काठमाडौं-प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले आफ्नो सचिवालयको कार्यसंरचनामा हेरफेर गर्दै पाँच जनालाई संयोजक र पाँच जनालाई सहसंयोजकको जिम्मेवारी दिएका छन्। कार्यसम्पादनको समीक्षा गरेपछि आइतबारदेखि लागू हुने गरी सचिवालयका केही कर्मचारीको जिम्मेवारी परिवर्तन गरिएको हो भने केहीलाई सेवाबाट हटाइएको छ।
प्रधानमन्त्री शाहले यसअघि विज्ञका रूपमा नियुक्त भएका व्यक्तिहरूको पदनाम परिवर्तन गरी संयोजक र सहसंयोजकको जिम्मेवारी तोकेका हुन्। सहसचिवसरह सेवा सुविधा पाउने पाँच जनालाई संयोजक र उपसचिवसरह सेवा सुविधा पाउने पाँच जनालाई सहसंयोजक बनाइएको छ।
संयोजकको जिम्मेवारी पाउनेमा प्रेस तथा अनुसन्धान विज्ञ रहेकी दीपा दाहाललाई मिडिया व्यवस्थापन संयोजक, विकास परियोजना हेर्दै आएका सञ्जीव पाण्डेलाई विकास तथा मन्त्रालयगत समन्वय संयोजक र कार्यक्रम तथा भ्रमण संयोजक रहेका सन्तोष गिरीलाई अन्तरनिकाय समन्वय संयोजक तोकिएको छ।
त्यस्तै, सामाजिक विकाससम्बन्धी विषय हेर्दै आएका विश्व राईलाई सामाजिक विकास समन्वय संयोजक र विशाल अधिकारीलाई सरकारी मामिला तथा योजना समन्वय संयोजकको जिम्मेवारी दिइएको छ।
यसैगरी, उपसचिवसरह सेवा सुविधा पाउने गरी नियुक्त भएका पाँच जनालाई सहसंयोजक बनाइएको छ। जसअनुसार सुमन गौतमलाई नागरिक उड्डयन समन्वय, रविकिरण अधिकारीलाई सामाजिक विकास समन्वय, प्रकृति ढकाललाई स्वास्थ्य समन्वय, विनय शाक्यलाई संस्कृति तथा सम्पदा समन्वय र दीपकप्रसाद ओलीलाई नीति मस्यौदा अध्ययन उपसंयोजकको जिम्मेवारी दिइएको छ।
यसअघि सरकारी मामिला तथा योजना समन्वय विज्ञका रूपमा कार्यरत माधव खनाललाई भने प्रधानमन्त्रीको सचिवालयबाट हटाइएको छ। उनको स्थानमा विशाल अधिकारीलाई जिम्मेवारी दिइएको छ।
प्रधानमन्त्रीको सचिवालयमा गरिएको यो हेरफेर कार्यसम्पादन समीक्षाका आधारमा भएको प्रधानमन्त्रीको सल्लाहकार टिमका एक सदस्यले बताएका छन्। उनका अनुसार राम्रो कार्यसम्पादन गर्ने केहीलाई बढुवा गरिएको छ भने केहीको जिम्मेवारी हेरफेर तथा घटुवा गरिएको छ। सचिवालयको जिम्मेवारी हेरफेर प्रधानमन्त्री शाहकै निर्देशनमा भएको उनको भनाइ छ।
यद्यपि, प्रधानमन्त्रीका सल्लाहकार तथा स्वकीय सचिवालयमा भने कुनै परिवर्तन गरिएको छैन। मुख्य सल्लाहकारमा कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकारमा असिम शाह, स्वास्थ्य सल्लाहकारमा प्रा. डा. जगदीशप्रसाद अग्रवाल, नीति, प्रशासन तथा सुशासन सल्लाहकारमा सुदीप ढकाल र सूचना तथा सञ्चार प्रविधि सल्लाहकारमा विवेक मिश्र यथावत् छन्।
त्यस्तै, प्रमुख स्वकीय सचिव सुवास शर्मा र स्वकीय सचिव नवीन भण्डारी पनि पूर्ववत् जिम्मेवारीमै कायम रहेका छन्।



प्रतिक्रिया