अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको १० औं महाधिवेशन आजदेखि, महाधिवेशनले चितवन एमालेमय

एमालेको १० औं महाधिवेशन आजदेखि, महाधिवेशनले चितवन एमालेमय


चितवन– नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ ।

चितवनको नारायणी नदी किनार क्षेत्रमा लाखौं कार्यकर्ताहरुको उपस्थितिमा एमाले अध्यक्ष केपी शर्मा ओलीले मध्यान्ह १२ बजे महाधिवेशन उदघाटन गर्ने कार्यक्रम छ । एमालेका केन्द्रीय तहका नेतादेखि जनवर्गीय सङ्गठनका नेता चितवन आउने क्रम अहिले पनि जारी छ । महाधिवेशनको उद्घाटन समारोह हुने नारायणी नदी किनारमा अत्याधुनिक सुविधासहितको मञ्च निर्माण गरिएको छ । बन्दसत्र सौराहामा गरिँदै छ । बन्द सत्र भने भोलिदेखि मात्रै सुरु हुनेछ ।

महाधिवेशनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेलसहित केन्द्रीय कमिटीका अधिकांश नेताहरु हिजो नै चितवन आइपुग्नुभएको छ ।

एमालेमा निर्वाचित र मनोनित गरी दुई हजार १७५ प्रतिनिधि महाधिवेशनमा सहभागाी हुँदैछन् । कात्तिक २७ गते देशभरिबाट एक हजार १९९ प्रतिनिधि सहभागीका लागि निर्वाचित भएका थिए । महाधिवेशनमा १३० पर्यवेक्षक सहभागी हुने भएका छन् ।

महाधिवेशनले १५ पदाधिकारीसहित २२५ केन्द्रीय कमिटी तथा लेखा र अनुशासन आयोगमा १५/१५ जना निर्वाचित गर्ने छ । महाधिवेशन मङ्सिर १२ गतेसम्म सञ्चालन हुनेछ ।

महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्नुहुने भएको छ । नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका देउवा शुक्रबार चितवन आएर महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो । यसैगरी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, जनता समाजवादी पार्टी ९लोकतान्त्रिक० का महन्थ ठाकुर वा राजेन्द्र महतो कार्यक्रममा आउने जानकारी प्राप्त भएको छ ।

नारायणगढ–बुटवल राजमार्गमा ठूला सवारीसाधनमा रोक
महाधिवेशनलाई मध्यनजर गर्दै बुटवल–नारायणगढ सडकखण्डमा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

सो सडकको दाउन्ने खण्डमा हुने जामलाई मध्यनजर गर्दै नवलपरासी ९बर्दघाट–सुस्तापूर्व० र नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) का सुरक्षा निकायका प्रमुखको बुधबार सम्पन्न बैठकले आज राति १२ बजेसम्मका लागि ठूला सवारीसाधनको आवागमनमा रोक लगाउने निर्णय गरेको छ । विशेषगरी दाउन्ने सडकको जामलाई लक्षित गर्दै सवारीसाधनमा रोक लगाइएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पङ्गेनीले बताउनुभयो ।

गैँडाको मस्कट तयार

नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको लोगोमा अङ्कित गैँडाको मस्कट तयार गरिएको छ । मूर्तिकार सूर्य मध्यरातसहित १० जनाको टोलीले १० दिन लगाएर गैँडाको मस्कट तयार पारेको हो । चितवन एकसिङ्गे गैँडाका लागि परिचित भएकाले महाधिवेशनको लोगोमा गैँडाको मस्कट राखिएको एमाले चितवनका अध्यक्ष पार्वती रावलले जानकारी दिनुभयो ।

मूर्ति महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा राखिनेछ । मूर्ति राख्नका लागि मञ्चको पश्चिमतर्फको भागमा बेस निर्माण गरिएको छ । यही मङ्सिर १० देखि १२ गतेसम्म हुन लागेको महाधिवेशनको तयारी लगभग अन्तिम चरणमा छ । उद्घाटन सत्रमा लाखौँ कार्यकर्ता सहभागी हुने भएकाले प्रदर्शनका लागि गैँडाको मस्कटसहित केही सेल्फी प्वाइन्ट निर्माण गरिएका छन् ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को थिममा चित्रकला

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र हुने स्थान होटल सेभेन स्टारको पर्खालमा कलात्मक चित्र कोरिएके छन् । ‘समृद्ध नेपाल, सुखी नेपाली’को थिममा आयोजना गरिएको चित्रकला प्रतियोगितामा चितवन र नवलपुरका ५७ कलाकारले चित्र कोरेका छन् । होटलको २०० मिटर लामो पर्खालमा कलाकारले चित्र कोरेका हुन् ।