अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन

‘प्रतिनिधिका कोठा–कोठामै स्वास्थ्य सेवा दिन्छौँ’

‘प्रतिनिधिका कोठा–कोठामै स्वास्थ्य सेवा दिन्छौँ’


भानुभक्त ढकाल, संयोजक

स्वास्थ्य कमिटी

नेपाल कम्युनिस्ट पार्टी (एमाले) दशौं महाधिवेशनका स्वास्थ्य कमिटीका संयोजक भानुभक्त ढकाल । उहाँ पाचौं महाधिवेशनदेखि अहिलेसम्मको अवस्था हेर्दा यो अधिवेशनले अभूतपूर्व एकताको सन्देश दिने बताउनुहुन्छ । हरेक वडादेखि पालिकाहुँदै केन्द्रसम्म करीब ९५ प्रतिशत प्रतिनिधि सर्वसम्मत् छनौट हुनु भनेको त्यसैको संकेत भएको उहाँको बुझाई छ । उहाँ पार्टीलाई यही भावनाकासाथ अघि बढाउन नेतृत्व तयार हुनुपर्नेमा जोड् दिनुहुन्छ । उद्घाटनस्थल उपस्थित हुने पाँच लाख र बन्दशत्रमा उपस्थित हुने सबै प्रतिनिधिलाई स्वास्थ्य सेवाका लागि आवश्यक तयारी गरिसकएको बताउनुहुन्छ ढकाल । उद्घाटनका दिन २ सय ५० बढी स्वास्थ्यकर्मीसहितको टोली खटाउने तयारी गरिएको उहाँले बताउनुभयो । ढकालसँग महाधिवेशन स्थलमा स्वास्थ्य सेवाको तयारीलगायतका विषयमा केन्द्रित भएर मोहन बास्तोलाले गरेको कुराकानी ।


आसन्न नेपाल कम्युनिस्ट पार्टी (एमाले)को दशौं महाधिवेशन स्वास्थ्य कमिटीको संयोजक हुनुहुन्छ, तयारी के–के भैरहेको छ ?
यो मूल व्यवस्थापन कमिटी अन्तर्गत मेरो नेतृत्वमा स्वास्थ्य कमिटी छ । त्यसको उप–प्रमुखमा केन्द्रीय सदस्य रचना खड्का हुनुहुन्छ । उहाँसँगै केही चिकित्सकसहितको एउटा टिम बनाएका छौं । हामीले यो जिम्मेवारी प्राप्त गरेपछि चिकित्सकसहितको टिमले महाधिवेशनस्थलको बन्दशत्र र उद्घाटन हुने दुबै ठाउँको स्थलगत निरीक्षण गरेका छौं ।
उद्घाटनस्थलमा हामीले २ सय ५० बढी स्वास्थ्यकर्मीसहितको टोलीलाई चार ठाउँमा टेन्ट टाँगेर खटाउने तयारी गरेका छौं । पाँच लाख मानिसको उपस्थित गराउने तयारी भएकाले त्यहाँ आकस्मिक रुपमा कसैलाई स्वास्थ्य समस्या भयो भने तत्काल सेवा दिने उद्देश्य बनाएका छौं । तत्काल रेस्क्यु गरेर आरामका लागि राख्नु प¥यो भने त्यसका लागि पनि व्यवस्थापन गरेका छौं । अस्पताल नै लैजानुपर्ने अवस्था भयो भने महाधिवेशनका लागि आउनु भएका प्रतिनिधि र अन्यका लागि चिकित्सकहरुसँग सल्लाह गरेर तत्काल निःशुल्क उपचारको व्यवस्था गर्ने तयारी गरेका छौं ।

