौता, संविधानसभा हरण, संसद् विघटन आदि नाटकहरु कम्युनिस्ट पार्टीको गलत कार्यदिशाका परिणाम हुन् र आज पनि उही गलत, संशोधनवादी र संसदीय कार्यदिशाले गर्दा सङ्घर्षको विकास हुन सकिरहेको छैन । त्यस कारण हाम्रो अति नै स्पष्ट धारणा छ कि सशस्त्र कृषि क्रान्तिको कार्यदिशा नै एक मात्र र सही कार्यदिशा हो….

‘मुक्तिमोर्चा समूह सशस्त्र सङ्घर्षको बाटोबाट अगिबढ्न चाहन्छ’, लेखको अन्तर्य यही हो । पाँचौं शिविरको महङ्खव यसैमा छ ।

पुष्पलाललाई गद्दार भनेर गाली गरे पनि, नगरे पनि मुक्तिमोर्चाको पहिलो उद्देश्य झापाली समूहले निर्माण गरेको अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोअर्डिनेसन केन्द्र (कोके) सँग मिल्नु थियो । कोकेसँग एकता वार्ता गर्न मुक्तिमोर्चा समूहबाट आश्रित र सुवास (वामदेव गौतम) काठमाडौं आएका थिए । उनीहरुले निकै कष्ट गरेर मञ्जुल, अमृत बोहरा हुँदै सीपी मैनालीलाई भेटे । सीपीसँग तीन दिनसम्म कुराकानी भयो । धेरै कुरामा सहमत भए । नमिलेका विषयलाई कामकै क्रममा बिस्तारै मिलाउने समझदारी भयो । एकता वार्ताले आकार लिँदै गयो ।

मुक्तिमोर्चा पुष्पलालसँग बस्न नसकेर आफ्नो उकुसमुकुस शान्त पार्न बनेको समूह जस्तै थियो, नीति र कार्यक्रमले बाँधिएको थिएन । झापा विद्रोहको सम्मोहनले आकर्षित थियो, सङ्गठन गतिलो थिएन । तर, कार्यकर्ता जति थिए, एकै भावनाका थिए । मुक्तिमोर्चाको नेतृत्व विधिवत् सङ्गठित भएर मात्र कोकेसँग मिल्ने सोचाइमा थियो तर कार्यकर्ता तत्काल कोकेमा सामेल हुन चाहन्थे । कोके पनि बाहिरबाट हेर्दा वा मुक्तिमोर्चाको आँखामा जस्तो चित्र थियो, सङ्गठन उस्तो चुस्त र व्यापक थिएन । तर, एकताप्रति दुवैको आसक्ति थियो । संयोग भनौं वा नियति— दुवैले एकअर्कालाई कमचाहिँ ठानेका थिएनन् ।

कोके र मुक्तिमोर्चाबिच २०३४ भदौ १४ गते विधिपूर्वक एकता भएपछि कोकेको तेस्रो सम्मेलन २०३५ साउन ४–९ मा धनुषाको ठेरा कचुरीमा सम्पन्न भयो । सोही सम्मेलनले ६ महिनाभित्र क्रान्तिकारी पार्टी गठन गर्ने निधो ग¥यो । पूर्वको रातो झन्डा समूह २०३५ भदौ २६ गते, क्रान्तिकारी सन्देश समूह (दाङ) २०३५ मङ्सिर २७ गते र अन्य भूमिगत सङ्गठनहरु पनि कोकेमै गाभिए । यी सबै एकतामा आए पनि सङ्गठनको नाम कोके नै थियो । धनुषा सम्मेलनको निर्णयअनुसार २०३५ पुस ११ देखि १७ गतेसम्म मोरङको इटहरामा सम्मेलन भयो । सो सम्मेलनले स्थापना गरेको थियो नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी–लेनिनवादी) अर्थात् ‘माले’ ।

