अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशको सीमा मिचिँदा पनि बोल्न नसक्ने सरकारको काम छैन : प्रदीप ज्ञवाली

देशको सीमा मिचिँदा पनि बोल्न नसक्ने सरकारको काम छैन : प्रदीप ज्ञवाली


काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले देशको सीमा र भूभाग मिचिँदा समेत बोल्न नसक्ने गठबन्धन सरकारको वैधानिकता नरहने बताउनुभएको छ ।

आज राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा उपमहासचिव ज्ञवालीले लिपुलेकमा भारतले सडक निर्माण गरिरहेको सम्बन्धमा वर्तमान सरकारले भारतीय पक्षसँग कुरा गर्नुपर्ने बताउनुभयो ।

उपमहासचिव ज्ञवालीले नेपालको भूभागमा भारतले बलमिच्याइँ गरेको विषयमा सरकार बोल्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘देशको सिमा र सार्वभौमिकताको विषयमा बोल्न सक्दैन भने यो सरकार जस्तो रहँदैन। सरकारको वैधता त्यसै दिनबाट समाप्त हुन्छ। हामी चाहान्छौँ सरकारले दृढतापूर्वक यो विषयमा भारतीय पक्षसँग तत्काल कुरा गरोस्। त्यो नेपालको भूभाग हो भन्ने कुरा सबैलाई थाहा भएकै कुरा हो । त्यसैले त्यहाँ एकतर्फी ढंगले कुनैपनि संरचना बनाउन मिल्दैन। भारतले बलमिच्याइँ पनि गर्नु हुँदैन। यो विषयमा सरकार बोल्नुपर्छ। सरकारले सशक्त ढंगले नेपालको राष्ट्रिय हितको पक्षमा आवाज उठाउनुपर्छ भन्ने हाम्रो मान्यता छ।’

उपमहासचिव ज्ञवालीले वर्तमान सरकारले स्थानीय तहको निर्वाचन पन्छाउन खोजेको आरोप पनि लगाउनुभयो । ‘निर्वाचन आयोगलाई १२० दिन चाहिन्छ चुनावको तयारीका लागि, तर सरकारले निर्वाचन आयोगको सिफारिस अनुसार आजको दिनसम्म कुनै निर्णय गरेको छैन’ उहाँले भन्नुभयो, ‘यो सरकारले स्थानीय तहको चुनावलाई पन्छाउन खोजेको हो ? फेरि ५९ साल फर्काउन खोजेको हो कि भन्ने गम्भीर आशंकाहरु पैदा भएका छन्।’