अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्वसम्मत नेतृत्व चयन हुनेमा ढुक्क हुनुहोस् : विशाल भट्टराई

सर्वसम्मत नेतृत्व चयन हुनेमा ढुक्क हुनुहोस् : विशाल भट्टराई


एमालेको १०औं महाधिवेशनको बन्दसत्र तयारी, विधान संसोधन, सहमति प्रयास लगायतका विषयमा चितवनमा रहेका एमाले सचेतक विशाल भट्टराईसँग गरिएको संक्षिप्त कुराकानी :

महाधिवेशनको बन्दसत्र कसरी हुँदैछ ?  

हाम्रो महाधिवेशन अलि पृथक् तरिकाले चलिरहेको छ । विधान र नेतृत्व महाधिवेशन छुट्टै गरेको पहिलोपटक भएकाले पनि यो नौलो प्रयास हो ।

१५ देखि १७ असोजमा ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनले विधि र नीति पारित गरिसकेको छ । अब यो महाधिवेशनबाट विधि र नेतृत्व कार्यान्वयन गर्ने नेतृत्व चयन गर्दैछौं । बन्दसत्रमा अध्यक्षमण्डल हुन्छ । अध्यक्ष केपी ओली र नेताहरू ईश्वर पोखरेल, रामबहादुर थापा ‘बादल’ लगायतको ११ सदस्यीय अध्यक्षमण्डलमा हुनुन्छ ।

त्यसैगरी हामीले माइन्युट कमिटी पनि बनाएका छौं । कार्यक्रम अध्यक्षमण्डलले सञ्चालन गर्छ। अध्यक्षमण्डलले नवौं महाधिवेशनबाट निर्वाचित कमिटी भंग भएको घोषणा गरेपछि १०औंको नेतृत्व चयन प्रक्रिया सुरु हुन्छ ।

गोदावरीबाट पारित विधान त संशोधन हुने भयो हैन ?

विधान महाधिवेशनपछि राष्ट्रिय महाधिवेशनले आवश्यक रूपमा विधान संशोधन गर्ने व्यवस्था अनुरूप केही हेरफेर गरिएको हो । चुस्त कमिटी नै बनाउँछौं । धेरै ठूलो बनाउँदैनौं ।

पदाधिकारीको व्यवस्था संशोधन भए पनि ७० वर्षे उमेरहद कडाइका साथ लागू गर्छौं । पदाधिकारीमा दुई कार्यकालभन्दा बढी रहन नपाउने व्यवस्था पनि यथावत् छ । यो संशोधन पनि विधान विधानअनुसार हुँदै छ।

सर्वसम्मत नेतृत्व चयनको सम्भावना कति देख्नुहुन्छ ?  

अध्यक्षसहित वर्तमान केन्द्रीय कमिटी नै सर्वसम्मत नेतृत्व चयनको प्रयासमा छ । हामी अधिकतम लचकताका साथ नेतृत्वमा सर्वसम्मतिको प्रयासमै छौं । दुई हजार ३०४ जना प्रतिनिधि सबै केन्द्रमा अटाउने कुरा हुँदैन । त्यसैले धेरैको त्याग भयो भने सम्भव छ । वडा, पालिका, जिल्ला हुँदै प्रवासका कमिटीसमेत सर्वसम्मत नेतृत्व चयन गरेर आएका छन् । केन्द्रले यसको अनुशरण गर्छ नै ।

सर्वसम्मतिकै लागि विधान संशोधन गरौं भनेर बन्दत्रमा प्रस्ताव लैजाँदै छौं । पदाधिकारी थप्न प्रस्ताव राख्यौं । अध्यक्षलाई अधिकार दिउँ भनेर प्रस्ताव गर्‍यौ । केन्द्रीय कमिटीले पारित गरिसकेको छ ।

सर्वसम्मत नेतृत्वको सम्मुखमा छौं । चुनावमा जाँदैनौं । कदाचित सर्वसम्मत भएन र चुनाव भयो भने लोकतान्त्रिक प्रक्रियाबाट हुन्छ । यसमा एमाले अनुभवी छ । दुवै विकल्पका लागि तयार छौं । तर ९९ प्रतिशत सर्वसम्मतको सम्भावना छ । केन्द्रीय कमिटी सदस्यको पनि सर्वसम्मत गर्नुपर्छ भनेर हामीले प्रयास गरिरहेका छौं । आयोगमा पनि सर्वसम्मत गर्ने प्रयासमा छौं ।