अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विपक्षीसँग प्रतिस्पर्धा गरौं, पार्टीभित्र एकता गरौं  : केपी ओली

विपक्षीसँग प्रतिस्पर्धा गरौं, पार्टीभित्र एकता गरौं  : केपी ओली


चितवन – एमाले अध्यक्ष केपी ओलीले पार्टीभित्र प्रतिस्पर्धा नभइ एकता गरेर अघि बढ्नुपर्ने बताउनुभयो।  १०औं महाधिवेशनको बन्द सत्रमा बोल्दै उहाँले भन्नुभयो ‘विपक्षीसँग प्रतिस्पर्धा गरौं, पार्टीभित्र एकता गरौं।’

उहाँले पार्टीलाई एकतापूर्ण ढंगले अगाडि बढाएको भन्नुहुँदै नेता र कार्यकर्तालाई धन्यवाद समेत दिनुभयो ।  ‘म कति बाँच्छु भन्न सक्दिनँ, धेरैपटक मरेर बाँचेर आएको छु, तपाईंहरुलाई देखेरै मलाई निद्रा लाग्छ खाना रुच्छ र देशको भविष्य सुरक्षित देख्छु,’ ओलीले बन्द सत्रमा भन्नुभयो ।

१०औं महाधिवेशनको बन्द सत्रमा बोल्दै ओलीले एमालेबाट अन्य दलहरुले समेत सिक्न थालेको भन्नुहुँदै एमालेकै मोडलमा एकैपटक तल्ला तहका कमिटीहरुका अधिवेशन गर्न सुरु भएको बताउनुभयो ।

ऐतिहासिक जनसहभागिता र शुभेच्छामा उदघाटन सत्र सम्पन्न गरेको भन्दै ओलीले भन्नुभयो, ‘एउटा विशेष परिस्थिति र अवस्थाबाट अघि बढिरहेको छ । सत्ताबाट प्रतिपक्ष भएको अवस्थामा, विरोधीका जालझेल असंवैधानिक अलोकतान्त्रिक कदमले यहाँ पुग्यौं । जनताले यहाँ पुर्याएको होइन । जनमत यो होइन । अझ बढी गम्भीर चुनौती खडा भएको छ । राज्यको दुरूपयोग भएको छ ।’

उहाँले नवौं महाधिवेशनपछि संविधान निर्माण गरी जारी गर्न दलहरू एकजुट गराउन एमालेको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले महाधिवेशनपछि स्पष्ट वैचारिक दिशातर्फ अगाडि बढेको भन्दै  एमालेलाई दुर्वचन बोल्ने र होच्याउने अवस्था अन्त्य भएको पनि बताउनुभयो ।