अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन

‘महाधिवेशनमा ६० अन्तर्राष्ट्रिय पार्टीलाई निमन्त्रणा गरेका छौँ’

‘महाधिवेशनमा ६० अन्तर्राष्ट्रिय पार्टीलाई निमन्त्रणा गरेका छौँ’


नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनको तयारी तीव्ररुपमा अघि बढेको छ । पार्टीले तयारीका लागि गठन गरेको विभिन्न समितिमध्ये अतिथि सत्कार कमिटीले स्वदेशी र विदेशी राजनीतिक दल तथा प्रतिनिधिको व्यवस्थापन गर्दै आएको छ । उक्त कमिटीका संयोजक डा राजन भट्टराईसँग अतिथि सत्कार व्यवस्थापनबारे पत्रकार मोहन बास्तोलाले गर्नुभएको संवाद :


नेकपा (एमाले)को दशौँ महाधिवेशना सम्मुखमा आइपुगेको छ । तपाईँ अतिथि सत्कार कमिटीको संयोजक हुनुहुन्छ । अतिथि सत्कारको तयारी के–के भइरहेको छ ?
नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशनको सबै तयारी अन्तिम चरणमा पुगेको छ । केन्द्रीय व्यवस्थापन समितिअन्तर्गत अतिथि सत्कार कमिटीको संयोजक पनि भएको हिसावले भन्दा अतिथि सत्कारको अन्तिम तयारीमा जुटेका छौँ ।

महाधिवेशनमा कुन–कुन देशबाट अतिथिहरुको सहभागिता हुने भएको छ ?
हाम्रो भाइचारा र मैत्रीपूर्ण सम्बन्ध रहेका अन्तर्राष्ट्रियस्तरका करीब ६० वटा पार्टीलाई निमन्त्रणा पठाएका छौँ । हामी सबैलाई जानकारी भएकै कुरा हो । अहिले विश्व नै कोरोनाको महामारीबाट मुक्त हुन सकेको छैन । यस्तो अवस्थामा अन्तर्राष्ट्रिय यात्रा गर्ने कुरा त्यति सहज छैन । केही मुलुकले अहिले पनि अन्तर्राष्ट्रिय यात्राका लागि कडाई गरेको अवस्था छ । यस्तो अवस्थामा हाम्रो महाधिवेशनमा उपस्थित हुने अन्तर्राष्ट्रिय पाहुनाको संख्या तुलनात्मक रुपमा कम हुने हामीले आँकलन गरेका छौँ । यद्यपि, ऐक्यबद्धता सन्देश भने धेरै मुलुकबाट प्राप्त गरिरहेका छौँ ।

