अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महाधिवेशन : ऐतिहासिक अवसरमा महिला कमाण्डर पार्वती रावलको सफलता

एमाले महाधिवेशन : ऐतिहासिक अवसरमा महिला कमाण्डर पार्वती रावलको सफलता


चितवन – नेकपा (एमाले) को १०औँ उद्घाटन सत्र राष्ट्रिय महाधिवेशनको शुक्रबार भव्य बन्यो। महाधिवेशन उद्घाटन स्थल नारायणी नदी किनारमा शुक्रबार लाखौँ मानिस सहभागी भएका थिए ।

एमालेका संस्थापक पुष्पलाल श्रेष्ठ, तलुसीलाल अमात्य र मनमोहन अधिकारीले नेतृत्व गरेको तत्कालीन नेकपाले २०१७ सालमा चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । महाधिवेशन गर्नुअघि नै राजा महेन्द्रले निर्वाचित सरकार बर्खास्त गरी राजनितिक दलहरुमाथि प्रतिबन्ध लगाइदिएपछि एमालेका महाधिवेशन पूरा हुन पाएको थिएन ।

एमालेको चाहना ६१ वर्षपछि पूरा भएको छ । एमालेबाट माधवकुमार नेपालसहितका केही नेता छुट्टिएपछिको एमालेको पहिलो महाधिवेशन चितवनमा भएको हो । चितवनमा जनसागर सहभागी हुनेगरी महाधिवेशन गर्ने मुख्य जिम्मेवारी एमाले चितवनकी अध्यक्ष दिलकुमारी रावल ‘पार्वती’ले पाउनुभयो । चितवनमै भएको कार्यक्रम भएकाले जिल्ला अध्यक्षको भूमिका महत्वपूर्ण थियो ।

देशभरका ७७ वटा जिल्ला कमिटीमध्ये महिला अध्यक्ष भएको जिल्ला कमिटी पनि चितवन मात्रै हो । महिलाले कमाण्ड गरेको एमाले जिल्ला कमिटीले केन्द्रीय नेतृत्वले दिएको जिम्मेवारी पूरा गर्न सफल भएको छ । रावल राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापतिसमेत हुन् ।

प्रमुख प्रतिपक्षी दलको महाधिवेशन चितवनमा भइरहँदा देशको ध्यान चितवनमै छ । महाधिवेशनको बन्दसत्र आजदेखि सौराहामा सुरु हुँदैछ ।

आयोजक जिल्लाको हिसाबले पनि सकेसम्म कमजोरीरहीत महाधिवेशन गर्न धेरै समिति निर्माण गरेर काम गरिएको रावलले बताउनुभयो । ‘यहाँ रहनुभएका केन्द्रीय तहका नेता, जिल्ला तहका नेता, जनवर्गीय संगठन । यहाँका सुरक्षा निकाय । अन्य दलसँग पनि हाम्रो सहकार्यका साथ महाधिवेशनलाई भव्य बनाउन सफल भयौँ’, उहाँले भन्नुभयो ।

महाधिवेशन सफल बनाउन सञ्चार माध्यमले पनि राम्रो भूमिका खेलेको उहाँ बताउनुभयो । यहाँको अर्थतन्त्र उकास्नका लागि पनि महाधिवेशन सफल बनेको उहाँको भनाइ छ । महाधिवेशनका कारण यहाँको थला परेको पर्यटन गतिविधि पनि चलायमान भएको छ ।

बुटबलमा तय भएको महाधिवेशन अन्तिम समयमा पुगेर ४ कात्तिकमा चितवनमा गर्ने एमालेले निर्णय गरेको थियो । चितवनमा महाधिवेशन गर्ने निर्णय भएपछि यहिं निर्वाचन क्षेत्र भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई ‘सिध्याउनकै लागि एमालेले यहाँ महाधिवेशन गर्न लागेको’ बताउँदै आउनुभएको थियो ।

महाधिवेशनको उद्घाटन सत्रमा अध्यक्ष प्रचण्डलाई एमालेले निमन्त्रणा गरेको थियो । तर, उहाँ आउनु भएन । प्रतिनिधिका रुपमा लिलामणी पोख्रेललाई पठाउनुभयो एमालेको महाधिवेशनलाई सम्बोधन गर्न प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत विभिन्न दलका अध्यक्ष, विदेशी पार्टीका प्रतिनिधि सहभागी हुनुभयो ।

पछिल्लो १५ दिन व्यवस्थापनमा अल्लि बढी खटिनु परेको रावलले बताउनुभयो । ‘पाँच लाख जनता उतार्ने एउटा चुनौती थियो र त्यहि अनुसार अल्लिबढी ध्यान दिएका थियौँ’, उहाँ भन्नुहुन्छ, ‘हामीले चितवनबाट मात्रै कम्तिमा एक लाख सहभागी गराउने भनेका थियौँ । त्यो लक्ष्य पनि पूरा भएको हामीले पाएका छौँ ।’

महाधिवेशनका लागि चितवन एमालेले जनताको घरघरमा पुगेर भोट माग्ने शैलीमा निमन्त्रणा कार्ड बाँडेको थियो । ‘जिल्ला नेतृत्वमा रहिरहँदा सबै नेता, सबै निकायको सहकार्य र सहयोगले मलाई कुनै अफठ्यारो भएन । मैले यसो गरौँ भन्दा सबैको साथ रह्यो’, उहाँले भन्नुभयो ।

पूर्वबाट आएका गाडी टिकौलीमा र पश्चिमबाट आएका गाडी गैंडाकोट थुम्सिमा अड्किएका थिए । व्यवस्थापन र सहभागिताका हिसाबले महाधिवेशनको उद्घाटन सत्र भव्य रुपमा सम्पन्न गर्न सफल बनिएको उहाँ बताउनुहुन्छ ।

‘निजी गाडीमा आउनुभएका गाडी लिएरै कार्यक्रम स्थलको नजिकै जान खोज्दा पनि ट्राफिक व्यवस्थापनमा केही कठिनाइ भयो’, उहाँले भन्नुभयो, ‘साँघुरो बाटोमा धेरै सहभागीका कारण चाहिं असुविधा भएको सूचना प्राप्त भयो ।’ मञ्चबाट टाढा बस्ने सहभागीका लागि ठाउँ–ठाउँमा डिस्प्ले राखेर लाइभ प्रसारण गरिएको थियो ।

महाधिवेशनका लागि उर्लिएको जनसागरका कारण नारायणगढ र भरतपुर क्षेत्रमा शुक्रबार दिनभर यातायात ठप्प बन्यो । जिर्ण नारायणी पुलमा समेत मान्छेको ठेलमठेल रहेको थियो । महाधिवेशनबाट फर्किएका गाडीका कारण शुक्रबार राति १० बजेसम्मै सडकमा सवारी साधनको लामो जाम लागेको थियो ।