काठमाडौँ-हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यस प्रणालीका कारण मुलुकका हिमाली तथा पहाडी भू-भागमा बादल लाग्नुका साथै तराई क्षेत्रमा तुवाँलो देखिएको छ।
महाशाखाका अनुसार हाल कर्णाली प्रदेशसहित बाँकी हिमाली भू-भागमा साधारणतया बादल लागेको छ। पहाडी भू-भागमा आंशिक बादल लागेको छ भने तराईका केही स्थानमा तुवाँलोको प्रभाव देखिएको छ। यीबाहेक अन्य भू-भागमा भने मौसम मुख्यतया सफा रहेको छ।
सोमबार दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बादल लाग्ने र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेशको हिमाली तथा पहाडी भू-भाग र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको पूर्वानुमान गरेको छ।



प्रतिक्रिया