अहिलेसम्म आउने निश्चित भएका पाहुनको केही विवरण होला नि ?
अहिलेसम्म भारतबाट तीन ओटा पार्टी भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादी, भारतीय कम्युनिष्ट पार्टी र भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादी लेनिनवादी लिबरेशन पार्टीले आउने निश्चित गरेको छ । फरर्वाड ब्लकले पनि महाधिवेशनमा आउने भनेको छ । तर, निश्चित गरेको छैन ।
त्यसैगरी बंगला देशको कम्युनिष्ट पार्टी अफ बंगलादेशका तर्फबाट आउने निश्चित भएको छ । त्यसैगरी रिभोलेसनरी वर्कर पार्टीको तर्फबाट पनि आउँछु भनेर खबर पठाउनु भएको छ । त्यस्तै श्रीलंकाबाट जेभीपी पार्टीको प्रतिनिधि आउने भनेर निश्चित गर्नुभएको छ ।
त्यस्तै कम्बोडियाको सत्तासिन पार्टी कम्बोडियन पिपुल्स पार्टीको प्रतिनिधिले पनि आउने निश्चित भएको छ । फ्रेञ्च कम्युनिष्ट पार्टीले पनि प्रतिनिधि पठाउने भनेको छ । टर्कीको वामपन्थी पार्टीले आउने भनेको छ । यद्यपि, त्यहाँ कोरोना बढेका कारण निश्चित भएको छैन । युरोपमा पनि पछिल्लो समय कोरोना संक्रमण बढेका कारण युरोपियन पार्टीहरुले आउने चासो राख्दा–राख्दै पनि आउन नसक्ने स्थिति भएकाले सन्देश पठाउने कुरा गरेका छन् । दक्षिण एशियाका अरु रुलिङ पार्टीहरुलाई पनि हामीले निम्ता गरेका छौँ । उहाँहरुलाई सकेसम्म प्रतिनिधि पठाउनु नभए सन्देश पठाउनु भनेका छौँ । चिनियाँ कम्युनिष्ट पार्टीले यो कोरोनाका कारण आउन नसक्ने भन्दै शुभकामना सन्देश पठाउने भनेको छ ।
नर्थकोरिया पार्टीले शुभकामना सन्देश पठाउने कुरा भएको छ । भियतनाम र लावसले प्रतिनिधि नै पठाउन सक्ने या शुभकामना सन्देश पठाउने भन्ने विषयमा हामीले टुंगो गरिसकेका छैनौँ भनेको छ । हामी त्यसको निरन्तर फलो गरिरहेका छौँ । क्युवालाई पनि निम्तो दिएका छौँ । अहिलेसम्म बेल्जियमबाट शुभकामना सन्देश प्राप्त भएको छ । आयरल्याण्डबाट शुभकामना सन्देश प्राप्त भएको छ । जर्मनी र रसियाका तीन ओटा पार्टीले शुभकामना सन्देश पठाउने भन्नुभएको छ ।

देशभित्रचाँहि महाधिवेशनका लागि कुन–कुन पार्टीलाई निम्ता गर्नुभएको छ ?
देशभित्रको संघीय संसदमा रहेका सात वटा राजनीतिक दललाई हामीले महाधिवेशनको उद्घाटन सत्रमा निम्ता गरेका छौँ । नेपाली काँग्रेसका सभापति एवं सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवालाई मंसिर ३ गते एमाले नेता सुवास नेम्वाङ र मसहितको टोलीले निमन्त्रणाको पत्र हस्तान्तरण गरेका छौँ । उहाँले आउने कुरा गर्नुभएको छ । हामीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निमन्त्रणा गरेका छौँ । यसैगरी हामीले महन्थ ठाकुरज्युको पार्टीलाई निमन्त्रण दिएका छौँ । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुच्छेलाई पनि म र एमाले नेता कृष्णगोपाल श्रेष्ठसहितको टोली उहाँकै पार्टी कार्यालयमा पुगेर निमन्त्रणा गरेका छौँ । हामीले उपेन्द्र यादव, कमल थापा, चित्रबहादुर केसी उहाँहरुको पार्टीलाई निम्ता गर्न उहाँहरुसँग समय मागेका छौँ । यसरी मुलुक भित्रका सात पार्टीलाई हाम्रो महाधिवशेनमा उपस्थित हुन निमन्त्रणाको तयारी गरेका छौँ । यद्यपि, माधव नेपालको पार्टीलाई भने हामीले निम्ता गरेका छैनौँ । हामीले देशभित्रका कुटनीतिक नियोगका प्रमुखहरुलाई पनि निम्ता गरेका छौँ । कतिपय प्रमुखहरुले आउने भनेर हामीलाई खवर पनि गर्नुभएको छ ।

