अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सकियो छठ पर्व

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सकियो छठ पर्व


काठमाडौं-उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै यस वर्षको छठ पर्व आज बिहान विधिपूर्वक सम्पन्न भएको छ। गत शनिबारदेखि निराहार व्रत बसेका व्रतालुले आज सप्तमी तिथिका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चारदिने छठ पर्व सम्पन्न गरेका हुन्।

महोत्तरीसहित तराई–मधेशका विभिन्न जिल्लामा सूर्योदयसँगै व्रतालुहरूले नदी, तलाउ, पोखरी तथा छठ घाटमा पुगेर सूर्यदेवलाई अर्घ्य अर्पण गरेका थिए। यसअघि आइतबार साँझ षष्ठी तिथिका दिन अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिएका व्रतालुले आज बिहान उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य दिएका हुन्।

छठ पर्वको मुख्य विधि सम्पन्न भएपछि व्रतालुहरू छठ घाटबाट घर फर्किएका छन्। यसअघि कात्तिक शुक्ल चौथीका दिन पवित्र स्नान गरी चोखोनीतो खाएर व्रत सङ्कल्प गर्दै ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरिएको थियो। त्यसपछि पञ्चमी तिथिका दिन राति एक छाक मात्र नुन नहालेको भोजन ग्रहण गरी ‘खरना’ विधि सम्पन्न गरिएको थियो।

कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म चार दिनसम्म मनाइने छठ पर्वमा सूर्यदेवको उपासना गरिन्छ। षष्ठी तिथिको साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिने विधिलाई मिथिलामा ‘सझियाघाट’ वा ‘सझुका अरख’ भनिन्छ भने सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्व सम्पन्न गर्ने विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भन्ने गरिन्छ।

पर्व सम्पन्न गरी घर फर्किएपछि व्रतालुहरूले दीनदुःखी तथा असहायलाई अन्न र वस्त्र दान गर्ने तथा प्रसाद ग्रहण गर्ने परम्परा छ। छठमा ठकुवा, भुसुवा, केरा, अन्य फलफूल तथा माटोका भाँडामा जमाइएको दहीलगायत परिकार सूर्यदेवलाई चढाइन्छन्। यिनै परिकारलाई छठको प्रसादका रूपमा ग्रहण तथा वितरण गरिन्छ।

मिथिला क्षेत्रमा छठको प्रसाद खाने र खुवाउने क्रम महिनौँसम्म चल्ने परम्परा छ। विशेषगरी छोरीचेली, फुपू, मित तथा अन्य इष्टमित्रका घरमा छठको प्रसाद ‘भार’ (सोली) पठाउने चलन रहेको छ।

छठ पर्वमा श्रद्धा, निष्ठा र पवित्रताका साथ सूर्यदेवको पूजा आराधना गरे सुख, शान्ति र समृद्धि प्राप्त हुने तथा रोगव्याधबाट मुक्ति मिल्ने धार्मिक एवं सामाजिक जनविश्वास रहिआएको छ।