अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको राष्ट्रिय भेला हुन दुई दिन बाँकी, ३ हजार १६४ प्रतिनिधि सहभागी हुँदै

एमालेको राष्ट्रिय भेला हुन दुई दिन बाँकी, ३ हजार १६४ प्रतिनिधि सहभागी हुँदै


काठमाडौं-नेकपा (एमाले)ले आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेला हुन अब दुई दिन मात्रै बाँकी रहेको छ। आगामी मंसिर २ र ३ गते काठमाडौंमा हुने भेलाको सम्पूर्ण तयारी पूरा भएको पार्टीले जनाएको छ। भेलामा देशभरबाट ३ हजार १६४ जना नेता, जनप्रतिनिधि तथा विभिन्न तहका संगठनका प्रतिनिधि सहभागी हुँदैछन्।

पार्टीको आगामी राजनीतिक कार्यदिशा, संगठनात्मक अवस्था र भावी रणनीतिबारे छलफल गर्ने उद्देश्यले आयोजना गर्न लागिएको भेलालाई एमालेले संगठनात्मक सुदृढीकरण र राजनीतिक समीक्षा गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिएको छ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार काठमाडौंको कार्की ब्याङ्क्वेटमा आयोजना हुने भेलामा ३४६ जना केन्द्रीय सदस्य, ८१ जना केन्द्रीय निकायका प्रतिनिधि, ५५ जना प्रदेश, भारत प्रवास तथा प्रवासी नेपाली मञ्चका प्रतिनिधि, ४४० जना जिल्ला तहका प्रतिनिधि र १ हजार ५०६ जना पालिका कमिटीका प्रतिनिधि सहभागी हुनेछन्।

त्यसैगरी संघीय संसद् तथा राष्ट्रिय सभाका ३५ जना, प्रदेशसभाका १५५ जना, स्थानीय तहका प्रमुख तथा अध्यक्ष १९६ जना, उपप्रमुख तथा उपाध्यक्ष ३४२ जना र जनसंगठनका ९६ जना प्रतिनिधिको सहभागिता रहनेछ।

भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

यातायात व्यवस्थापनलाई सहज र व्यवस्थित बनाउन एमालेले भेलामा सहभागी हुने नेता तथा कार्यकर्तालाई सम्भव भएसम्म निजी सवारीसाधनको सट्टा सार्वजनिक यातायात प्रयोग गर्न आग्रह गरेको छ।

भेलामार्फत पार्टीको संगठनात्मक एकता सुदृढ गर्ने, नेता तथा कार्यकर्ताबीच साझा धारणा निर्माण गर्ने र आगामी स्थानीय निर्वाचनको तयारीलाई प्रभावकारी बनाउने एमालेको लक्ष्य रहेको छ।