देश–विदेशबाट महाधिवेशनमा निम्ता गर्दा उहाँहरुको सत्कारका लागि कस्तो तयारी गर्नुभएको छ ?
हामीले अन्तर्राष्ट्रिय पाहुनाहरुलाई ढिलोमा मंसिर ९ गतेसम्म काठमाडौँ आइपुग्नु भनेका छौँ । अधिकांश पाहुना ९ गते नै आइपुग्नुहुन्छ । उहाँहरुलाई १० गते बिहान काठमाडौँबाट चितवन लैजान्छौँ । चितवनमा उद्घाटनसत्रमा सहभागी गराएपछि उहाँहरुलाई सौराहाको होटलमा बस्ने व्यवस्था गर्छौ । ११ गते साँझ पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले उहाँहरुको सम्मानमा रात्रीभोजको आयोजना गर्नुहुने छ । त्योसँगै हामीले पाहुनाहरुकै सम्मानमा स्थानीय संस्कृतिका बारेमा जानकारी गराउन केही साँस्कृतिक कार्यक्रमको आयोजना गर्नेछौँ । उहाँहरुलाई सौराहामा दृष्यावलोकनको पनि व्यवस्था गरेका छौँ । जंगल सफारीको पनि योजना बनाएका छौँ । काठमाडौँमा पनि उहाँहरुको सम्मानमा भेटघाटको आयोजना गर्ने तयारी गरेका छौँ । उहाँहरुलाई उपहारको पनि व्यवस्था गरेका छौँ ।

अन्तर्राष्ट्रिय पाहुनालाई नेपालको कम्युनिष्ट आन्दोलन र एमालेको राजनीतिक कार्यदिशाबारे केही जानकारी गराउने कार्यक्रम तय गर्नुभएको छ ?
उहाँहरुलाई हामीले हाम्रो पार्टीको इतिहास, वर्तमान अवस्था र हामीले भविष्यका लागि अघि सारेका सिद्धान्त, कार्यक्रम र कार्यदिशाका बारेमा पनि उहाँहरुलाई जानकारी गराउने योजना बनाएका छौँ । हाम्रो आन्दोलन, यो बिचमा हामीमाथि भ्रम छर्ने भएका प्रयास, हामीले प्राप्त गरेका सफलता लगायतका बारेमा पनि हामी उहाँहरुलाई अवगत गराउने छौँ । माक्र्सवादको सिर्जनात्मक प्रयोग र नेपालले प्राप्त गरेको सफलताका बारेमा पनि हामी उहाँहरुलाई जानकारी गराउने छौँ । उहाँहरुकै उपस्थितिलाई ध्यानमा राखेर हामीले दुई ओटा प्रकाशनको तयारी गरेका छौँ । पहिलो, हामीले विधान महाधिवेशनमा पारित गरेको राजनीतिक प्रतिवेदनको सारंशलाई अग्रेजी अनुवाद गरेर प्रकाशन गर्दैछौँ । दोस्रो, विद्यान महाधिवेशन कसरी सम्पन्न भयो भन्ने जानकारीका लागि जानकारीमूलक ‘न्यु–एरा’ न्युज बुलेटिन प्रकाशन गरेका छौँ । त्यो पनि हामी उहाँहरुलाई वितरण गर्छौ ।

यो महाधिवेशनसँगै अन्तर्राष्ट्रिय सम्बन्ध अझ मजवुत हुने कत्तिको अपेक्षा गर्न सकिन्छ ?
हामी हाम्रो सम्बन्धलाई विस्तार गर्न चाहन्छौँ । हाम्रो पार्टीले अघि सारेका सिद्धान्त, कार्यक्रम र कार्यदिशाका बारेमा जानकारी गराउँदै हाम्रो भाइचारा सम्बन्ध रहेका पार्टीहरुको सम्बन्ध अझ बलियो बनाउने हाम्रो पहिलो प्रयास रहने छ । नेकपा एमाले नेपालको प्रमुख पार्टी भएको नाताले र हामी कहिले सरकार र कहिले बाहिर रहने जुन अवस्था छ त्यसले पनि संसारका सबै पार्टीसँग हाम्रो भाइचार सम्बन्ध राख्नुपर्ने हुन्छ । अझ छिमेकी मुलुकहरुसँगको मैत्रीपूर्ण सम्बन्धलाई अझ बलियो बनाएर अघि बढ्न चाहन्छौँ । हामी सबै खाले राजनीतिक दल र संगठनसँग हाम्रो सम्पर्क र सम्बन्ध अघि बढाउन चाहन्छौँ । यस्तो अवस्थामा हामीले गर्ने महाधिवेशन र उहाँहरुको उपस्थिति वा सन्देशले कुटनीतिक हिसावले पनि सकारात्मक हुन्छ भन्ने अपेक्षा लिएका छौँ ।

