अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पक्की पुल र सडक नबन्दा, झोलुङ्गोमा बिरामी बाेक्नुपर्ने रहरले हाेइन बाध्यता छ

पक्की पुल र सडक नबन्दा, झोलुङ्गोमा बिरामी बाेक्नुपर्ने रहरले हाेइन बाध्यता छ


सर्लाही-भौगोलिकरूपले विकट सर्लाहीको चुरे क्षेत्रका वासिन्दाले बिरामी बोक्न अझै झोलुङ्गोकै भर पर्नुपर्ने बाध्यता छ । सडककोे अभव र खोलानालामा पक्की पुल नबन्दा यहाँको बस्तीमा बिरामी बोक्न अझै पनि झोलुङ्गोको प्रयोग भइरहेको हो ।

दिगो सडक सञ्जालमा अझै जोडिन नसकेको र कमजोर भौगोलिक बनावटका कारण पटकपटक बनाइएको कच्ची सडकसमेत हरेक वर्षामा बग्ने गरेको छ । वर्षाका बेला खोला तरेर झोलुङ्गोमा बिरामी लैजान पनि कठिन हुँदै आएको छ । दैनिक उपभोग्य सामग्री ल्याउन समस्या हुनाका साथै उत्पादित खाद्यपदार्थ बजार लान समस्या हुने स्थानीयवासी चर्तुमान घिसिङले बताउनुभयो ।

गाउँमा कोही बिरामी परे यसरी नै मिलेर झोलुङ्गोमा पालैपालो बोकेर पूर्वपश्चिम लोकमार्ग छेउछाउका स्वास्थ्य संस्थामा पु¥याउन हामी बाध्य छौ तर खोलामा बाढी आउँदा भने ज्यान नै जोखिममा पारेर बिरामी तथा दैनिक उपभोग्य सामग्री पार लगाउनुपर्ने बाध्यता रहेको अर्का स्थानीयवासी चन्द्र वाइबाको भनाइ थियो ।

जिल्लाको लालबन्दी, ईश्वरपुर, हरिवन र वाग्मती नगरपालिकाको चुरे भेगका बस्तीमा यस्तो समस्या अझैसम्म विद्यमान छ । ती क्षेत्रमा भरपर्दो स्वास्थ्य संस्था नहुँदा बिरामीलाई झोलुङ्गोमा बोकेर लैजानुपर्छ तर कहिलेकाही बाढी आएर बगाउने अवस्था रहेको लालबन्दी नगरपालिका–१४ का वडाध्यक्ष सुवाई सिंह ब्लोनले बताउनुभयो ।

प्रदेश २ कै कर्णाली भनेर चिनिने नारायण खोलामा बाटो बनाउने काम भई रहेको छ भन्दै नगर प्रमुख मानबहादुर खड्काले त्यहाँको विकास लागि आफूहरुले सबै शक्ति लगाएर कार्य गरिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार स्थायी बाटो बनाउने योजना बनाइएकामा यो वर्ष १४ किलोमिटर बाटो निर्माण भइसकेको र पुलका लागि टेण्डर आह्वान भइसकेको छ । चाडपर्वमा स्थानीयवासीलाई आवतजावतमा समस्या हुन नदिन तत्काल अस्थायी बाटो तयार पारिने छ ।