बन्दशत्र अवधिका लागि कस्तो व्यवस्थापन गर्नुभएको छ त ?
हामीले बन्दशत्र हल नजिकै लायन्स क्लवको चारओटा सटर भएको घर छ । त्यहाँ हामीले डाक्टर, नर्स र बेडसहितको व्यवस्थापन गरेका छौं । त्यहाँ तत्कालका लागि अस्पतालकै सेवा दिन सकिनेसम्मको व्यवस्था गरेका छौं । त्यहाँ २४सैं घण्टा सेवा दिइनेछ । औषधी र अन्य आवश्यकीय सामग्रीको पनि हामीले व्यवस्थापन गरेका छौं । हामीले यो बीचमा चितवनमा स्वास्थ्यकर्मीसहितको बैठक पनि गरिसकेका छौं । उहाँहरुले महाधिवेशन अवधिभर कसरी सेवा दिने भनेर योजना बनाएर अघि बढ्नुभएको छ । हामीले त्यसका लागि समन्वय गरिरहेका छौं । डाक्टर कृष्ण अधिकारी र डाक्टर सन्तोष पौडेलले थप व्यवस्थापन गरेर चितवनबाट फर्किनु भएको छ ।

महाधिवेशनमा आउने प्रतिनिधिहरुको स्वास्थ्यका लागि आवश्यक सेवा दिन तपाईंहरुको सबै तयारी सकिएको हो ?
हामीले बिगतका महाधिवेशन, अधिवेशन र भेलाहरुमा अप्नाउने स्वास्थ्य सेवालाई समेत ध्यानमा राखेर यो महाधिवेशनमा थप व्यवस्थापन गरेका छौं । हामीले महाधिवेशनमा आउने प्रतिनिधिहरुको स्वास्थ्यलाई ध्यानमा राखेर स्वस्थ्य सेवा दिने तयारी गरेका छौं । कतिपय उमेरजन्य रोगबाट पीडित, दीर्घरोगीलगायतका प्रतिनिधि पनि प्रतिनिधि भएकाले उहाँहरुलाई आवश्यक पर्ने औषधी र प्राथमिक उपचारको समेत व्यवस्था गरेका छौं । कुनै प्रतिनिधिले आफूले नियमित सेवन गर्ने औषधी बिर्सिएर आउनु भएको रहेछ भने उहाँहरुलाई त्यहाँ काउन्सिलिङ्सहित औषधीको व्यवस्था गरेका छौं । हामीले प्रत्येक प्रतिनिधिलाई डाक्टरको नम्बर उपलब्ध गराउँछौं । उहाँहरुले कोठा–कोठामा पुगेर प्रतिनिधिहरुलाई आवश्यक स्वास्थ्य सेवा दिनुहुनेछ ।

विरामीहरुको स्वास्थ्यलाई ध्यानमा राखेर एम्बुलेन्सलगायतको पनि सेवा राख्नुभएको छ ?
निश्चय पनि हामीले तीनओटा एम्बुलेन्सको व्यवस्था गरेका छौं । ती एम्बुलेन्सले २४सै घण्टा सेवा प्रदान गर्नेछन् । हामीले रेडक्रससँग पनि समन्वय गरेका छौं । थप सेवा आवश्यक पर्दा उहाँहरु पनि तयारी अवस्थामा रहनु हुनेछ । हामीले अस्पताल ‘हव’कै रुपमा विकास भएको चितवनमा महाधिवेशन गर्दैछौं । त्यसकारण पनि त्यहाँ स्वास्थ्य सेवाका लागि कुनै पनि समस्या नहुनेमा हामी ढुक्छ छौं । हामीले जनशक्ति पनि त्यही हिसाबले व्यवस्थापन गरेका छौं । हामीले विशेषज्ञ डाक्टरहरुको समेत व्यवस्था गरेर गाउँ–गाउँबाट आउनुहुने प्रतिनिधिलाई एमालेको महाधिवेशनमा जाँदा डाक्टरहरुबाट सेवा प्राप्त भयो र यो रोगका बारेमा यो औषधी सेवन गर्दा ठिक भयो भन्नेसम्मको वातावरण सिर्जना गर्नुपर्छ भनेर लागि रहेका छौं । समग्रमा भन्दा महाधिवेशनमा आउनुभएका प्रतिनिधिको स्वास्थ्य अवस्थाका बारेमा हामी कुनै पनि समस्या नहुने खालको वातावरण निर्माण गर्छौं ।