यो महाधिवेशनसँगै तपाईँहरु स्थानीय तहको निर्वाचन र लगत्तै प्रदेश र संघीय निर्वाचनमा होमिनुपर्ने अवस्था छ । यो महाधिवेशन यी निर्वाचनका लागि कस्तो सन्देश लिएर अघि बढ्ने अपेक्षा गर्नुभएको छ ?
यही पार्टीको नेतृत्व गरेका व्यक्तिहरुलाई समेत प्रयोग गरेर पछिल्लो समय नेकपा एमालेका बारेमा जसरी चौतर्फी घेराबन्दी गरियो त्यो घेराबन्दी तोड्ने प्रयासमा हामी छौँ । यो पार्टीको नेतृत्वदेखि कार्यकर्ता तहसम्म एकतावद्ध छ र त्यस्ता घेराबन्दी तोड्न तयार छ भन्ने सन्देश यो महाधिवेशनबाट दिन चाहन्छौँ । सफलतापूर्वक सम्पन्न गरेको विधान महाधिवेशनले पनि केही हदसम्म त्यस्ता घेराबन्दीलाई चिर्ने प्रयास गरेको छ । अब महाधिवेशनले ती सबै भ्रम चिरेर एमाले बिचारका हिसावमा, नीतिका हिसावमा र कार्यदिशाका हिसावमा अब्बल छ र जनताका बीचमा जुर्मुराएर जान्छ भन्ने सन्देश दिनेछ । ‘समृद्ध नेपाल : खुशी नेपाली’को नाराको आकांक्षा पूर्तितर्फको अभियानमा एमाले लाग्यो भन्ने सन्देश पनि यो महाधिवेशनले दिनेछ । पार्टी एकीकरणका नाममा तल्लो तहसम्मको भताभुङ भएको संगठनात्मक अवस्थालाई अब बलियो बनाएर अघि बढाउन तयार छौँ भन्ने सन्देश पनि यो महाधिवेशनले दिनेछ । हामी यो महाधिवेशनबाट पार्टीको मात्रै होइन, मुलुकको नेतृत्व गर्ने नेतृत्व छनोट गरेर अघि बढछौँ । यो नेतृत्वले आगामी निर्वाचनमा मुलुकको नेतृत्व गर्ने पार्टी एमाले हो भन्ने आधार तयार गर्नेछ ।

प्रतिनिधि व्यवस्थापनका लागि भारत बाहेक प्रवासको के अवस्था छ ?
प्रवासको कामलाई व्यवस्थित गर्न हाम्रो पार्टीले भारत बाहेकको क्षेत्रलाई हेर्ने गरी अन्तर्राष्ट्रिय प्रवास कमिटी बनाएको छ । अन्तर्राष्ट्रिय प्रवास कमिटी क्षेत्रबाट ३० जना प्रतिनिधि आउनुहुन्छ । त्यसमध्ये पाँच ओटा महादेशबाट पाँच–पाँच जना रहनुहुन्छ । पाँच जना अन्तर्राष्ट्रिय प्रवास कमिटीबाट आउनुहुन्छ । सबै ठाउँमा सम्र्वसम्मत रुपमा प्रतिनिधि छनोट हुनुभएको छ । कतिपय प्रतिनिधि आउने क्रम पनि जारी छ ।