माले गठनको अवधि
पञ्चायती निर्दलीयता लादिएसँगै बन्द स्वभावको नेपाली राजनीतिमा झापा विद्रोहले नयाँ तरङ्ग ल्यायो । पञ्चायतसँग जोरी खोज्न सक्ने हिम्मत बाँचेको सङ्केत थियो त्यो । राज्यले यसलाई विद्रोह ठान्यो । विद्रोह दबाउने नाममा व्यापक दमन ग¥यो । देशका विभिन्न स्थानमा, भिन्नाभिन्नै नाम र नियतिमा बाँचेका वाम समूहहरु एक ठाउँ हुने वा राष्ट्रिय स्तरमा पुनर्गठित हुने प्रयत्न प्रारम्भ भयो । सुरूमा २०३१ जेठ १५ गते तत्कालीन नेकपा झापा जिल्ला कमिटी र क्रान्तिकारी कम्युनिस्ट सङ्गठन मोरङले एउटा राष्ट्रिय स्तरको कोअर्डिनेसन कमिटी बनाउन अपिल गरे । फलस्वस्प झापा, इलाम, मोरङ, सिराहा, बारा, सिन्धुपाल्चोकतिरका कम्युनिस्ट कार्यकर्ता र कमिटी नयाँ स्वरुपको संरचना बनाएर अगि बढ्न तत्पर भए । यिनै जिल्ला र भारतबाट आएका प्रतिनिधि २०३२ जेठ २४–२५ गते विराटनगरमा भेला भए । त्यो भेलाले ‘अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोअर्डिनेसन कमिटी (माक्र्सवादी–लेनिनवादी) नामको सङ्गठन बनायो । छोटकरीमा ‘कोके’ मात्रै भनेर चिनियो त्यो ।

कोकेसँग थुप्रै वाम समूहहरु एकीकृत हुँदै गए । धनुषा ठेरा कचुरीको सम्मेलनपछि २०३५ मङ्सिरमा केन्द्रीय समितिको बैठक बस्यो काठमाडौंमा, विष्णुबहादुर राउतको डेरामा । कोकेसँग विचार र सङ्गठन थियो । त्यसैले ‘अब राजनीतिक पार्टी बनाउने’ निर्णय लियो बैठकले । माओ त्से तुङको जन्म जयन्ती पारेर सन् १९७८ डिसेम्बर २६ देखि सम्मेलन सुरू गर्ने । त्यसपछि विधिवत् रुपमा पार्टी स्थापनाका लागि छलफल हुने मिति र स्थान छनोट गरिएको थियो— मिति : २०३५ पुस ११–१७ (२६ डिसेम्बर १९७८ देखि १ जनवरी १९७९), स्थान : मोरङको इटहरा ।

इटहरा क्षेत्रमा लप्टन बलबहादुर भनेर चिनिएका थिए जमिनदार बलबहादुर निरौला । उनको जमिनमा खेतीपाती गरी बस्ने धेरै अधियारहरु थिए । हसन्दहमा थियो उनको ठुलो कामत । आपूmले भनेको नमान्ने किसानलाई त्यहीँ कोर्रा हान्ने, थुनेर राख्ने गर्थे बलबहादुर । धनी थिए, ठुलै सामन्त । इटहराको पश्चिमी क्षेत्र तिनै लप्टनको थियो । त्यहाँको प्रमुख अन्तरविरोध पहिल्याइयो— किसानहरुलाई दुःख दिने को हो ? यहाँको जमिनदार को हो ? पहिचान गर्दै जाँदा तिनै लप्टन भेटिए । त्यसरी अन्तरविरोध पहिल्याएका भीष्म किसानको बिचमा आधार बनाएर सङ्गठनको काम गरिरहेका थिए । तिनै किसानहरुको बिचमा क्रान्तिकारी पार्टी स्थापना गर्ने अवसर जुरेको थियो ।

त्यो नयाँ झोडे बस्तीमा भीष्म र उनको समूह सक्रिय थियो । सम्मेलन आयोजना गर्ने नेतृत्व भीष्मले गरेका थिए । स्थानीय पार्टी कमिटी राम्ररी परिचालन गरिएको थियो । कोकेको इलाका कमिटीले व्यवस्थापनको जिम्मा लियो । स्थान छनोट गर्ने काम भीष्मले जिम्मा लिए इटहराको डिफु गाउँ । गरिब किसानको घर छानियो । भीष्म प्रायः टेकबहादुर राईको त्यही घरमा बस्ने गर्थे । इलाका कमिटीले पनि त्यही घर अनुमोदन ग¥यो ।