अहिले कोभिड–१९ घटेको छ, हेटेको छैन । यस्तो अवस्थामा तपाईंहरुले महाधिवेशन गर्दै हुनुहुन्छ । यो बारेमा पनि तपाईंहरुले केही तयारी गर्नुभएको छ ?
कोरोनका नयाँ अनुभव आर्जन गर्ने बेलामा म स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा थिएँ । त्यतिबेला कोरोनाको औषधीको कुरा छाडौं कोरोना लागेका मानिसको उपचार र उनीहरुलाई अस्पतालसम्म लैजानका लागि प्रयोग गर्ने मास्क समेत थिएन । पीपीईलगायतको कुरा त निकै टाढाको विषय थियो । अहिले त्यो परिस्थितिबाट गुज्रिदै हामी यहाँसम्म आइपुगेका छौं । त्यो अवधिदेखि अहिलेसम्म आउँदा कोरोनाबाट कसरी बँच्ने भन्ने कुराको बारेमा धेरैले जानकारी प्राप्त गरिसकेका छन् । कोरोनाबाट आफू कसरी जोगिने र अरुलाई कसरी जोगाउने भन्ने बारेमा पनि सबै जानकार भैसकेका छन् । त्यति मात्रै होइन कोभिडका बेला गाउँबस्तीमा कसरी कोभिडबाट बँच्ने भनेर नेतृत्व गरेको पङ्क्ति नै यो महाधिवेशनमा सहभागी हुँदैछ । त्यसकारण पनि हामी यो कुरालाई सहज व्यवस्थान गर्न सक्छौं भन्ने लागेको छ । हामीले केही महिना अघि सम्पन्न विधान महाधिवेशनका बेला पनि यो कुरालाई ख्याल गरेर नै सम्पन्न गरेका थियौं । र, अहिले पनि हामी अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका मापदण्ड सकेसम्म पालना गर्दै महाधिवेशन भव्य रुपमा सम्पन्न गर्छौं ।

नेपाल कम्युनिष्ट पार्टीको ७२ वर्षको इतिहासमा पहिलो पटक नयाँ ढंगले महाधिवेशन गर्दैहुनुहुन्छ । तपाईं जिम्मेवार नेता पनि भएकाले कसरी लिनुभएको छ ?
यो भन्दा अघिका महाधिवेशन नीति र नेतृत्वको महाधिवेशन एकै पटक हुँदा लक्ष्य नेतृत्व प्राप्त गर्ने हुने देखाउचाँहि नीतिलाई देखाउने हुन्थ्यो । अझ भन्ने हो भने अघिल्ला महाधिवेशन सिद्धान्तको जामा लगाएर आकांक्षा चाहीँ पद प्राप्ति गर्ने हुन्थ्यो । अहिले त्यो झन्झटमा हामी छैनौं । अर्थात् विधान महाधिवेशन सम्पन्न गरी हाम्रो पार्टीको नीति, विचार, सिद्धान्तको व्यवस्थित र सर्वसम्मत ढंगले टुंगो लगाएका छौं । यो सकारात्मक पक्ष हो । यो भनेको नीति र विधिमा एमालेभित्र विवाद छैन । हामी एकैचोटि नेतृत्व चयनको चरणमा मात्रै रहेकाले केही हल्का पनि भएको छ । त्यसैले हामी यो महाधिवेशनबाट हामीलाई किनारा लगाउन प्रयास गर्नेहरुलाई समेत गतिलो जवाफ दिने गरी महाधिवेशन सम्पन्न गर्नेछौं ।