कोकेको नीति नै थियो— वन एरिया, वन युनिट, वन स्क्वाड, वन एक्सन । अर्थात् होलटाइमर कार्यकर्तामार्पmत एउटा एरिया छान्ने र त्यहाँ एउटा युनिट बनाउने । आधारभूत वर्गको बिचमा एउटा स्क्वाड बनाउने, राजनीतिक रुपले प्रशिक्षित गर्ने र त्यहाँको मूल वर्गशत्रु विरूद्ध आन्दोलनलाई सङ्गठित गरेर इलाकाको सत्ता कब्जा गर्ने । सायद झापा आन्दोलनको विरासतबाट कोकेले लिएको यही नीतिअनुरुप इटहरामा पार्टी स्थापनाको अभ्यास भएको थियो !

टेकबहादुरको घर बक्राहा खोलाको छेउमा थियो । टाढाबाट आउने प्रतिनिधिलाई घर चिन्न सजिलो र जान–आउन पनि सहज— खोलै खोला, अर्थात् खोलाको किनारै किनार । स्थान र अवस्थितिको अनुकूलता हेरेर निर्णय गरिएको हुन सक्छ त्यस्तो घर ।

सम्मेलन तोकिएकै समयमा सुरू भयो । सम्मेलनमा २५ जना सहभागी थिए । सायद यो सम्मेलन स्थलभित्र बस्ने प्रतिनिधि सङ्ख्या हो तर सम्मेलन स्थलबाहिर पनि सुरक्षा र व्यवस्थापनमा त्यहाँको इलाका कमिटीका सदस्यहरु सक्रिय थिए ।

टेकबहादुरको घर त छानियो तर त्यहाँ थुप्रै अभाव थिए । भूमिगत रुपमा गर्नुपर्ने सम्मेलनका लागि आयोजकले नयाँ संरचना थप्नुपर्ने भयो । केही कोठा बनाइए टाटी र सन्ठीका । एउटा ठुलो कोठाभित्रै शौचालय बनाइयो महिला र पुरूषका भिन्नाभिन्नै ।

आयोजकका विश्वसनीयहरु सुरक्षामा तैनाथ भए । सम्मेलन स्थलको मात्रै सुरक्षा गरेर पुग्दैनथ्यो । इटहरा क्षेत्रकै सुरक्षा व्यवस्था मिलाइयो । कोकेको मोरङ जिल्ला कमिटी नै सतर्क थियो । सुरक्षाको व्यवस्था गर्न कार्यकर्ता मात्रै तैनाथ गरेर नहुने । पूरै गाउँलाई गोलबन्द गर्नुपथ्र्यो । यी सबै बन्दोबस्त गरेर सम्मेलन स्थल सुरक्षित पारिएको थियो ।

औपचारिक रुपमा पाँच दिनमा सकियो सम्मेलन । सो सम्मेलनले नेपालको वामपन्थी आन्दोलनको इतिहासमा अर्को नयाँ पार्टी गठन ग¥यो— नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी–लेनिनवादी) अर्थात् नेकपा (माले) । सम्मेलनले ९ पूर्ण र १ वैकल्पिक सदस्य रहेको केन्द्रीय समिति पनि निर्वाचित ग¥यो । भीष्म पनि केन्द्रीय सदस्य निर्वाचित भए । सम्मेलनले ३ पूर्ण तथा १ वैकल्पिक सदस्य रहेको पोलिटब्युरो बन्यो । सीपी मैनाली महासचिव भए । २०३७ सालमा आएर केन्द्रीय समितिमा तीन सदस्य थपिए ।

अन्ततः मुक्तिमोर्चाबाट पुष्पलालसँग अलग भएका मदन नेकपा (माले) को केन्द्रीय सदस्य बने । उनको जिम्मेवारी थियो पूर्व–दक्षिण क्षेत्र (झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र पाँचथरको केही भाग) । मदन अब नयाँ बाटोमा हिँड्न थाले । गन्तव्य उही, पुग्ने ठाउँ पनि उही तर बाटो अलग ।
००