हाम्रो पार्टीका अध्यक्षले दुई पटक सरकारको नेतृत्व गर्नुभयो । दुबै पटक उहाँले जनताको मन जित्ने गरी काम गर्नुभयो । उहाँको कामबाट आत्तिएर पार्टीभित्रका केही शक्ति र बाहिरी शक्तिले षड्यन्त्रमुलुक ढंगले हटाउने गलत काम गरे । पछिल्लो पटक त जनादेशको सरकारलाई अदालतसँग हारगुहार गरेर परमादेशबाट हटाउने प्रयास भयो । त्यसले अझ एमालेको लोकप्रियतालाई माथि उठाएको छ । त्यसले एमालेमाथि थप असाधारण जनादेश प्राप्त भएको छ । हामी यो महाधिवेशनबाट थप सशक्त भएर अघि बढ्ने छौं । यो महाधिवेशनपछि एमालेप्रतिको आकर्षण थप बढेर जानेछ ।

अहिले १० बुँदे पार्टी विभाजनपछि एमालेमै रहनुभएका माओवादीका कमरेडहरु सबैलाई मिलाएर लाजानु पर्ने चुनौति पनि छ । यो विषयमा तपाईंहरु कत्तिको गम्भीर हुनुहुन्छ ?
पार्टी विभाजनपछि मूलधारमा रहनुभएका कमरेडहरुमा हामी एमालेमा सबैतिर घुलमिल भएका छैनौं । केही समस्या हुने हो कि भन्ने हुनसक्छ । त्यसैगरी पार्टीभित्र लामो सयमसम्म गुटबन्दीको अभ्यासले गर्दा उत्पन्न अन्तरविरोधका कारण केही कमरेडहरु अलग हुनुभयो । हिजो लामो सयमको गुटबन्दीको धारले गर्दा यो वा त्यो कित्तामा उभिएका व्यक्तिलाई म असुरक्षित हुने हुँ कि भन्ने लाग्न सक्ला । त्यो भन्दा एमाले धेरै माथि उठेर कसैलाई भेदभाव गर्दैन भन्ने सन्देश पनि यो महाधिवेशनबाट दिनुपर्ने छ । महाधिवेशनले त्यो सन्देश दिन्छ । नेकपा एमालेको नेतृत्वमा रहनुभएका केपी शर्मा ओलीले सबैको अविभावक हुनुहुन्छ र उहाँले कसैलाई पनि विभेद गर्नुहुन्न भन्ने अनुभूतिका साथ नेतृत्व निर्माण गर्नुपर्ने चरणमा हामी छौं । यो चरणलाई सहज ढंगले सम्पन्न गर्छौं ।

अहिले जुन ढंगले सर्वसम्मत रुपमा प्रतिनिधि छनौट गरेर नयाँ सन्देश दिनुभएको छ । महाधिवेशनले पनि त्यस्तै सन्देश देला भन्ने अपेक्षा गर्न सकिन्छ ?
पाचौं महाधिवेशनदेखि अहिलेसम्मको अवस्थालाई हेर्ने हो भने हामीले यो महाधिवेशनमा अभूतपूर्व एकताको सन्देश दिएका छौं । हरेक वडादेखि पालिका हुँदै केन्द्रसम्म करीब ९५ प्रतिशत प्रतिनिधि सर्वसम्मत छनौट हुनु भनेको त्यसैको संकेत हो । पार्टीलाई यही भावनाकासाथ अघि बढाउनुपर्छ भन्ने तल्लो तहका कार्यकताको यो दबाब पनि हो । नेतृत्वले यो कुरामा विवेक पु¥याउनुपर्छ भन्ने मेरो भनाई छ । अहिले केही कमरेडहरुले आफ्नो भावना प्रकट गर्नुभएको छ । जिवित पार्टीमा यो सामान्य हो । तर, राष्ट्रिय आवश्यकता, पार्टी भित्रको अप्ठ्यारो परिवेशसँगै अरु पार्टीबाट एमालेमा आउनुभएका कमरेडहरु पनि म अप्ठ्यारो ठाउँमा गएको रहेनछु भन्ने अनुभूति दिनुपर्छ । पार्टी भित्रको अन्तरविरोध व्यवस्थापन गर्न सबैको मूल्याङ्कन गरेर अघि बढ्नुपर्छ, र बढ्छौं ।